PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोभिड-१९ परीक्षण : नेपालमा नेगेटिभ, विदेशमा पोजिटिभ, चार प्रयोगशालासँग २४ घण्टे स्पष्टीकरण माग



पहिलोपोस्ट

कोभिड-१९ परीक्षण : नेपालमा नेगेटिभ, विदेशमा पोजिटिभ, चार प्रयोगशालासँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं : कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आइ विदेश गएका नेपालीमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) बैठकले स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, सेन्ट्रल डाइग्नोस्टिक ल्याब कमलपोखरी र सुरिया हेल्थ केयरलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

यी ल्याबबाट कोभिड-१९ परीक्षण गराई नेपाल वायु सेवा निगमको विमानबाट हङकङ, दुबई र जापान पुगेका नेपालीमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि नेपाल वायु सेवा निगमले यात्रु विवरणसहित नागरिक उड्ययन तथा संस्कृति मन्त्रालयमा कारबाहीका लागि पत्र पठाएको थियो। निगम माथि हङकङमा पटक पटक संक्रमित यात्रु लगेको भन्दै प्रतिबन्ध लाग्दै आएको छ।

वायु सेवा निगमको यात्रु बोकेर अक्टोवर २, २०२० मा काठमाडौंबाट हङकङका लागि उडेको विमानमा सवार ५ जना, १९ अक्टोरमा ९ जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै त्यहाँको सिभिल एभिएसन डिपार्टमेन्टले पहिलो पटक ४ देखि १७ अक्टोबर र दोस्रो पटक २२ अक्टोबर देखि ४ नोभेम्बर र तेस्रो पटक १२ देखि २५ नोभेम्बर सम्म उडान प्रतिबन्ध लगाएको छ।

त्यस्तै, निगमको दुबई नियमित उडानबाट त्यहाँ पुगेका यात्रुको पुन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि त्यहाँको डाइरेक्टर जनरल अफ सिभिल एभिएसनबाट ध्यानाकर्षण पठाएको थियो। त्यस्तै काठमाडौं-नारिता (जापान) को उडानबाट आरटी पीसीआर नेगेटिभ भएको रिपोर्टका आधारमा जापान पुगेका कम्तिमा २ देखि १० जनामा कोभिड-१९ पोजिटिभ देखिएको त्यहाँको इन्टरनेशनल एयर कार्गो टर्मिनलले निगमलाई पत्राचार गरेको थियो।

आफ्ना उडान मार्फत गएका यात्रुमा संक्रमण पुष्टि भइ प्रतिबन्ध लागेपछि निगमले पर्यटन मन्त्रालयलाई कारबाहीका लागि पत्राचार गरेको थियो। मन्त्रालयले कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र छाउनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कार्तिक २८ मा पत्र लेखि प्रयोगशालाहरुले स्वाब संकलन नगरी नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलन गरे पनि रिपोर्ट मेनिपुलेसन गरी पोजिटिभ रिपोर्ट दिने गरेको, स्वाब कलेक्सन पश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा नराखेको र कोभिड-१९ को आरटी-पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउन आवश्यक रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

वायु सेवा निगमले मन्त्रालयलाई त्यसरी पुगेका यात्रुको विवरणसहित कारबाहीका लागि पत्राचार गरेका थिए।

पर्यटन मन्त्रालयको पत्रसँगै मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन टोली गठन गरी छानविन गरेको थियो। टोलीको रिपोर्टका आधारमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले प्रयोगशालाहरुलाई स्पष्टिकरण सोधेको हो।

मन्त्रालयले सबै प्रयोगशालाहरुलाई संकलित स्वाब नेगेटिभ रिपोर्ट आए एक महिना र पोजिटिभ रिपोर्ट आए तीन महिना स्टोर गर्नसमेत निर्देशन दिएको छ। सोही अनुसार ल्याबहरु स्टोर नगरेको भन्दै स्पष्टिकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, मन्त्रालयले कोभिड-१९ परीक्षण गर्दा 'इन्कन्क्लुसिभ रिपोर्ट' आए पनि पोजिटिभ मान्यता दिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ। कतिपय अवस्थामा रिपोर्टमा नेगेटिभ वा पोजिटिभ छुट्टिन नसक्ने अवस्थामा बोडरलाइन रिपोर्ट आउने गर्छ। त्यस्तो, रिपोर्टलाई पोजिटिभ मान्यता दिन निर्देशन भएको हो।

त्यस्तै, मन्त्रालयले इन्टरनल क्वालिटी कन्ट्रोल को प्रोटोकल बनाई कडाइका साथ लागु गर्न निर्देशनसमेत दिएको छ। त्यस्तै, परीक्षण नतिजामा लोअर डिटेक्सन लिमिट उल्लेख गर्नसमेत निर्देशन दिएको छ।

त्यस्तै, मन्त्रालयलय विदेश जानेको हकमा वायोमेट्रिक नमुना दिने ब्यक्तिको पहिचानका लागि वायोमेट्रिक वा सोही अनुसारको प्रणाली लागु गर्नसमेत निर्देशन दिएको छ। त्यसरी विदेश जानेको हकमा परीक्षण नेपाल सरकारका 'लेवल ए' प्रयोगशालाबाट मात्र गराउने मन्त्रालयले निर्णय गरेको छ।

त्यसको जानकारी परराष्ट्र, स्वास्थ्य, पर्यटन मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा समेत दिने ब्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ।

कोभिड-१९ परीक्षण गर्न परिचयपत्र देखाउनुपर्ने

यसैबीच मन्त्रालयले कोभिड-१९ परीक्षण गर्दा व्यक्तिको परिचयपत्र आवश्यक पर्ने भएको छ। परीक्षण गर्नुपूर्व नेपाल सरकारबाट जारी परिचय पत्र अनिवार्य देखाउनुपर्ने उल्लेख छ। मन्त्रालयले यस्तो निर्देशन प्रयोगशालाहरु दिएको हो।

विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइन

सरकारले विदेशबाट आउने ब्यक्तिका लागि यस भन्दा अगाडि तोकेका नियमहरुलाई खारेज गरेको छ। विदेशबाट हवाई वा स्थल मार्गबाट आएका सबै ब्यक्ति अब अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख छ।

यसअघिका सबै निर्णय र प्रावधान खारेज गर्दै अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ। साथै क्वारेन्टाइनमा रहँदा लक्षण देखिए मात्र कोभिड-१९ को परीक्षण गर्ने नत्र परीक्षण गर्नुनपर्ने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell