भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मुख स्थानीय तहको संख्या थप्न खोजेर सरकारले विवाद निकाल्न खोजेको बताएका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले तराईमा निर्वाचन हुन नदिने षड्यन्त्रका रुपमा सरकारले स्थानीय तह थपेर विवाद निकाल्न खोजेको आरोप लगाए ।
उनले धेरै दलले निर्वाचनका लागि उम्मेदवार तोक्ने काम भइसकेको अवस्थामा स्थानीय तहको संख्या थपेर विवाद ननिकाल्न सरकारलाई आग्रह गरे ।
अध्यक्ष ओलीले देश जोगाउने र बनाउने कुरामा एमालेले कसैसँग कुनै सम्झौता नगर्ने बताए । उनले निर्वाचन जित्नका लागि सरकारले अवैधानिक तवरले धाधली गर्ने, मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यले अर्बौं रकम बाँडेको आरोपसमेत लगाए। रासस