PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम, आर्थिक र मानवीय क्षति घटाउन छैन कुनै तयारी



पहिलोपोस्ट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम, आर्थिक र मानवीय क्षति घटाउन छैन कुनै तयारी
सांकेतिक चित्र : अमजद अली /पिक्सावे

  • राजु आचार्य -

सन् १९६० अक्टोबर ४ तारिख अमेरिकाको बोस्टन स्थित लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान ६ सेकेन्डमा दुर्घटना भयो। इस्टर्न एयरलाइन्सको सो विमानमा सवार ७२ जना मध्ये ६२ जनाको निधन भयो। बेलुकी ५.३९ बजे उडेको केही सेकेन्ड भित्रै डाङ्ग्रे (रुबी) चराको हुलसँग ठोक्किएर, इन्जिन बन्द भई अनियन्त्रित भएर विमान खसेको थियो।

सन् २०१२ मा काठमाडौंदेखि लुक्ला उडेको विमान दुर्घटना भएर १६ जना यात्री र ३ जना विमान कर्मचारीको मृत्यु भयो। ट्विनअटर विमानमा चिल ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको छl त्यसै गरी सन् १९९६ मा थाई एयरवेज पनि चीलको कारणले क्षति भई ४ दिन सम्म ग्राउन्डेड भएको थियो।

यस्तै दुर्घटनाहरूबाट संसारभर वार्षिक करिब १.२ अर्ब डलर बराबरको क्षति हुने अनुमान गरिएको छ। चरा र हवाईजहाजबीच हुने दुर्घटनाले आर्थिक क्षति मात्र होइन, मानिसहरूले ज्यानै गुमाउनुपर्ने अवस्था देखिन्छ। यद्यपि, अहिलेसम्म हवाई यातायात संसारमा सबैभन्दा सुरक्षित मानिन्छ।

तर, सुरक्षित छ भन्दैमा जोखिमका विषयलाई नजरअन्दाज गर्न सकिन्न। पोखरामा निर्माणाधीन विमानस्थल सामाजिक कारणले मात्र होइन प्रकृतिलाई गरेको बेवास्ताले गर्दा पनि जोखिमको चर्चामा छ। अहिलेसम्म माथि उल्लेखित दुर्घटहरुलाई कम गर्न के गर्न सक्छौँ भनेर न त छलफल भएको छ, न त कुनै कार्य योजना तयार नै। विमानस्थल निर्माणको क्रममा पनि हुनसक्ने क्षतिको आङ्कलन र न्यूनीकरणका लागि कुनै ठोस काम भएको छैन। विमानस्थल भने यी मुद्दाहरूलाई नदेखे झैँ गरी निर्माणको काममा मात्र व्यस्त छ।

पोखरामा चरासँग दुर्घटना हुन् सक्ने सम्भावना कति ?

पोखरा पन्छी समाजद्वारा प्रकाशित पुस्तकले पोखरा उपत्यकामा करिब ४ सय ७० प्रजातिका चराहरू पाइने बताएको छ। गिद्ध अनुसन्धानकर्मी हेमन्त ढकालका अनुसार ‘विमानस्थल वरपर मात्रै १ सय ६२ प्रजाति सहजै भेटिन्छन्। निर्माणाधीन विमानस्थल वरिपरि विश्वमै दुर्लभ ८ प्रजातिका चराहरू नियमित उडिरहन्छन्। पोखरा उपत्यकाको कुरा गर्ने हो भने करिब २९ प्रजातिका विश्वमै दुर्लभ चराहरू अभिलेख गरिएका छन्।’ तर यी जानकारीहरू नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा तयार गरिएको विमानस्थलको ‘वातावरण प्रभाव मूल्याङ्कन’ प्रतिवेदनमा छैन।

सिकारी चराको अनुसन्धानमा लामो समय बिताएका तथा ‘हिमाली प्रकृति’का कार्यक्रम निर्देशक डा. तुलसी सुवेदीका अनुसार पोखरा उपत्यकाको उत्तर र अन्नपूर्ण हिमशृङ्खलाको दक्षिणतिरको भूभाग हुँदै बर्सेनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म करिब १५ हजार चराहरू बसाइसराइ गर्छन्।

यीमध्ये अधिकांश चराहरू नेपालको पूर्वतिरबाट पश्चिमतर्फ जाने गर्छन्। करिब ३५ प्रजातिको साना-ठूला चराहरू बर्सेनी बसाइसराइ गर्छन्।

मौसम खराब हुँदा यिनीहरू निर्माणाधीन विमानस्थल माथिबाटै उड्ने गर्छन्। विमानको अवतरण र उडान हुने दिशाबाटै बसाइसराइ हुनेगर्छ। विश्वव्यापी रूपमा हेर्ने हो भने पनि ५३ प्रतिशत दुर्घटनाहरू यही समयमा हुने गरेको छ।

‘विमानस्थल गिद्ध र सिकारी चराहरूको लागि उपयुक्त छ। यही कारणले यो क्षेत्र चरासँग हुने दुर्घटनाको लागि बढी संवेदनशील छ,’ सुवेदीले भने।

