
काठमाडौं : राजधानीको कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हाँस्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको शालिक राखिएको छ। तीन साहित्यिक हस्तीको पूर्णकदको शालिक शनिवार अनावरण भयो।
१ सय ११ औं लक्ष्मीजयन्तीका अवसरमा साहित्यकार एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरुको शालिकमा माल्यार्पण गरे। कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्ण राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा लगायतको उपस्थिति थियो। यस स्मारकको निर्माणको परिकल्पना नेकपाका नेता रामेश्वर फुयालले गरेका थिए।
आर्थिक वर्ष २०७५ र ७६ मा रु. ४० लाख विनियोजन गरेर शान्ति उद्यान र लक्ष्मीप्रसाद देवकोटा सालिक निर्माण गरिएको फुयालले बताए। आर्थिक वर्ष २०७६ र ७७ मा २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारहरूको सालिक निर्माण गरिएको हो।
१०९ औं लक्ष्मी जयन्तीका अवसरमा फुयालसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र १ सय १ साहित्यकारहरुले रु. १ का दरले चन्दा दान गरेर तीन जना साहित्यकारहरूको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो। स्मारकको निर्माण यही वर्ष सम्पन्न भएता पनि कोरोना महामारीको कारणले औपचारिक उद्घाटन नगरिएको फुयालले जानकारी दिए।