PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सरस्वती : भृकुटीमण्डपको छाप्रो पसलबाट कीर्तिपुर उपमेयरको 'हटसिट'सम्मको यात्रा



आकाश क्षेत्री

सरस्वती : भृकुटीमण्डपको छाप्रो पसलबाट कीर्तिपुर उपमेयरको 'हटसिट'सम्मको यात्रा

काठमाडौं : हरियो पालभित्र भृकुटीमण्डपलाई आधा फन्को लगाएर तन्किएको सस्तो बजारलार्इ तन्नेरीहरु 'ब्लु कम्प्लेक्स' भनेर चिन्छन्। सस्तोमा फेसनेवल पोशाक खोज्नेहरुको गन्तव्य नै हो यो। सस्तो बजारमा ४ सयभन्दा बढी पसल छन्। ब्लु कम्प्लेक्स' क्षेत्र नम्बर २ को एक कुनामा ४० नम्बरको पसल छ। यो पसल सरस्वती खड्काको नाममा छ। महिना दिनअघिसम्म पनि यहाँ सरस्वती सामान किन्न आउने ग्राहक सँग बार्गेनिङ गरिरहेकी भेटिन्थिन्।

सर्वहाराले किन्न सक्ने बजारकी साहुनी सरस्वतीको पहिचान स्थानीय तहको निर्वाचनले भने फेरेको छ। भृकुटीमण्डपलाई घेर्ने गरिबहरुको खुला बजारकी साहुनी सरस्वती दक्षिण पश्चिम काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपमेयरमा रुपान्तरित भएकी छिन्।

 

बन्द पसल पुग्दा    

सरस्वती कीर्तिपुरको उपमेयर निर्वाचित भएपछि उनको पसलमा पुग्दा ४० नम्बरको पसल त त्यहीँ थियो तर, सामान थिएन। यहाँ अरु व्यापारीले झै सरस्वतीले पनि बिहानै सामान ल्याएर पसल झकिझकाउ पार्थिन्, साँझ परेपछि उठाएर गोदाममा पुर्‍याउँथिन्। त्यो क्रम चुनावयता टुटेको छ। उनलाई फोन गर्दा कीर्तिपुर नै जान निम्तो मिल्यो। उनी र्‍यालीमा सक्रिय थिइन्। अबिर र मालाले छपक्कै उनको विजययात्राकै बीचमा हामीले उनको समय चोर्‍यौं। र, सुरु भयो एउटा फरक राजनीतिक यात्राको कथा उनकै मुखबाट :

म रसुवा जिल्लाको विकट पहाडी भेगमा जन्मिएर हुर्किएकी चेली हुँ। ३८ सालमा जन्मिएकी म २०५१ सालदेखि नेपालको राजनीतीमा आवद्ध छु। कक्षा ६ बाटै। रसुवाबाट ५१ सालमा अनेरास्ववियुको सदस्य बनिरहँदा म किन राजनीतिमा जाँदैछु भन्ने थाहै थिएन।


मैले विद्यालय तहको अध्ययन सकिएपछि काठमाडौंको रत्नराज्यलक्ष्मी कलेजमा पढेँ। रत्नराज्यलक्ष्मी कलेजमा अध्ययनबाट मेरो राजनीतिक बाटो अझै खुल्ला हुन थाल्यो। विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुन थालेँ। अखिलको राजनीतिपछि नेपाल महिला संघमा साधारण सदस्यको पदमा रहेर काम गरेँ। सामुदायिक वनको संस्थागत विकासमा पनि लागेँ।

 

१७ वर्षमै बिहे

उहाँसँग जागिरको सिलसिलामा रसुवा हुँदा भेट भयो। एसएलसी दिएकै वर्ष जतिखेर म १७ वर्षको थिए, बिहे भयो। म अहिले जुन स्थानमा छु त्यो सबै मेरो श्रीमान् र मेरो परिवारको सहयोगले सम्भव भएको हो। त्यतिबेला कीर्तिपुरबाट एकदमै थोरै छोरीहरु पढ्न कलेज जाने गर्दथे। म बुहारी भएर पढ्न जान्थेँ। मेरा ससुराले गाडी भाडा र खाजा खाने पैसा दिएर मलार्इ कलेज पढाउनुहुन्थ्यो।

मैले एक कदम हिँड्दा मेरा श्रीमान मलार्इ जहिले पनि चार कदम हिड्न साहस प्रदान गर्नुहुन्छ। म उहाँहरु सबैप्रति सँधैभरि आभारी छु। 

 

किन राजनीति?

मेरो राजनीतिको मुख्य सार भनेको परिर्वतन नै हो। विभिन्न कारणले नेपालको राजनीतिले देशको विविध पक्षमा परिर्वतन गर्न सकेको छैन देशको परिर्वतन गराउने नै मेरो मुख्य सपना हो। महिला हिंसाको अन्त्य सँगै हामी नेपाललार्इ नयाँ मोड दिने कोसिस गर्नेछौँ।

हामीले निर्वाचनभन्दा पहिले पनि विभिन्न खाले नयाँ एजेन्डा ल्याएका छौँ तिनै एजेन्डा पूरा गर्नेछौँ। कीर्तिपुरलार्इ पर्यटकीय गन्तव्य बनाउने हाम्रा एजेन्डा हुन्। त्यसैले मेरो राजनीति भनेको परिर्वतनका लागि हो।

कीर्तिपुरबासीले मलार्इ अमूल्य मतदात गरी जिताउनु भएको छ। त्यसैले म हरदम उहाँहरुको भलाईका लागि काम गर्नेछु।


अब घर व्यवहारको जिम्मा श्रीमानलार्इ

म कीर्तिपुरको उपमेयरमा निर्वाचित भएपछि मेरा अरु जिम्मेवारी पनि हुन्छन्। घरको काम गर्न समय निकाल्न सक्दिन होला। यसमा मेरा श्रीमानले सहयोग गर्नुहुनेछ। हाम्रा दुई सन्तान छन् जसको जिम्मा अब श्रीमानको हुनेछ।

हाम्रो घरको मुख्य आयस्रोत भनेको ब्यापार नै हो। काम ठूलो सानो हुँदैन। श्रीमान र म मिलेर भृकुटीमण्डपको सस्तो बजारमा व्यापार गरेका छौँ।

चुनावको व्यस्तताले पसल चलाउन सम्भव भएन। अब म व्यापारमा लाग्ने समय रहेन। किनकि, नगरपालिकाको कामले व्यापारमा लाग्न पाउँदिन। त्यो व्यापारलार्इ मेरा श्रीमानले निरन्तर अगाडि बढाउनुहुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell