PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मुलुककै बद्‍नाम गराउँदै कोभिड १९ परीक्षण ल्याबहरु



पहिलोपोस्ट

मुलुककै बद्‍नाम गराउँदै कोभिड १९ परीक्षण ल्याबहरु

काठमाडौं : सरकारले नै स्वीकृति दिएका प्रयोगशालाहरुबाट जारी पीसीआर रिपोर्ट बोकेर विदेश उडेका यात्रुको गन्तव्य मुलुकमा पुनः कोभिड-१९ परीक्षण गर्दा पोजेटिभ देखिएपछि यसले नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानहरुमा अस्थायी रोक लागेको छ।

सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालाको नेगेटिभ पीसीआर रिपोर्टधारी यात्रुको पुनः परीक्षणमा पोजेटिभ देखिँदा उडान अनुमति स्थागित भएपछि यसले राष्ट्रिय ध्वजावाहकको बदनामी भएको ठहर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वदेशी प्रयोगशालाबाट गरिएको कोभिड-१९ परीक्षणको विश्वसनीयता माथि प्रश्न उठाएको छ।

यससँगै मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै पत्राचार गरेको छ। 

सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्टसहित यात्रा गरेका यात्रुहरुको हङकङ, युएई र जापानमा पुन: परीक्षण गर्दा पोजेटिभ आएको भन्दै परीक्षणप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रश्न उठाएको हो।

यसरी एकै व्यक्तिको दोहोरो रिपोर्ट देखिएपछि यसमाथि आवश्यक छानबिन गरी त्यस्तो रिपोर्टमा कैफियत देखिए सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्‍थाहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाई पर्यटन मन्त्रालयले पत्र पठाएको छ।

मन्त्रालयले विभिन्न प्रयोगशालाहरुले स्वाब संकलन नै नगरी नक्कली पीसीआर रिपोर्ट दिने गरेको ठहर गरेको छ। प्रयोगशालाहरुले स्वाब संकलनपछि रिपोर्ट तोडमोड गरी पोजेटिभ नतिजा दिने गरेको पनि मन्त्रालयले जनाएको छ।

प्रयोगशालाहरुले स्वाब संकलनपछि निर्धारित समयसम्म भण्डारण गरी राख्नुपर्नेमा त्यसो नगरेको भन्दै कारवाही गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको हो। 

नतिजा फरक भएपछि परीक्षणको विश्वसनीयतामा प्रश्न उठेकाले यस किसिमका लापरवाहीले देशको छवि धुमिल पार्नुका साथै नियमित उडानहरुमा समेत असर पर्ने भन्दै कात्तिक २८ गतेको सचिवस्तरीय निर्णयबाट सीसीएमसी र स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिएको पत्रमा उल्लेख छ। 

अक्टोबर २ र १९ मा भएको काठमाडौं-हङकङ उडानबाट यात्रा गरेका यात्रुहरुको हङकङ स्वास्थ्य विभागबाट पुन: पीसीआर परीक्षण गर्दा कुल १४ जनामा पोजेटिभ देखिएको थियो। जसमा अक्टोबर २ मा हङकङ पुगेका ५ जनामा र अक्टोबर १९ मा गएका ९ जनाको पीसीआर पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो।

यसरी नेवानिका यात्रुबाट स्वास्थ्य सुरक्षामा लापरवाही भएको भेटेपछि हङकङको नागरिक उड्डयन विभागले पहिलोपटक चारदेखि १७ अक्टोबर, दोस्रोपटक २२ अक्टोबरदेखि ४ नोभेम्बर उडान अनुमति स्थगित गरेको थियो। यससँगै तेस्रोपटक पनि हङकङले १२ देखि २५ नोभेम्बर (मंसिर १०) सम्म निगमको काठमाडौं-हङकङ उडानमा रोक लगाएको छ।

निगमको काठमाडौं-दुबई नियमित उडानबाट नेगेटिभ रिपोर्टसहित यात्रा गरेका केही यात्रुको पनि पुन: परीक्षणमा संक्रमण पोजेटिभ देखिएको थियो । यसलाई औंल्याउँदै नागरिक उड्डयन कार्यालयका महाप्रबन्धकले निगमलाई ध्यानकर्षण गराएका थिए।

यस्तै, निगमकै नियमित उडानबाट काठमाडौं-नारिता (जापान) यात्रा गरेकाहरुको पुन: पीसीआर परीक्षण गर्दा हरेक उडानमा कम्तिमा दुईदेखि १० जनासम्म यात्रुहरुमा संक्रमण देखिएको थियो। यस विषयमा इन्टरनेशनल एयर कार्गो टर्मिनल (आएएसीटी) बाट निगमलाई इमेलमार्फत् जानकारी प्राप्त भएको मन्त्रालयले सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell