काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटको आज जारी फाइनल खेलमा प्रदेश एकले एपीएफलाई १०६ रनको लक्ष्य दिएको छ।
दाङको देउखुरी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।
प्रदेश १ का लागि अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाउँदा काजल श्रेष्ठले २९ रन बनाइन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन जोडिन्।
बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ३ विकेट लिँदा करुणा भण्डारीले १ विकेट लिइन्।
प्रतियोगिताको साविक विजेतासमेत रहेको एपीएफ समूह ‘ए’ को विजेता हो भने प्रदेश १ समूह ‘बी’ को। दुबै टोलीले प्रतियोगितामा अपराजित रहँदै फाइनलको यात्रा तय गरेका हुन्।
शनिवार भएको सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।
एपीएफ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।