PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कीर्ते कागजात बनाइ जग्गा नामसारी गर्ने मालपोत पर्साका प्रमुख झासहित ५ जना थुनामा



राधेश्याम पटेल

कीर्ते कागजात बनाइ जग्गा नामसारी गर्ने मालपोत पर्साका प्रमुख झासहित ५ जना थुनामा

वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। वीरगंज महानगर-५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा कीर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो।

न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले कीर्ते जग्गा नामसारी प्रकरणमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुलाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो। यही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानु एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

यसअघि जग्गा बैना गर्ने वीरगंजका व्यवसायी गिरधारीलाल अग्रवाल पक्राउ परे पनि मुद्दा दायर भएन। प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष बुझाए पनि अग्रवालउपर मुद्दा नचलाइ मुल्तबीमा राखिएको हो। आर्थिक चलखेलमा मुद्दा नचलाइएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र पर्सा प्रहरीको आलोचना समेत भएको थियो।

कीर्ते गरी जग्गा नामसारी भएको प्रकरणका मुख्य नाइके भनिएका व्यक्ति आर्थिक चलखेल गरी सरकारी वकिल र पर्सा प्रहरीलाई प्रभावमा पारी मुद्दा हल्का बनाएको वीरगंजका केही कानुन व्यवसायीको दाबी थियो। तर, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले सिआइबीले मुद्दा अघि बढाएकोमा पर्सा प्रहरीले नै मिसिल खडा गरी सरकारी वकिलको कार्यालयमा बुझाएको बताइन्। गिरधारीलालको संलग्नताको आधार कमजोर भएकोले अदालतले रिहा गर्ने आदेश गरेको हुन सक्ने उनले दाबी गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell