काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको 'एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६' अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित भएका छन्। पुष २८ गते हुने अवार्ड कार्यक्रमका लागि आज मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।
यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र करातेका मण्डेकाजी श्रेष्ठ रहेका छ्न्।
गौरीका सिंह पौडीमा गएको सागमा चारवटा स्वर्णको कीर्तिमानसहित २ रजत र २ कास्य जित्ने खेलाडी हुन्। त्यस्तै उनले आठौं राष्ट्रिय खेलकुदमा आफू सहभागी १२ वटा प्रतिस्पर्धामध्ये सबैमा स्वर्ण जित्दै कीर्तिमान बनाएकी थिइन्।
त्यस्तै भलिबलकी अरुणा शाहीको कप्तानीमा रहेको नेपाली भलिबल टोलीले गएको वर्ष बंगलादेशमा एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो भने सागमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको थियो।
त्यस्तै करातेका मण्डेकाजीले सागको पहिलो दिननै एकल र टीम इभन्टमा गरेर दुई स्वर्ण जितेका थिए। त्यस्तै ८ औं राष्ट्रिय खेलकुदमा पनि १ स्वर्ण र १ रजत जितेका थिए।
पिपल्स च्वाइस अवार्डमा मनोनित अर्की खेलाडी हुन नेपाली महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ। उनको कप्तानीमा नेपाली टिमले ऐतिहासिक रजत पदक हात पारेको थियो। त्यस्तै ८ औं राष्ट्रिय खेलकुदमा पनि प्रदेश ३ ले उपाधि जित्दा उनी त्यसको महत्वपूर्ण सदस्य थिइन्।
मनोनयनमा परेकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी पनि नेपालको फुटबल क्षेत्रकै महत्वपूर्ण खेलाडी हुन्। उनको कप्तानीमा रहेको एपीएफले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो भने इन्डियन वुमन्स लिगको २०१८/१९ मा सेथु एफसीबाट र २०१९/२० मा गोकुलम केरलाबाट खेल्दै टीमलाई स्वर्ण जिताएकी थिइन्। त्यस्तै प्राय जसो प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्ने उनले नेपाली राष्ट्रिय टिमबाट नाडेज्दा कप र १३ दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान उनकै नाममा छ।
मनोनयनमा परेका खेलाडीहरुलाई इसेवाबाट भोटगर्न सकिने छ। त्यस्तै मञ्चका पत्रकार र राष्ट्रिय संघका प्रशिक्षकको भोटका आधारमा निर्णय हुनेछ। इसेवामा भोटिङलाई आजबाट सुरुभएर पुष २७ गतेसम्म खुला रहने छ।
एनसेसजेएफले उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमा सार्वजनिक गर्ने जनाएको छ। त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफदी यिअरको घोषणा पुष २८ गतेनै हुन जनाइएको छ।