- समाचार टिप्पणी -
जनयुद्धकाल र शान्तिकालको पनि लामो समय प्रचण्ड र केही समय वैद्य माओवादीमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र कमल थापा नेतृत्वको राप्रपाले कालिकोटका धनरुप बटालालाई एकै स्तरमा आआफ्नो शहीद दाबी गर्नु निकै रोचक पक्ष हो। यसको रणनीति र पर्दाभित्रका तथ्यहरुको गहिराई त समयक्रममा नै पुष्टि हुँदै जालान् तर चुनावै नमान्ने विप्लव र चुनावमा चोक्टा खान जाँदा झोलमा डुबी मरेको भने झैं नियतिमा परेका थापाको बटालामाथिको समान दावी पहिलो चरणको सफल स्थानीय तह निर्वाचनको एक स्मरणीय पाटो हो।
यसबाहेक स्थानीय निर्वाचनमा अनपेक्षित हारपछि पहिलो पटक बसेको राप्रपा केन्द्रीय समिति बैठकले निकालेको निष्कर्ष पनि पार्टीले आफ्नो आंगमाथिको भैसी नदेखेको तर आलोचकहरुको आंगमाथिका जुम्रा गन्न मेहनेत गरेको भनाई बिर्साउने खालका नै छन्। तुलनात्मक रुपमा कमजोर संगठन, साधन श्रोतको कमी एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानबारे योजनावद्ध ढंगले सिर्जना गरिएको भ्रमका कारण अपेक्षित परिणाम नआएको राप्रपा केन्द्रीय समिति बैठकको निचोडले उसले बिगतमा पार्टी नीति एकातिर र सत्तामुखी राजनीतिको व्यवहार अर्कोतिर गर्ने नेतृत्वको द्वैध चरित्रको बचाउ मात्रै हो।
केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिए झैं पार्टीले ‘निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न एवं संगठनको प्रभाव विस्तार गर्न सक्षम भएकोमा बैठक सन्तोष प्रकट गर्दछ’ भन्ने नै राप्रपाको ठहर र भोलिको कार्यनीति हो भने पक्का छ ऊ थप ओरालो राजनीतिक यात्राकै यात्री हुनेछ।
किनभने राप्रपाले राजसंस्था र हिन्दुत्वका बारेमा जनतालाई पार्टीको विधान र दस्तावेजमा बुझाएकोमा गर्व गरिरहँदा उसले त्यही विधान र दस्तावेजका आधारमा जनताको मत नपाएको कारणको खोजी केन्द्रीय समिति बैठकबाट गरेन। आखिर किन ? राप्रपाले आफ्ना नीति अनुसारको व्यवहार देखाएको भए किन गृहनगर मकवानपुरमा कमल थापाकै प्रभाव कमजोर भयो? गत २०७० को संविधानसभा चुनावमा उपत्यकामा दोस्रो दलको हैसियतमा समानुपातिकतर्फ ठूलो दल बनेको राप्रपा किन यो चुनावमा कुनै पनि वडामा बलियो प्रतिष्पर्धीसम्म पनि बन्न सकेन त? स्वतन्त्र उम्मेदवारका रुपमा डा. प्रकाशचन्द्र लोहनीका उम्मेदवार दुई स्थानमा जित्न सफल हुँदा राप्रपाले देशभर पहिलो चरणमा एक स्थानमा मात्रै प्रमुख जित्नुको रहस्य नखोज्नु निकै विडम्वनापूर्ण हो ।
यसको कारण खोजी गर्न ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटी बनाएर राप्रपा सुध्रिन खोजेको हो भने त बेग्लै कुरा हो तर प्रधान कमिटी पनि सोमवारको केन्द्रीय समिति वैठककै निष्कर्षको विस्तृतिकरण र बचाउमा केन्द्रित हुने हो भने राप्रपाले टाउको दुखेको ओखती पेटमा गर्न खाजेकै प्रमाणित हुनेछ । किन भने राप्रपाको नीतिलाई मात्रै होईन नीति विपरीतको सत्तामुखी राजनीति र गणतन्त्रभक्तिको भावलाई बुझेर नै मतदाताले राप्रपालाई पहिलो चरणको स्थानीय चुनावमा साइजमा ल्याएका हुन् भन्ने स्पष्टै छ।
राप्रपाले पार्टी केपी ओली नेतृत्वको र प्रचण्ड नेतृत्वको सरकारमा समान रुपमा सहभागी हुनुको औचित्य साबित गर्न चुक्दा नै पराजयको यो हदसम्म झरेको तथ्यको समीक्षा नै गरेको देखिएन। राप्रपाले पार्टी नीति विपरित संविधान निर्माणदेखि यसको कार्यान्वयनसम्ममा देखाएको नेतृत्वदायी भुमिकाको पनि समीक्षा नै गरेको छैन।
प्रचण्ड सरकारमा छोटो अवधिका लागि सत्तासहकार्य गर्ने पार्टी अध्यक्ष थापाको निर्णय र चुनावका केही दिन अघि मात्रै सत्ता छोड्ने निर्णयले पारेको घातक प्रभावको पनि समीक्षा गरेन। कि त चुनावी आचारसंहिता लागू भैसकेपछि पनि प्रचण्ड सरकारमा सामेल हुने निर्णय नै गलत थियो कि सत्ता छोड्ने निर्णय घातक थियो। तर त्यसको तार्किक समीक्षा पनि राप्रपाले गरेको छैन।
प्रचण्ड सरकारबाट हात झिक्ने तर आफ्नै पार्टीका दर्जन बराबर सांसदले नमान्दा र गत वैशाख १७ को संसद बैठकमा अप्रत्याशित रुपमा दर्जन बढी सांसद रहस्यमयी रुपमा संसद बैठकमा अनुपस्थित भई संविधान संसोधनको विपक्षमा उभिँदा पनि राप्रपा संविधान संसोधनकै पक्षमा रहेको पार्टी नेतृत्वको द्धैध नीतिप्रति मतादेशले दिएको झट्कालाई पनि राप्रपाले ध्यान दिएको देखिएन। सत्ताबाट भाग्ने तर संसोधनका पक्षमा उभिने निर्णयको औचित्य जनतामा स्थापित गर्न चुकेको कुरामा मौन बस्नु पनि केन्द्रीय समिति वैठकको बुझिनसक्नु मौनता हो।
सामान्यतया पार्टीले अनपेक्षित चुनावी हार व्यहोरेपछि नैतिकताका आधारमा नेतृत्वले पदत्याग गर्छन । पहिलो संविधान सभा चुनावमा एमालेको अनपेक्षित हारपछि तत्कालिन १५ वर्षे एमाले महासचिव माधवकुमार नेपालले पनि महासचिवबाट राजीनामा दिएका थिए,भलैपछि उनी वाचा विपरित सत्ता र नेतृत्वमा गए । तर दक्षिणपन्थी कित्ताको एक्लो वृहस्पतिका रुपमा आफूलाई पेश गर्न रुचाउने कमल थापाले नैतिकताका आधारमा हारको कारक नेतृत्वको कमजोरी भएको तथ्यलाई कहीँ कतै स्वीकार गरेको सन्देश पनि पछिल्लो केन्द्रीय समिति बैठकमार्फत् दिन सकेनन्। शायद कमल थापा र नैतिकताको कहिल्यै भेट हुन सक्दैन भन्ने पुर्नपुष्टि उनले फेरि गरिरहेका छन्। पार्टीको विधान र दस्तावेजमा राजसंस्था र हिन्दुत्वको नारा नछोडेका तस्वीर ट्विट गरेर उनले आफ्नो सत्तामुखी नेतृत्वको बचाउ गरे पनि त्यसलाई मतादेशबाट स्वीकृत गराउन नसक्नुमा आफ्नो कमजोरी हो भन्ने अझै आत्मासात गर्न सकेको देखिएन।
कम्युनिष्टहरुले पार्टीका दस्तावेजहरुमा साम्यवाद प्राप्तीको लक्ष्य राखेर संसदीय राजनीतिमा चुर्लुम्म डुब्ने गरेकै नियतिमा राजसंस्था र हिन्दूवादी भनिने पार्टी राप्रपा गणतान्त्रिक भासमा भासिइसक्दा अझै जमीनमा नै रहेको भ्रममा रहेको र जनताको परीक्षामा फेल खाएको तीतो सत्य अझै नेतृत्वले नबुझेको हो कि बुझ पचाएको हो भन्ने निकै घतलाग्दो पक्ष हो।
राप्रपाले काठमाण्डौं र ललितपुर महानगरपालिकामा मुख्य विपक्षी दल नेकपा एमालेसंग गरेको चुनावी तालमेल पनि फलदायी भएन । काठमाडौँमा राप्रपाका उपमेयर राजाराम श्रेष्ठले एमालेका जित उन्मुख मेयर प्रत्याशी विद्यासुुन्दर शाक्यका तुलनामा आधा कम मत ल्याइरहेको तथ्यले भन्छ, एकै प्रजातिका दलको चुनावी तालमेल ठूलो माछाले सानो माछालाई खाइदिने र कांग्रेसकी उपमेयर प्रत्याशी हरिप्रभा खड्गीलाई जीतको चिठ्ठा भएको छ । तर आफूलाई कथित दक्षिणपन्थी राष्टवादको पर्याय दावी गर्ने राप्रपाले अर्को कथित वाम राष्ट्रवादको पर्याय दावी गर्ने एमालेसँगको चुनावी तालमेल अफापसिद्ध र आत्माघाती साबित भएको तथ्यमो पनि मिहिन समीक्षा गरेन। असफल चुनावी तालमेलको पनि तार्किक समीक्षा बिना नै केन्द्रीय समसत वैठक सम्पन्न गरर राप्रपा त्रुटीहरु थप्ने दौडमा व्यस्त देखिँदैछ।
दोस्रो चरणको चुनावी तयारीका लागि सबै केन्द्रीय नेतालाई स्थानीय थातथलोमा डेरा जमाउन गरिएको उर्दीले कति सकारात्मक प्रभाव पार्ने हो, त्यो भने ३१ जेठ पछिका दिनमा नै स्पष्ट हुनेछ । राप्रपा र राप्रपा नेपालको गत फागुनको एकता र कोमल वली वा रेखा थापाहरुको पार्टी प्रवेशसम्मका अभ्यासका बीच राप्रपा सांगठानिक रुपमा मोटाउन नसकेको तर सुन्निएकै भ्रममा बाचेको तथ्य मतादेशको स्पष्ट पार्दा पनि राप्रपा नेतृत्वकै बचाऊमा उत्रनु भने अचम्मको पक्ष हो ।