PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काङ्ग्रेसले विराटनगरमा भन्यो : पुस ५ लाई कालो दिनका रूपमा मनाऔँ, सडक सङ्घर्ष जारी छ



पहिलोपोस्ट

काङ्ग्रेसले विराटनगरमा भन्यो : पुस ५ लाई कालो दिनका रूपमा मनाऔँ, सडक सङ्घर्ष जारी छ

विराटनगर : नेपाली काङ्ग्रेसले विराटनगरमा विरोध सभा गर्दै पुस ५ गतेलाई सधैँ कालो दिनका नाममा मनाउन आग्रह गरेको छ।

नेपाली काङ्ग्रेसका दुई केन्द्रीय नेता डाक्टर शेखर कोइराला र डाक्टर डिला सङ्ग्रौलाले पुस ५ गतेलाई सधैँ कालो दिनका मनाउन आह्वान गरेका हुन्।

‘यो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानलाई घाइते बनाएको दिन हो,’ डाक्टर शेखरले भने, ‘त्यसैले यस दिनलाई हामी सधैँ कालो दिनका रूपमा मनाउने छौँ।’

डाक्टर कोइरालाले सर्वोच्च अदालतले चुनाव गराउने फैसला गर्‍यो भने वैशाख १७ र २७ गते घोषित मितिमा चुनावको सुनिश्चितता गराउन नेपाली काङ्ग्रेसले सडक सङ्घर्ष जारी राख्ने बताए।

‘अबको सडक नेपाली काङ्ग्रेसको हो,’उनको भनाइ थियो, ‘नेपाली काङ्ग्रेसले अब सडकबाटै मुलुकको भविष्यको निर्णय गर्नेछ।’

उनले प्रचण्ड र माधवकुमार नेपालले यसअघि संसदमा केपी ओलीको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदमको साथ दिएको आरोप लगाए।

शेखरको तर्क थियो, ‘राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणलाई प्रधानमन्त्रीका मातहतमा ल्याउने लगायत अन्य धेरै अलोकतान्त्रिक विधेयकमा प्रचण्ड र माधवले केपीको साथ दिएका छन्। उनीहरू पनि त्यत्तिकै मतियार थिए, त्यसैले उत्तिकै दोषी छन्।’

उनले प्रधानमन्त्री ओलीका भ्रष्टाचार, कमिसनखोरी र अनियमिततामा प्रचण्ड र माधव चुप लागेर समर्थन गरेको भन्दै आक्रोश प्रकट गरे।

डाक्टर कोइरालाले नेपाली काङ्ग्रेस कुनै पनि कम्युनिस्ट शक्तिसित सरकार बनाउन नजाने स्पष्ट पार्दै आफ्नो पार्टी केपीको मतियार बन्न नसक्ने धारणा व्यक्त गरे।

उनले कम्युनिस्टहरूलाई लोकतान्त्रिक बनाउनु भनेको बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखेर सिधा बनाउन खोज्नु हो भन्ने उदाहरण पेश गरे।

‘गणेशमानजी, किसनुजी, गिरिजाबाबु र हामीले पनि कम्युनिस्टलाई लोकतान्त्रिक बनाउन सकिन्छ कि भनेर यहाँसम्म ल्यायौँ, मेहनत गर्यौँ,’कोइरालाको कथन थियो, ‘तर केपीको पछिल्लो विघटनको कदमले के देखाएको छ भने कम्युनिस्टहरू कहिल्यै लोकतान्त्रिक हुन सक्तैनन्।’

उनले नेपाली काङ्ग्रेस आफ्नै पहिचान र शक्तिमा अघि बढ्ने, सडक तताउने र असंवैधानिक कदमलाई सच्याई छाड्ने दृढता व्यक्त गरे।

अर्का केन्द्रीय नेता डाक्टर डिला सङ्ग्रौलाले संविधानको सीमाभित्र बस्ने नसक्ने राष्ट्रपतिलाई जनताले राष्ट्रपतिको कुर्सीमा बसेको नरुचाउने बताइन्।

डाक्टर सङ्ग्रौलाले व्याधाले हानेर छटपटाइरहेको पन्छीझैँ नेपालको संविधान राष्ट्रपति र प्रधानमन्त्रीले हानेको असंवैधानिक वाण लागेर पीडामा छटपटाइरहेको चर्चा गरिन्।

उनले भनिन्, ‘केपीले हिटलर र महेन्द्रको शैलीमा कू गर्न खोजेका छन्। जनताको शक्तिले यो कू अवश्य पराजित हुनेछ।’

राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले ओली सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट, कमिसनखोर र अलोकतान्त्रिक सरकार भएको आरोप लगाए।

सांसद् रायमाझीले कसले बढी लुट्ने र भ्रष्टाचार गर्ने भन्ने कम्युनिस्टको प्रतिस्पर्धामा संविधानकै कू गरिएको विचार प्रकट गरे।

प्रदेश नम्बर १ का प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले प्रचण्ड र ओलीले घिउबेचुवा र तरबार बेचुवाका शैलीमा एक बनाएको पार्टीले समृद्धि ल्याउने कुरै थिएन भन्ने धारणा राखे।

प्रमुख सचेतक कार्कीले संवैधानिक कूमा ओली जति दोषी छन्, यस्ता अलोकतान्त्रिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रचण्ड पनि उत्ति नै दोषी भएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell