दोलखा : पञ्चायतदेखि नै बाम बर्चस्वको किल्लाका रुपमा स्थापित पूर्वी पहाडी जिल्ला दोलखामा संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमाले नै बहुमत स्थानमा विजयी भएको छ। तर २०५४ को स्थानीय निकाय चुनावमा एकलौटी विजय हासिल गरेर दोलखाको भूगोलमा सत्तारुढ हैसियतमा रहेको नेकपा एमाले ३१ वैशाख २०७४ को स्थानीय तह निर्वाचनमा भने मुस्किलले मात्रै बहुमतमा स्थापित हुन सक्यो। संख्याका हिसावले यो एमालेको कमजोर चुनावी परिणाम होईन तर एमालेको ‘लालकिल्लाको विल्ला’ भने हल्लिदै गएको छ।
वर्तमान संसदमा पार्टीबाट तीन सांसदहरु क्षेत्र नं. १ बाट पार्वत गुरुङ, क्षेत्र नं. २ बाट आनन्दप्रसाद पोखरेल र समानुपातिकतर्फ पशुपति चौलागाईले प्रतिनिधित्व गर्ने जिल्लाको ताजा चुनावी परिणाम एमालेको पूर्व प्रभाव जोगाउनै हम्मे–हम्मे परेको परिस्थिति माझ आएको छ। सांख्यिक हिसावले २ नगरपालिकामध्ये पर्यटकीय नगर जिरी र सदरमुकामको भीमेश्वर नगरमा एमालेले प्रमुख तथा उपप्रमुखसहित बहुमत वडा सदस्यमा विजय हासिल गरेको छ। यस्तै ३९ वडामा पनि एमाले उम्मेद्धवारहरु नै विजयी भएका छन्।
केन्द्रको मुख्य सत्तारुढ दल कांग्रेसले दोलखामा जम्मा १८ वडामा आफ्ना उम्मेद्धवारहरुलाई विजय हासिल गराएको छ। सत्ता नेतृत्वको दल माओवादी केन्द्रले जम्मा १० वडामा मात्रै वडाध्यक्षमा पार्टी उम्मेद्धवारलाई विजयी गराउन सकेको छ।
२ नगरपालिकासहित ७ गाउँपालिकामध्ये पनि मुख्य सत्तारुढ दलद्धय कांग्रेस–माओवादी गठबन्धनले जम्मा २ गाउँपालिका प्रमुख र उपप्रमुखमा संयुक्त जीत हासिल गरेको छ । केन्द्रमा कांग्रेस र माओवादी केन्द्रले गरेको सत्ता साझेदारी जस्तै स्थानीय तह निर्वाचनमा तालमेल गरेर एमालेको स्थापित शक्तिविरुद्ध भिडेका कांग्रेस माओवादी केन्द्रका उम्मेद्धवारहरुले मुस्किलले विजय हासिल गरेका छन। कांग्रेस माओवादी गठवन्धनले बैतेश्वर र विगु गाउँपालिकामा प्रमुख र उपप्रमुखमा विजय हात पारे पनि गौरीशंकर, शैलुङ र तामाकोशी र कालिन्चोक गाउँपालिकामा टक्कर दिने बाहेक बलियो चुनौती खडा गर्न वा एमालेको विजयलाई रोक्न सकेनन्। २ नगरपालिकासहित ३९ वडामा वाडाध्यक्षहरु जितेका कारण दोलखाको स्थानीय सरकार संचालनमा एमाले सुविधाजनक बहुमतमा छ। तथापि २ गाउँपालिका प्रमुख-उपप्रमुख र दुबै दलका गरी २८ वडाध्यक्षहरुको निर्वाचित शक्तिले दोलखा एमालेको नेतृत्वको स्थानीय सरकारलाई बलियो टक्कर भने दिनेछन्।
तामाकोशीको उर्जा परीक्षा
दोलखालीको जीवन दैनिकीमा नै आमूल परिवर्तनको जग हाल्दै गरेको र नेपालकै विद्युतीय उर्जा उद्योगमा स्वदेशी लगानीको एक उन्नत सफल नमूनाका रुपमा निर्माण पूरा हुनै लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कारण जसरी दोलखा र तामाकोशी चर्चित छन, त्यसैगरी एमाले दोलखाका लागि तामाकोशी गाउँपालिका पनि राजनीतिक र रणनीतिक रुपमा महत्वपूर्ण थियो। राष्ट्रिय गौरवको आयोजनाका रुपमा तामाकोशीको गरिमा र महत्व रहे झैं एमालेका लागि जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्वयं उम्मेद्धवारी दिएका कारण दोलखाको तामाकोशी गाउँपालिका एमालेको जीतका लागि स्थानीय पार्टी नेतृत्वका लागि विशेष परीक्षा नै हुन पुगेको थियो।
यो परीक्षामा निकै मुस्किलले मात्रै पार्टी जिल्ला अध्यक्ष पोखरेलले विजयको ताज पहिरिएका छन्। उनले तामाकोशी गाउँपालिकामा करिव हजार मतको अन्तरमा मात्रै जित्न सफल भए। उनले भिरकोट, झुलेमा गुमाएको मतादेश गृहगाउँ जफेबाट मात्रै बिस्तारै सुधार गर्न सके। मालु, शहरे, च्यामा र हावामा उनले थोरै–थौरै मतले मात्रै आफ्ना प्रत्यासी भवेन्द्र कार्कीलाई पछि पार्न सके।
३१ वैशाखमा आफ्नो मतदान केन्द्रमा समेत बस्नै नसक्ने गरी भाग्न विवश भएका पार्टी अध्यक्ष पोखरेलका लागि चुनावी जीतको आशा कमै थियो। उनले पुनः चुनावका माग समेत गरेका थिए भने एमाले केन्द्रले पनि पोखरेलको बोलीमा लोली मिलाएकै थियो। तर अन्तिममा भने पुनः मतदान नगरी चुनाव स्वीकार गरे। जफे गाविसका पूर्वध्यक्ष समेत रहेका ईश्वरचन्द्र पोखरेल वा हाल क्षेत्र नै २ का सांसद् र पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलकै गृहगाउँमा कांग्रेसका वडाध्यक्ष रामप्रसाद काफ्लेको विजयले रणनीतिक र राजनीतिक रुपमा एमालेलाई जफेमा निकै ठूलो सवक सिकाएको पनि मतादेशले देखाएको छ। एमाले जिल्लाको नेतृत्वदेखि केन्द्रीय मन्त्रीको प्रतिनिधित्व गर्ने जफेमा वडाध्यक्षमा कांग्रेसका काफ्लेको विजयले एमालेको पकड क्षेत्रमा प्रभाव कमजोर भएको जनाउ दिएको छ।
यद्यपि गाउँपालिका अध्यक्षमा एमालेका ईश्वरचन्द्र र वडाध्यक्षमा कांग्रेसका रामप्रसादको विजयले जफेबासीले दुई ठूला दलको स्थानीय सत्तामा सहकार्यका लागि म्यान्डेट दिने विवकेसम्मत फैसला दिएको पनि मान्न सकिन्छ। झुले र जफेमा कांग्रेस माओवादीले बुथ कव्जा गरेको आरोप एमालेले लगाए पनि पहिलेका चुनावहरुमा एमालेले गर्ने गरेकै हर्कतहरु यसपटक कांग्रेस माओवादीले गरेका कारण भने यसैले मात्रै चुनावी गणितमा ठूलो फरक पारेको मान्न सकिन्न। बरु जहाँ आफ्नो शक्ति त्यहीँ वर्चस्व स्थापित गर्ने गरी एमालेले सिकाएको बाहुबली चुनावी प्रदर्शनको एमाले काइदालाई अब कांग्रेस माओवादीले संगठित रुपमा नै सक्कल बमोजिम नक्कल गर्न खोजेको तथ्य यस पटक देखियो। एमालेले तामाकोशी गाउँपालिकामा जीतका बावजुत गुमाएको जनाधार के हो भने उसले अबका दिनमा पनि कांग्रेस र माओवादी एक्ला एक्लै नभएसम्म स्वतः जीतको सपना देख्न छाडे हुने भएको मात्रै छैन भावी दिनमा माओवादी कांग्रेससँग टक्करका लागि नयाँ तरिका खोज्नुपर्ने देखिएको छ।
जिरीमा उदाएको सूर्य : सत्तारुढ दलको बेमेलको व्याज
चुनावको एकाध महिनाअघि दशकौं लामो कांग्रेसी राजनीतिक जीवनमा क्रमभंगता गर्दै एमालेमा प्रवेश गरेका टंक जिरेललाई उम्मेद्धवार बनाएकै कारण विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेशद्धार मानिने जिरीमा एमालेको सूर्य उदाएको हो। टंक जिरेल बाहेकका कुनै पनि उम्मेद्धवार हुन्थे भने जिरीमा एमालेको झण्डा फहराउने मतादेश जिरीवासीबाट पाउनु एमालेका लागि हम्मेहम्मे थियो। एमालेमा आउने बित्तिकै टंक जिरेललाई नै उम्मेद्धवार बनाएका कारण जिरीको जीत टंक जिरेलको पौरखमा एमालेको गौरव थपिएको भन्दा अतिशयोक्ति हुनेछैन।
यस्तै केन्द्रमा र जिल्लाकै अन्य स्थानमा तालमेलमा उत्रेका कांग्रेस माओवादी केन्द्रले जिरीमा भने तालमेल गर्न नसक्नुको व्याजी परिणाममा पनि जिरीमा एमालेको जीत सुनिश्चित भएको हो। पहिलोपटक नगरपालिका बनेको जिरीमा वडा नम्वर २ र ५ मा माओवादी केन्द्र र १ मा नेपाली कांग्रेसले पाएको वडाध्यक्षको सफलता नै एमालेले मेयर र उपमेयरसहित वडा ३, ४, ६, ७, ८, र ९ मा पाएको वडाध्यक्षको विजयमा पनि चुनौतीपूर्ण सफलता हो। भावी दिनमा माओवादी कांग्रेस मिलेका हदसम्म जिरीमा एमालेको वर्चस्व कायम रहनेमा भने चुनौती थपिएको छ, भलै एमालेले स्थानीय सरकार सञ्चालनमा सुविधाजनक बहुमतको मतादेश पाएकै छ।
भीमेश्वरमा जोगिएको एमाले किल्ला
जिल्ला सदरमुकाम चरिकोटका राज्य संयन्त्रका सबै निकायको पनि प्रत्यक्ष सेवास्थल रहेको भीमेश्वर नगरपालिकाका प्रथम मेयरका रुपमा जिल्लाका ख्यातीप्राप्त शिक्षक तथा सामाजिक अभियन्ता चोकबहादुर दाहालले फहराएको एमालेको लाल झण्डालाई संघीय गणतन्त्रकालको पहिलो चुनावी समरमा दोहोर्याउन सक्नु नवनिर्वाचित मेयर भरत केसीको ठूलो उपलव्धि हो। एमालेका २०४६ पछिका स्थानीय रैथाने नेताका रुपमा उनले आफू मात्रै जितेका छैनन्, वडा नम्वर २ र ३ बाहेक सबैमा पार्टीलाई जिताएका छन्। यस अर्थमा ‘क्लिनस्वीप’ गर्न चुके पनि भरतले भीमेश्वरलाई एमालेको गढकै रुपमा पुन:स्थापित गरिरहँदा कांग्रेसले वडा नम्वर २ र ३ मा बिउमात्रै जोगाएको छ। माओवादी केन्द्र सदरमुकाकामको नगरपालिकामा पत्तासाफ भएको छ ।
कांग्रेससंग मिलेर लडेको माओवादीले कुनै पनि वडामा हात पार्न नसकेको जीत उसका लागि चरिकोटका स्थानीय रैथानेको मन जित्न धेरै मेहनेत गर्न बाँकी सन्देश हो । कांग्रेसका लागि चरिकोटमा नेता थुप्रिएर मात्रै पुगेन बरु स्थानीय जनताको दैनिक जीवनसँग जोडिएका हर समस्याहरुको समाधानमा थप सक्रिय सहभागिता जोडिनुपर्छ भन्ने मतादेश पनि हो ।
राणनीति र राजनीतिक हिसाबले कांग्रेस जस्तो पुरानो दल चरिकोटको भीमेश्वर नगरमा २ वटा वडाध्यक्षमा मात्रै सीमित रहनु दलका एक से एक प्रभावशाली नेताहरु ताराबहादुर कोइराला, चित्रबहादुर कार्की, माधवमणी राजभण्डारी, दिव्यमणी राजभण्डारी, उद्धव काफ्ले, जीपछिरिङ शेर्पा, सभापति रुद्र बहादुर खड्का जस्ता केन्द्रीय राजनीतिमा नै प्रभाव राख्ने नेताहरुकै लागि पनि झट्का हो।
जुँगु हत्याकाण्ड माओवादीलाई व्याकफायर
कुनै बेला दोलखामा पनि माओवादी छन् र भनेर एमालेहरुले हातका औला भाँच्ने जिल्ला दोलखामा माओवादीले संविधानसभाको पहिलो चुनाव २०६४ मा भारी मतले अप्रत्याशित विजय हासिल गरेको थियो। जिल्लामा पार्टीको स्थापना र शक्ति बिस्तार गर्दागर्दै युद्धकालमा नै पार्टीभित्रैको अन्तरविरोधका कारण मारिएका रितबहादुर खड्काको सुरुवाती योगदान र नेतृत्वमा स्थापित दोलखाली माओवादीले पहिलो संविधानसभाको मतादेश दोस्रो संविधानसभा चुनावसम्म पनि टिकाउन सकेन। फलतः पूर्वमन्त्री समेत भैसकेकी स्व. रितबहादुरकी बहिनी देवी खड्काले समेत जिल्लामा पार्टीको भूमिका र शक्ति बिस्तारलाई विजयको नजिक पुर्याउन सकिनन्। केन्द्रीय सदस्य रहेकी देवीलाई यो पराजय अर्को झट्का पनि हो व्यक्तिगत र राजनीतिक रुपमा समेत।
संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय तह चुनावको यो सफलता माओवादी केन्द्रको युद्धकालीन सपनाको साकार रुप हो। तर त्यही पार्टी नीतिको विजयलाई दोलखाली मतदाताको मतबाट आफ्ना उम्मेद्धवारलाई स्वीकृत गराउन नसक्नु भने माओवादीको जिल्ला नेतृत्वको निकै ठूलो सांगठानिक क्षति पनि हो। देवी खड्काका अलवा विशाल खड्का, गंगा कार्की जस्ता प्रभावशाली नेताहरुले पहिलो चरणको स्थानीय चुनावमा पार्टीलाई तेस्रो स्थानमा पनि मुस्किलले मात्रै स्थापित गराउनु उनीहरुको पार्टीको ओरालो यात्रामा लागेको सानो व्रेक मात्रै हो। आशालाग्दो भविश्को शुभसंकेत होइन।
खासगरी चुनावको मुखमा देवी, विशालको गृहगाउँ अर्थात दाजु स्व. रितबहादुरको घर गाउँमा एमाले कार्यकर्ताको माओवादी कार्यकर्ताबाट हत्या भएपछि नै यस पटकको चुनावमा माओवादी विरोधी जनमत दोलखामा बढेको देखियो। एमालेका आनन्दप्रसाद पोखरेलाई नै टक्कर दिने गरी २०७० को संविधानसभा चुनावमा माओवादीका जिल्ला अध्यक्ष समेत रहेका विशालले ल्याएको मत समेत जोगिएको सन्देश यो चुनावी परिणामले देखाएन। माओवादी हारका अनेकन कारण होलान मूलतः उसलाई जुँगु हत्याकाण्डको मनोवैज्ञानिक र राणनीतिक व्याकफायर भएकै हो। किनभने जनयुद्धकालका कठोर माओवादी कारवाहीहरु भुलेका दोलखाली मतदाताले शान्तिकालमा पनि माओवादीको कारण मानिसको ज्यान गएको तथ्यलाई क्षमादान दिएनन्। नतिजा यो हदसम्म रक्षात्मक अवस्थामा दोलखामा माओवादी खुम्चिन पुग्यो।
जितेर पनि हारेको एमाले
नेपालकै बाम आन्दोलनमा झापापछि दोलखा नै एमालेको किल्ला भनिँदै आएको परिवेशमा अहिले एमालेले पाएको सफलता उसको स्थानीय सरकारमा ढलीमली गर्ने वैधानिक जनादेश मात्रै हो। तर, एमालेको लालकिल्लामा भने क्रमभंगता हुँदै गएको वा खिया पर्न थालेको अशुभ संकेत हो। धेरै दोलखाली एमालेवालाहरुलाई यो कुरा तीतो लाग्ला तर एमालेमा केन्द्रदेखि झाँगिएको गुटबन्दी, प्रखर नेताहरुलाई किनारा लगाइहाल्ने संस्थापनको संकीर्ण नीति र सबैजसो नेता कार्यकर्तामा कमाई खाने संस्कृति बढेका कारण यो पटकको चुनावी परिणाम जीतका वावजुद पनि एमालेका लागि एक प्रकारको शक्ति क्षय र एकहदसम्म शक्ति प्रभावको हार हो।
ईन्द्रबहादुर खड्का, जीतवीर लामा, वांग्छे शेर्पा जस्ता दोलखा एमालेका संस्थापक धरोहरहरुलाई पार्टीमा जोगाइराख्न नसकेको दोलखा एमालेले पशुपति चौलगाई, लालकुमार केसी, बसन्तराज कार्की, महेन्द्रबहादुर कार्कीलगायतका प्रभावशाली नेताहरुलाई कुनै न कुनै रुपमा किनारा पार्ने संकीर्ण सोच र व्यवहार नदेखाएको भए एमाले अहिले यो साइजमा खस्कनुपर्ने थिएन। विष्णुहरि नेपाल, रबिन्द्र कार्कीलगायतका धेरै पूर्वएमाले वर्तमान नेतृत्वको कहर र पेलाइले नै बाहिरिए भने धेरै नयाँ एमालेहरुलाई कहिले पशुपति चौलगाईका मान्छे भनेर त कहिले महेन्द्र कार्कीका मान्छे भनेर ओझेलमा पारिएको परिणाम पनि हाल जितेर पनि एमाले ढुक्कसँग दोलखा जिल्ला एमालेको लालकिल्ला भन्न नसक्ने हैसियतमा झरेको छ। खासगरी जसै दोलखा एमालेमा ओलीपन्थी भनेर आनन्द प्रसाद पोखरेलको हैकम बढ्दैछ, उसैगरी एमालेको जनतासँगको प्रत्यक्ष प्रभाव भने खस्कदै गएको छ भन्ने ताजा उदाहरण पनि हो यो चुनावी नतिजा । २०४९ र २०५४ का स्थानीय चुनावमा जितेको एमालेका धेरै नेता कार्यकर्तामा हुर्किएको कमाउपन्थले उनीहरुको लडाकु र बलिदान भावको संघर्ष क्षमतामा पनि ह«ास ल्याएको उदाहरण पनि हो यो चुनावी परिणाम।
दोलखामा कुन दलको कहाँ वर्चस्व ?
१ जिरी नगरपालिका
प्रमुख : टंक जिरेल (एमाले)
उपप्रमुख : कृष्णकुमारी बुढाथोकी (एमाले)
२ बैत्यश्वर गाउँपालिका
अध्यक्ष : छबी लामा (काँग्रेस)
उपाध्यक्ष : रविचन्द्र आचार्य (माओवादी केन्द्र)
३ विगु गाउँपालिका
अध्यक्ष : युधिष्ठिर खड्का (काँग्रेस)
उपाध्यक्ष : सञ्जीव ओली (माओवादी केन्द्र)
४ कालिञ्चोक गाउँपालिका
अध्यक्ष : विनकुमार थामी (एमाले)
उपाध्यक्ष : कालिका पाठक (एमाले)
५ भीमेश्वर नगरपालिका
प्रमुख : भरत केसी (एमाले)
उपप्रमुख : कमला बस्नेत (एमाले)
६ तामाकोशी गाउँपालिका
अध्यक्ष : इश्वरचन्द्र पोखरेल (एमाले)
उपाध्यक्ष : उर्मिला खड्का केसी (एमाले)
७ शैलुङ गाउँपालिका
अध्यक्ष : भरत दुलाल (एमाले)
उपाध्यक्ष : लालमाया योञ्जन (एमाले)
८ गौरीशंकर गाउँपालिका
अध्यक्ष : स्वयंमबहादुर खड्का (एमाले)
उपाध्यक्ष : उर्मिला थामी (एमाले)