PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

अब चुनाव आइसक्यो भनेर बुझिएन भने गलत हुनेछ: एनपी साउद



पहिलोपोस्ट

अब चुनाव आइसक्यो भनेर बुझिएन भने गलत हुनेछ: एनपी साउद

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनको तयारी गर्ने बेला आएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै कांग्रेसमा निर्वाचनमा जाने कि आन्दोलनमा भन्ने बहस भइरहेका बेला नेता साउद भने पार्टी पंक्तिलाई चुनावको तयारीमा लाग्न निर्देशन दिए।

केन्द्रीय समितिमा चुनावमा जानुपर्ने धारणा राखेर गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले विहीवार कृष्णपुर नगरपालिकामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले चालेको कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने निरुपण गर्ने अन्तिम निकाय अदालत भएको उल्लेख गरे। अदालतको निर्णय प्रजातान्त्रिक पार्टी कांग्रेसले शिरोधार्य गर्ने उनको भनाई छ।

'अब चुनाव आइसक्यो भनेर बुझ्नु भएन भने हाम्रो बुझाई गलत हुनेछ,' उनले भने, 'अब अदालततिर र काठमाडौंतिर ज्यादा हेर्नुभयो, आफ्नो बस्तीतिर ज्यादा हेर्नुभएन भने हाम्रो बुझाई गलत हुनेछ। जुनसुकै प्रतिकुल परिस्थितिका लागि पनि कांग्रेसका सम्पूर्ण साथीहरु तयार अवस्थामा रहनुपर्छ। चुनावको मैदानबाट पनि कांग्रेस भाग्न सक्दैन।'

दुई पार्टी मिलेर कांग्रेस हारेको भन्दै नेता साउदले थपे, 'अहिले दुई पार्टी विभाजित भएका छन्। कांग्रेसले काम पनि गरेको छ र कमीकमजोरी पनि गरेको छ। क्षमा मागेर जनताका बीचमा जानुबाहेक अर्को कुनै उपाय छैन। आफ्नै हातले गल्ती भएको छ त्यो सच्याउ।'

नेता साउदले पार्टीभित्रको अन्तर्घातमा पनि असन्तुष्टि जनाए। 'अस्ती सभापति शेरबहादुर दाईले भन्नुभयो ६ हजार क्रियाशील सदस्य छन्। लगभग ३ हजारले कुनै न कुनै रुपमा भोट नदिएको कैफियत देखेको छु। यो क्रियाशीलको कथा हो। कसलाई कारवाही गर्ने? यो वेथितिलाई हाम्रा साथीभाईले रोक्नुपर्छ। ठिक छ व्यवहार र नेतामा कमजोरी छ भने छलफल गरेर टुंग्याउ। केही गुनासो छ भने निराकरण गरौं। अब एकबद्ध भएर अगाडि बढ्नुपर्छ,' उनले भने।

सदस्यता वितरणमा महिला, युवा र गरिबलाई महत्व दिनुपर्ने नेता साउदको भनाई छ। 'चुनावका लागि पार्टीको सञ्जालमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ। यो काममा पार्टीका साथीहरु लाग्नुस्,' उनले निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell