PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

नागरिक अगुवाहरुको एकैस्वर: ओलीले संविधान माथि 'कू' गरे, आन्दोलन आवश्यक



पहिलोपोस्ट

नागरिक अगुवाहरुको एकैस्वर: ओलीले संविधान माथि 'कू' गरे, आन्दोलन आवश्यक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको पतन निश्चित भएको नागरिक अगुवाहरुले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले गरेको अन्तरक्रिया कार्यक्रममा नागरिक अगुवाहरुले यस्तो बताएका हुन्।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक अगुवा कृष्ण पहाडीले प्रतिगमनको सुरुवात धेरै अगाडि देखि भएको भन्दै अझै प्रतिगमन आउँदै जाने बताए। उनले ओलीले नेकपाको सचिवालयमा बसेर दोहोरो चरित्र पनि अपनाइ रहेको आरोप लगाए।

'संविधानमा संसद विघटनको कुरा पाँच कक्षामा पढ्ने विद्यार्थीले पनि बुझ्न सक्छ,' पहाडीले भने, 'केपी ओलीको सबै भन्दा ठुलो बकपत्र दलका कारण संसद भंग गरे भन्ने छ। तर संसारको कुनै ठाउँमा पनि यस्तो हुँदैन।'

उनले सुवास नेम्वाङलाई पनि ओलीले डामेको बताए। 'सुवास नेम्वाङ भद्र मान्छे हुन्। तर, उनलाई पनि ओलीले डामे,' पहाडीले अगाडि भने, 'ओलीका पछाडि भिड छन् तर बिस्तारै फर्कन्छन्।'

उनले न्यायालयबाट न्याय मिल्ने विश्वास पनि व्यक्त गर्दै भने, 'न्यायालयलाई केहि न्यायाधीशले फोहोरी गरे त्यो गर्न पाइदैन। शेरबहादुरलाई जसरी ज्ञानेन्द्रबाट उपयोग गरियो ओली माथि पनि त्यस्तै हुन्छ,' पहाडिले अगाडि थपे, 'रेल लिगबाट बाहिर आएको छ। लिगमा सर्वोच्चले ल्याउनु पर्छ।'

उनले प्रतिगमनका विरुद्ध शान्तिपूर्ण रुपमा आन्दोलन गर्नुपर्ने बताउँदै  ओली सनकी भएको आरोपसमेत लगाए।

कार्यक्रममा अधिवक्ता प्रेमबहादुर खड्काले न्यायालयलाई स्वतन्त्र राख्नुपर्नेमा जोड दिए। त्यस्तै उनले निर्वाचन आयोगमा नियुक्ति गर्दा विरोध गर्नु पर्ने उनको भनाइ थियो। उनले आन्दोलनका लागि सबैलाई आह्वान पनि गरे। प्रतिनिधिसभा विघटनको टुंगो सर्वोच्चको पूर्ण इजलासमा लानु पर्ने उनको माग थियो। त्यसका लागि आवाज उठाउन उनले सबैलाई आग्रह गरे।

खड्काले प्रचण्ड-नेपालले ओलीलाई संसदीय दलबाट हटाउन नसकेर खेल्ने ठाउँ दिएको बताए।

यस्तै, हरिहर दाहालले नागरिकहरु नेकपाको ब्यानरमा आन्दोलनमा नआउने बताए। 'जब सम्म आन्दोलन सत्ताका लागि होइन भन्ने ग्यारेन्टी हुँदैन तबसम्म मान्छे आन्दोलनमा आउँदैनन्,' उनले भने,  'नेकपाको ब्यानरमा मात्र मान्छे आउँदैनन्। किनकी आन्दोलन नेकपाका नेताहरुको मात्र आन्दोलन हो भन्ने मानिसलाई परेको छ।'

भने, 'अबको आन्दोलन संस्था निर्माणको लागि हो भन्ने भए मात्र मानिसहरु आन्दोलनमा सहभागि हुन्छन्।'

कार्यक्रममा सूर्यनाथ उपाध्याले संविधान बनाउनेहरु अहिले संविधान माथि 'कू' हुँदा समेत बोल्न नसकेको आरोप लगाए। 'संविधान बनाउनेले स्वार्थका लागि अहिले नबोलेका होलान,' उनले भने, 'हामीले उत्तरदायित्व भुल्दैनौँ। कसैको पछि लाग्दैनौँ। जानेका कुरा बोल्छौँ।'

उनले कसैले उत्तेजनामा आएर संविधान माथि कू गरे जनता बोल्ने बताए। प्रतिनिधिसभा विघटन गरेर जनताले दिएको भोटको अपमान भएको उनको भनाइ थियो। यसको विरोध देशलाई माया गर्नेहरुले गर्ने बताए। 'यो संविधान माथिको कू हो। देशलाई माया गर्नेले यसको विरोध गर्नेछन्। अदालतले यसको विपक्षमा अदेश दिन्छ। आशा छ चाडै टुंगो लाउने छन्,' उनले भने।

त्यस्तै पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपाली सेनाको उच्च नेतृत्व कठोर कदम चाल्न तयार नभएका कारण बाँचिरहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई जयजयकार गर्नेहरु मात्र ठिक लाग्ने बताउँदै भने, 'उनलाई विरोध गर्नेहरु मनपर्दैन्। अहिले काम गर्न नदिएर विघटन गरेको हो भनेका छन्। अदालतमा जाँदा राजनीतिक विषय हो हेर्न पाउँदैन भन्छन्। अहिले ओलीले वाध्यताहरुको लप्पटबीचबाट शासन गरिरहेका छन्।'

अन्तर्क्रियामा बोल्दै पत्रकार नारायण वाग्लेले ओलीको कदम 'दोस्रो जनआन्दोलन रिभिजट' भएको बताए। 'हिजोको आन्दोलन हामीले नबिर्सिऔँ,' उनले अगाडि भने, 'आन्दोलनपछि दलहरुले बाटो बिराए। अब नागरिक आन्दोलनको जरुरी छ।'

उनले ओलीले यसबीच स्वतन्त्र अभिव्यक्ति दबाउन मिडिया विधेयक ल्याइएको बताउँदै संसद विघटन डराउने बिषय नभए पनि डराउनुको कारण सबै तिर भएको सेटिङ भएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell