
तेहरानः इरानी राष्ट्रपति हसन रुहानीले हालै साउदी अरबमा भएको क्षेत्रीय इस्लामिक राज्यहरुको सम्मेलनलाई नाटकको संज्ञा दिएका छन् । इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत रुहानीले सम्मेलन राजनीतिक महत्वविनाको एउटा नाटकमात्र भएको बताएका हुन् ।
रुहानीले आतङ्कवादलाई सभा, सम्मेलन एवम् राज्यको सम्पत्ति शक्तिशाली मुलुकलाई बुझाएर समाधान नहुने बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा रहेका मुस्लिम मुलुकले अतिवादी इस्लामिक समूहको नेतृत्वमा भइरहेको आतङ्कवादी गतिविधिका कारण समस्या झेल्नु परेको र यसलाई सबै मिलेर परास्त गर्नेपर्ने भनी आइतबार गरेको सम्बोधनलाई लिएर रुहानीको भनाई आएको हो ।
अमेरिकासँग साउदी अरबले हालै गरेको हतियार खरिद सम्झौताको कटाक्ष गर्दै रुहानीले अमेरिकी सरकार मध्यपूर्वको आतङ्कवादविरुद्ध कहिल्यै नलडेको बताए।
रुहानी गत शुक्रबार भएको निर्वाचनमा ५७ प्रतिशत मत प्राप्त गरी इरानी राष्ट्रपतिमा पुनः निर्वाचित भएका हुन् । रासस/सिन्ह्वा