यमनको विमानस्थलमा भएको विष्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा धेरै जना घाइते भएका छन्।
यमनको दक्षिणी शहर एडेनमा नयाँ मन्त्रिपरिषदका मन्त्रीहरु आउँदै गर्दा विष्फोट भएको हो। साउदी अरेवीयाबाट नयाँ गठन भएको सरकारका सदस्यहरु यमन आउँदै थिए। मृत्यु हुनेमा विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ।
प्रधानमन्त्री र उनको क्याविनेटका सदस्यहरु सुरक्षित रहेको त्यहाँका सूचना मन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ।
आक्रमण हुथी विद्रोहीहरुले गरेको बताइएको छ। यमनमा २०१५ देखि राजनीतिक संकट गहिरिँदै गएको छ। सन् २०१५ मा हुथी विद्रोहीलाई दबाउनका लागि साउदी अरव नेतृत्वको अरब राष्ट्रहरुले सैन्य अप्रेसन चलाएका थिए। हुथी विद्रोहीलाई परास्त गर्दै राष्ट्रपति अबद्राबुह मनसुर हाडीको सत्ता फिर्ता गराउनका लागि थालिएको यो अप्रेसनका क्रममा एक लाख १० हजार बढी मानिसको मृत्यु भइसकेको छ।
विमानबाट यात्रुहरु ओर्लिने क्रममा ठूलो विष्फोट भएको भिडियो फुटेजहरुमा देखाइएको छ।
नयाँ मन्त्रीहरुलाई स्वागतका लागि भिड जम्मा भएको थियो। भिडकै बीचमा मुस्लोसहित विष्फोट भएको थियो। दुई वटा विष्फोट भएको त्यहाँ अन्तर्राष्ट्रिय साझेदार मन्त्री नवजिव अल अवजले बताएका छन्।
साउदीको टेलिभिजनले घटनाको केही समयपछि भिडियो प्रसारण गरेको थियो जहाँ मिसाइल मार्फत् विष्फोट गराइएको देखाइएको छ।
सन् २०१९ को अगस्टमा पनि हुथीहरुले यस्तै मिसाइल मार्फत एडेनमा रहेको सैन्य क्षेत्रमा विष्फोट गराउँदा परेड गरिरहेका ३६ जना सैनिक तथा सर्वसाधारणको मृत्यु भएको थियो।
यमनको न्युज वेवसाइटले त्यहाँको श्रम मन्त्रालयका एक उपसचिवको मृत्यु भएको र घाइते हुनेमध्ये युवा तथा खेलकुत उपमन्त्री मोनिर अल वाजिह र यातायात उपमन्त्री नासेर सरिफ घाइते भएको जनाएको छ।
प्रधानमन्त्री माइन अब्दुल मलिक सैयद र उनको क्याविनेटका सदस्यहरुलाई सुरक्षित स्थानमा लगिएको छ। प्रधानमन्त्री सैयदले ट्वीट गर्दै आफू र सरकार सदस्यहरु सुरक्षित रहेको र अस्थायी राजधानी एडेनमै रहेको बताएका छन्।