PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कमेडी च्याम्पियन टिमको नयाँ रियालिटी शो 'डान्स मास्टर' घोषणा



पहिलोपोस्ट

कमेडी च्याम्पियन टिमको नयाँ रियालिटी शो 'डान्स मास्टर' घोषणा

काठमाडौं : नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ। एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको ‍औपचारिक घोषणा गरियो।

'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन्। यसअघि उनले सफल रियालिटी शो 'कमेडी च्याम्पियन' निर्देशन गरेका थिए।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन्। अन्य निर्णायकमा 'डान्स इन्डिया डान्स-लिल चाम्स'की विजेता तेरियमा मगर, डान्स प्लस सिजन-२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।

रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइरालाले कार्यक्रम सञ्चालन गर्नेछन्।  

निर्देशक भण्डारी राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो सुरु गर्न लागिएको बताउँछन्। उनी भन्छन्, 'राम्रो नृत्य गर्ने बालबालिकाले प्ल्याटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो। तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ।'

निर्माता केकी अधिकारी पहिलो रियालिटी शोबाट पाएको सफलता र हौसलाले नै दोस्रो अर्गानिक रियालिटी शो सुरु गर्ने हिम्मत जुटेको बताउँछिन्। उनी भन्छिन्, 'पहिलो रियालिटी शो कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौँ, यस शोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौँ।'

'डान्स मास्टर लिल चाम्स' 'कमेडी च्याम्पियन सिजन २' समाप्त भएको दुई महिनापछि सुरु हुनेछ। यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए।

रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन्। त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशात साझेदारी गर्नुपर्नेछ।

कार्यक्रममा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह लगायत निर्माताको रुपमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell