काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले चौदण्डीगढीमाथि ६-० गोल अन्तरले जित निकालेको हो।
विराटनगरको जितमा अनु राईले दुई गोल गर्दा इमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले समान १/१ गोल गरे। खेलको २१ औं मिनेटमा एपीएफलाई अग्रता दिलाएकी अनुले ३६ औं मिनेटमा दोस्रो गोल गरिन्। त्यस्तै ३९ औं मिनेटमा इमा र ४३ औं मिनेटमा मनिषाले गोल गर्दा पहिलो हाफमा विराटनगर चार गोलले अघि रह्यो।
दोस्रो हाफमा कुशुम र पार्वतीले गोल थपे। कुशुमले खेलको ८२ औं मिनेटमा गोल गर्दा त्यसको अर्को मिनेटमा नै पार्वतीले गोल थपिन्। चौदण्डीगढीले गोल फर्काउन नसक्दा खेल विराटनगरले आधा दर्जन गोलले आफ्नो पक्षमा पार्यो।
जितसँगै ७ अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चौदण्डीगढीले भने प्रतियोगितामा कुनै पनि खेलमा जित निकाल्न सकेको छैन्।
आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिका र एपीएफ भिड्ने छन्।