वरिष्ठ चराविद् डा हेमसागर बरालका अनुसार पोखरा चराका लागि स्वर्गजस्तै हो। सानो क्षेत्र भए पनि सिकारी चराको प्रजाति र सङ्ख्या उल्लेखनीय छ यहाँ। र, नौ प्रजातिको गिद्धहरू विमानस्थल वरपर पाइन्छन्। ‘यो क्षेत्र विश्वमै चराको लागि चर्चित छ। यी चराहरू प्रशस्त उड्नेछन् र दुर्घटना हुनेछ,’ बरालले भने, ‘पोखरा विमानस्थल भविष्यमा चरा र विमान ठोकिएर दुर्घटना असाध्यै धेरै हुने क्षेत्रमा पर्नेछ।’

पोखरा विमानस्थल आसपास खोला/नाला, तल तलैया, बगैँचा, कृषि क्षेत्र, वन आदिले गर्दा राम्रो वासस्थान बनेको छ। यसले गर्दा थुप्रै चराहरू वरपर उडिरहन्छन्। यही कारणले विमानहरू उड्दा, अवतरण गर्दा चरासँग ठोक्किने सम्भावना प्रचुर रहन्छ।

अर्कातर्फ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फोहर व्यवस्थापन गरिने डम्पिङ्ग साइट विमानस्थलबाट ५ किलोमिटर टाढा हुनुपर्छ। तर, पोखरामा त्यसो छैन। फोहर राखिने ठाउँमा खानाको लागि चराहरूको सक्रियता बढी हुने गर्छ, जसले गर्दा दुर्घटनाको सम्भावना झन् बढी हुन्छ।

दुर्घटना घटाउने कस्तो छ तयारी ?

‘वातावरण प्रभाव मूल्याङ्कन’ प्रतिवेदनमा विमानस्थल नजिक रहेको फोहर फाल्ने ठाउँका कारण चरासँग दुर्घटना हुनसक्ने र त्यसका लागि आवश्यक कार्ययोजना बनाउने भनेर उल्लेख गरिएको छ। तर, हालसम्म कुनै तयारी गरिएको छैन। कुनै पनि सरोकारवालाहरूसँग सामान्य छलफल समेत भएको भेटिएको छैन यस विषयमा।

चराहरूको बसाइसराइ हुने बेलामा के गर्ने भनेर प्रतिवेदनमा उल्लेख गरिएको छैन। धावनमार्गमा चरा लगायत अन्य जीवहरूसँग हुने दुर्घटनालाई कसरी कम गर्ने भनेर पनि प्रतिवेदनमा केही उल्लेख छैन। विमानस्थल वरपर रहेका गिद्धका गुँड र तिनको विचरणले पर्न सक्ने असरका बारेमा समेत प्रतिवेदन मौन छ। जबकि विमानस्थल नजिकै विश्वमै दुर्लभ गिद्धको गुड अभिलेख छ।

नेपालमा मात्रै होइन चरा सहित अन्य वन्यजन्तु र हवाईजहाज बीचको दुर्घटना विश्वव्यापी नै छ। अमेरिकामा मात्रै विगत २९ वर्षमा २ लाख २७ हजार ५ पटक यस्ता घटनाहरू घटेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीलाई हामीले यसबारे के तयारी छ भनेर सोधेका थियौँ। उनले भने, ‘हाम्रा कामदारहरूलाई चराचुरुङ्गी मार्न हुँदैन भनेर छलफल गरेका छौँ। विमानस्थल सञ्चालनपछि पनि हामी विभिन्न उपकरण जडान गरेर चरालाई विमानस्थल क्षेत्रबाट धपाउने छौँ। यो चरा र विमानबीच हुने दुर्घटना सबै ठाउँमा छ, पोखरामा मात्र होइन।‘

विमानस्थल वरपर चराहरू देखिए पनि धेरै सङ्ख्यामा नदेखिएको उनले बताए। विमानस्थल नजिकै रहेको डम्पिङ्ग साइटलाई हटाउन पोखरा महानगरपालिकासँग समन्वय गरिरहेका उनको दावी छ।

तर, जानकारहरू भन्छन्, ‘वातावरण प्रभाव मूल्याङ्कन’मा उल्लेख गरिएका कामहरूको न्यून कार्यान्वयन भएको छ। प्रतिवेदन केवल कर्मकाण्डी मात्र भएको छ।

दुर्घटना कम गर्न के गर्न सकिन्छ ?

