मीना खड्कालाई तिहार आउँदा भाईको यादले सताउँछ। भाइ दीपेन्द्र खड्काको सडक दुर्घटनामा निधन भएको वर्ष भइसकेको छ। भाइलाई आफूबाट यमराजले चुँडेर लगे पनि मीना भाइसँगका यादगार पल र पीडा कुनै न कुनै रुपमा व्यक्त गरिरहन्छिन्। नेपालीहरुको महान चाँड दिपावली अर्थात तिहारमा टिका लगाएको क्षण त उनी बिर्सनै सक्दिनन्। हरेक वर्ष तिहार आउँदा उनी भाइले टिका लगाइ दिएको सम्झिन्छिन्। देउँसी भैलो खेलेको पनि झल्झली याद आउँछ। साथै भाइ नहुनुको पीडा पनि देखाउँछिन्।
सडक दुर्घटनामा भाइले मृत्युवरण गर्दा मीना जापानमा थिइन्। हुन त उनको कर्मथलो अहिले पनि जापान नै हो। दुर्घटनाका बेला भने उनले नेपाल आएर अन्तिम पटक भाइको निर्जिव मुहार हेरेकी थिइन्। त्यसयता उनी भाइसँग विताएका पल र यादमै बाँचेकी छिन्। चित्त बुझाउँछिन्। त्यतिमात्रै होइन भाइको सम्झनामा हातमा भाइको मुहारको ट्याटु खोपेकी छन्। त्यसैलाई हेरेर परदेशमा भाइको न्यास्रो मेटाउँछिन्।
यसपालि पनि तिहार आइसकेको छ। तिहारको मुखमा मीनाले भाइ वियोगको पीडा फरक ढंगबाट प्रस्तुत गरेकी छन्। भाइको सम्झनामा उनले शब्द कोरेकी छन्। अर्थात गीतमार्फत आफ्ना मनको दु:ख, पीडा, सम्झना पोखेकी छन्।
दिदीले अति माया गर्ने भाइलाई दुर्घटना गुमाउनु पर्दाको पीडा असह्य हुन्छ, त्यो पनि बिदेशमा भएको बेला। त्यही पीडालाई उनले थोरै भए पनि शब्दमा व्यक्त गरेकी हुन्।
गीत, संगीतमा रुचि राख्ने मीनाले शब्द सिर्जना गरेको पहिलो देउँसी भैलो गीत ‘छोडी जाने मान्छे’ यतिबेला सार्वजनिक भएको छ। गीतका शब्दमा पीडा, देउँसी भैलो र तिहारको मर्म झल्किन्छ।
आफूले वास्तविक जीवनमा भोगेको घटनालाई मीनाले शब्दमा उतारेकी हुन्। कलेज हिँडेको भाइलाई सडक दुर्घटना गुमाउनु परेको पीडालाई उनले शब्दका माध्यमबाट गीतमा उतारेकी छन्।
मीनाको शब्दमा गायिका सीता केसी र गायक जय देवकोटाले स्वर भरेका छन्। हरि बिमर्सी, शोभा केसी, मदन केसीले सामूहिक स्वर रहेको यस गीतमा मोडल सगुन शाही, पवित्रा खड्का, अर्जुन न्यौपाने, जय देवकोटाको अभिनय रहेको छ।
मदन खड्काले निर्देशन गरेको यो गीतमा बाँसुरीमा रत्न बिके सारंगीमा हेमन्त कान्छाले धुन भरेका छन्।
भिडियो