PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

औद्योगिक नगरी पर्साको चुनावी भिडन्तः व्यापारी Vs राजनीतिज्ञ, कसले मार्ला बाजी?



राधेश्याम पटेल

औद्योगिक नगरी पर्साको चुनावी भिडन्तः व्यापारी Vs राजनीतिज्ञ, कसले मार्ला बाजी?

वीरगंजः मंसिर २१ गतेमा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पर्सामा राजनीतिक दलहरुले उम्मेदवार तय गरेका छन्। निर्वाचनका लागि विहीबार मनोनयन दर्ता हुँदैछ। उम्मेदवारको पृष्ठभूमिले प्रतिनिधि सभातर्फ रोचक प्रतिस्पर्धाको अनुमान गरिएको छ।

नेपाली कांग्रेसले पर्सा १ बाट व्यवसायी अनिल रुगटा, २ बाट केन्द्रीय सदस्य अजय चौरसिया, ३ बाट पूर्वसांसद सुरेन्द्रकुमार चौधरी र ४ मा केन्द्रीय सदस्य रमेश रिजाललाई अघि सारेको छ।

कांग्रेस–राप्रपा गठबन्धनको अधारमा पर्सा १ मा राप्रपाका उपाध्यक्ष तथा वीरगंजका पुराना नेता राजीव पराजुलीलाई उम्मेदवार बनाउने तयारी थियो। तर, स्थानीय नेताको दबाबपछि कांग्रेसले व्यवसायी रुगटालाई नै टिकट दिएको हो।

संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र १ मा जिल्ला अध्यक्ष प्रदीप यादव, २ बाट नवप्रवेशी तथा वीरगंजका पूर्व मेयर विमल श्रीवास्तव, ३ बाट हरिनारायण रौनियारलाई प्रतिनिधिसभा सदस्यको लागि टिकट दिएको छ। क्षेत्र नं ४ बाट फोरम–राजपा गठबन्धनले राजपा नेता लक्षमणलाल कर्णलाई टिकट दिएको छ।

श्रीवास्तव लोकतान्त्रिक फोरमबाट संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन्। वीरगन्जको मेयरको टिकटका लागि श्रीवास्तव राजपा छाडेर विजय गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए।

यस्तै, नेकपा एमाले र माओवादीको वाम गठबन्धनले पर्सा १ बाट पूर्वसांसद् विचारी यादव, पर्सा ३ मा राजकुमार गुप्तालाई उम्मेदवार बनाएको छ। यस्तै, पर्सा ४ बाट माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई टिकट दिएको छ। पर्सा २ पनि माओवादीकै भागमा परेको छ। तर, उम्मेदवारको निश्चित भइसकेको छैन।

क्षेत्र नं ४ मा वाम गठबन्धनकी उर्मिला अर्याल, राजपाका कर्ण र कांग्रेसका रिजालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तुलनात्मक रुपमा वाम गठबन्धन बलियो देखिन्छ।

क्षेत्र ३ मा फोरम नेपालबाट टिकट लिएका पप्पु कन्सट्रक्सनका पूर्व सञ्चालक हरिनारायण रौनियार, एमाले नेता गुप्ता र कांग्रेसका चौधरी मुख्य प्रतिस्पर्धी हुन्।  नवप्रवेशी हरिनारायणको जित सहज छैन्। थारु समूदायको बाहुल्य रहेको यो क्षेत्रमा कांग्रेसका चौधरी जितमा बढी ढुक्क देखिन्छन्।

क्षेत्र नं २ मा कांग्रेसका अजय चौरसिया र फोरम नेपालका विमल श्रीवास्तव मुख्य प्रतिस्पर्धी हुन्। चुनावैपिच्छे दल फेर्ने आरोप लागेका श्रीवास्तवको तुलनामा चौरसियालाई चुनावी वातावरण केही सहज छ। वाम गठबन्धनले अहिलेसम्म उम्मेदवार नै चयन गरेको छैन।

पर्सा १ मा फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव र कांग्रेस उम्मेदवार व्यवसायी अनिल रुगटाबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। व्यवसायी रुगटालाई मारवाडी समूदायको साथ छ। मधेस आन्दोलनको नेतृत्व गरेका यादव पनि वीरगन्जमा कमजोर छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell