कोभिड-१९ को नयाँ स्ट्रेन फैलिँदै गर्दा फ्रान्सले नयाँ वर्षलाई लक्षित गर्दै कर्फ्यु लगाएको छ। न्यु एयर इभमा हुने भिड नियन्त्रणका लागि फ्रान्सले एक लाख प्रहरी परिचालन गर्दै कर्फ्यु लगाएको बीबीसीले जनाएको छ।
वर्षको अन्तिम रात हुने सम्भावित कारहरुको आगजनी नियन्त्रणका लागि पनि थप सुरक्षा बलको प्रयोग भएको उल्लेख छ।
फ्रान्समा हालसम्म २६ लाख कोभिड-१९ का केस सहित विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा पाँचौँ स्थानमा छ। त्यस्तै फ्रान्समा ६४ हजारको मृत्यु भइसकेको छ।
युरोपका अन्य देशहरु जस्तै यस वर्ष सुनसान रुपमा नयाँ वर्ष मनाउने तयारीमा फ्रान्स रहेको छ। त्यहाँका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले राती ८ बजे देखि कर्फ्युको घोषणा गर्दै सुरक्षा अधिकारीहरुले सिटी सेन्टरहरु, फ्लास प्वाइन्ट लगायतका मुख्य क्षेत्रमा उपस्थित बढाउन निर्देशन दिएका छन्।
पेरिसमा साँझदेखि आधा मेट्रो लाइनहरु बन्द रहनेछन्। साथै उनले देशभर सार्वजनिक यातायात बन्द गर्न समेत भनेका छन्।
मन्त्री डार्मानिनले क्षेत्रीय नेतृत्वहरुलाई निर्देशनबारे जानकारी गराउँदै अपवादका रुपमा एक लाख प्रहरी परिचालन गरेको जानकारी सहितको पत्र लेखेका छन्। उसले देशका हरेक क्षेत्रमा कर्फ्यु लागू हुने जनाएका छन्।
अधिकारीहरुलाई जानकारी आउनासाथ अन्डरग्राउन्ड पार्टीहरु रोक्न तथा त्यहाँ सहभागी तथा आयोजकहरुको पहिचान गरी नियन्त्रण गर्न निर्देशन दिएका छन्। साथै यातायातको खानतलासीका साथै यात्रुको परिचयपत्र परीक्षण गर्न समेत निर्देशन दिइएको छ।
त्यस्तै, उनले पसलहरुमा प्रज्वलनशील वस्तुको बेच्न कम गर्न तथा बन्द गर्न आग्रह गरेका छन भने पेय पदार्थ बिक्रीमा नियन्त्रण गर्न समेत भनेका छन्।
त्यस्तै, अधिकारीहरुलाई न्यु इयर इभमा हुने कार आगजनीका घटना सार्वजनिक नगर्न समेत भनेका छन्। फ्रान्समा पछिल्ला वर्षहरुमा कार आगजनी बढ्दै गएको छ। गत वर्ष मात्र न्यु इयर इभमा एक हजार ४ सय ५७ वटा कार जलाइएका थिए। जुन अघिल्लो वर्ष एक हजार २ सय ९० थियो।
अरु देशले के गर्दै छन?
युकेका प्रधानमन्त्री बोरिस जोनसनले बुधवार कडा प्रतिबन्धको घोषणा गरेका छन्। उनले आफ्ना नागरिकहरुलाई नियमको पालना गरी घरमै बसेर वर्षको अन्तिम रात र नयाँ वर्ष मनाउन आग्रह गरेका छन्।
स्कटल्याण्डले पनि कडा नियम लागू गरेको छ। २६ डिसेम्बरदेखि लागू भएको यो नियम तीन साता जारी रहनुका साथै न्यु इयर इभमा सर्वसाधारणलाई घरमै रहन निर्देशन दिइएको छ।
त्यस्तै, आइरल्याण्डले पनि कडा प्रतिबन्ध लगाएको छ। बिहीवारदेखि लागू गरिएको प्रतिबन्धमा घरहरुको भ्रमण बन्द गर्नुका साथै अनावश्यक बाहिर निस्किन तथा पाँच किलोमिटर भन्दा लामो दुरीको यात्रामा समेत प्रतिबन्ध लगाएको छ।
जर्मनीमा जनवरी १० सम्मका लागि लकडाउन गरिएको छ। त्यहाँको सरकारले सबै किसिमका पटका माथि प्रतिबन्ध लगाउँदै भिड जम्मा हुने ठाउँमा प्रतिबन्ध लगाएको छ।
जस्तै नेदरल्याण्डमा पनि जनवरी १९ सम्मका लागि लकडाउन गरिएको छ। न्यु इयरको काउन्डाउन त हुने छ तर आम्सटर्डम को बन्द फुटबल रंगशालामा।
त्यस्तै टर्कीले पनि चार दिनको लकडाउन लागु गर्दै छ।