कुनकुन चराहरू पाइन्छन्? कुन समयमा सक्रिय हुन्छन्? कुन मौसममा बढी सक्रिय हुन्छन ? जमिनदेखि कति माथि उड्छन्? चराहरूको बसाइसराइ कुन महिनामा बढी हुने गर्छ? चराहरूको बानीब्यहोरा कस्तो हुन्छ? तिनले के रुचाउँछन्? कस्तो ठाउँमा गुँड बनाउँछन्? जस्ता जानकारी सङ्कलन गर्नु एकदम आवश्यक हुन्छ, यस्तो क्षेत्रमा। यस्ता जानकारीहरूले विमानस्थल वरिपरि तिनको सक्रियता न्यून गर्न सहयोग गर्छ। जस्तै: संसारभर हुने यस्ता घटनाहरू प्रायगरी जुलाई देखि सेप्टेम्बर महिनामा हुने गरेको तथ्याङ्कले देखाउँछ। यसबाट नियन्त्रण गर्न सहज हुनसक्छ।

पोखरा विमानस्थल नजिक गिद्ध लगायत सिकारी चराहरू विचरण गरिरहन्छन्। बिस्तारै हावा तात्दै जाँदा यिनीहरू खाना तथा अन्य कारणले सक्रिय हुन थाल्छन्। विमानस्थल वरिपरि रहेका सिमल तथा अन्य रुखहरूले यिनलाई राम्रो वासस्थान निर्माण गरेको छ। यही कारणले यिनको र हवाईजहाज बीच दुर्घटनाको सम्भावना उच्च रहन्छ। विमानस्थल र यसको वरपरको वासस्थानलाई नै सार्नुपर्ने हुन्छ। जस्तो, यहाँको सिमलको रुख काटेर यसको सट्टा केही किलोमिटर पर हवाईजहाजको उडान र अवतरण गर्दा नजिक नपर्ने गरी वृक्षारोपण गर्न सक्छौँ। यसको लागि समय लाग्नेछ।

तर यो भनेजति सजिलो चाहिँ छैन। ‘वासस्थान सार्ने भन्ने त्यति सहज र व्यवहारिक हुँदैन। चराको वासस्थान र खानालाई अनुपयुक्त बनाइदियो भने चराहरूको आवागमन आफै कम हुन् सक्छ,’ डा बरालले भने।

चराहरूलाई मनपर्ने खालका वा चराहरू आकर्षित हुने फलफूलका बिरुवाहरू नरोप्ने वा रोपिएका भए आवश्यक क्षतिपूर्ति सहित हटाउने अर्को विकल्प हो। वन्यजन्तुहरूलाई लुक्ने ठाउँ, खाने कुरा र पिउने पानी कम गरी दिने हो उनीहरु आउँदैनन् र दुर्घटनाको जोखिम पनि कम हुनसक्छ।

विमानस्थलमा हवाइजहाजको उडान र अवतरणको बेलामा, चराहरू धपाउने मेसिन पनि राख्न सकिन्छ। तर, यसले सानो क्षेत्रमा मात्र काम गर्छ।

बन्दुक पड्काएर वा कहिलेकाहीँ मारेर पनि नियन्त्रण गर्न सकिन्छ। पोखरामा विश्वमै दुर्लभ चराहरू धेरै भएकोले मार्ने सम्भावना असाध्यै कम हुन्छ। मारियो भने नेपालले अन्तर्राष्ट्रिय रूपमै निक्कै ठूलो विरोधको सामना गर्नुपर्ने हुन्छ।

विमानस्थलमा रसायनको प्रयोग, ठूलो आवाज निकालेर वा लेजर प्रयोग गरेर चराहरूलाई नोक्सान नगरी धपाउन सकिन्छ। सीमामा बलियो तारबार गरेर (स्तनधारीका लागि), चराहरू समातेर स्थानान्तरण गरेर, ठूला जनावरका प्रतिमूर्ति राखेर, गुँडहरू नष्ट गरेर, धावनमार्गमा किरा फट्यांग्राको उपस्थिति कम गराएर, शाही बाज सिकारी चरालाई तालिम दिएर अन्य चरालाई धपाएर पनि क्षति न्यून गर्न सकिन्छ।

यस्ता दुर्घटनाहरू विशेष गरी दिउँसो (६३%) र राति (२९%) बढी हुने भएकोले सो समयमा विशेष ध्यान दिनु आवश्यक हुन्छ। यो लेखले चराको मात्र कुरा गरे पनि स्तनधारीहरूले समेत दुर्घटना निम्त्याउन उत्तिकै भूमिका खेल्छन्। खरायो, चमेरा ,स्याल, नीलगाई आदिले समेत दुर्घटना पुर्‍याएको अभिलेख छ। धावनमार्गमा सर्प देखिए उडानको समय पछि धकेलिएको पनि अभिलेख छ।

अन्त्यमा,

पटकपटक अधिग्रहण गर्दै स्थानीयलाई त्रसित बनाएको यो विमानस्थलले स्थानीय मात्र होइन प्रकृतिलाई पनि त्रसित बनाउने बाटोमा हिँडेको छ। वातावरणको कारणले विकास रोकिनु हुन्न तर विकासको नाममा प्रकृतिलाई पनि बिगार्न पाइँदैन। बेलैमा सोचिएन भने विमानस्थल सञ्चालन पछि चराको कारणले निकै क्षति हुने निश्चित छ। एउटा सत्य कुरा के हो भने संसारका सबै विमानस्थलमा चरासँग ठोक्किने घटनाहरू भई रहन्छन्। पूर्ण रूपमा रोक्न भने सम्भव छैन नै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell