PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

​भारु नक्कली परेपछि चार नेपाली शिक्षक भारतमा पक्राउ



पहिलोपोस्ट

​भारु नक्कली परेपछि चार नेपाली शिक्षक भारतमा पक्राउ

चितवन : भारतीय मुद्रा सहज रुपमा पाउन नसक्दा नेपाली ठगिने मात्र होइन नक्कली परेर कारबाही पनि भोग्दै आएका छन्। यसको पछिल्लो शिकार पश्चिम चितवनको ज्योति नगरमा रहेको युवा माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी बनेका छन्। 

सो विद्यालयका प्रध्यानाध्यापक रामनाथ घिमिरेका अनुसार गत चैत २९ गते भारतको नौतनवामा भ्रमण सकेर फर्कने क्रममा किनमेल गर्दा नेपालमा साटेर लगेको भारतीय नोट नक्कली परेपछि एक परिचर र चार शिक्षक पक्राउ परे। उनका अनुसार शिक्षकहरु अम्बिका घिमिरे, जीबाखर ढकाल, कृष्णचन्द्र सापकोटा, शिवभक्त पण्डित र परिचर अच्युत घिमिरे पक्राउ परेका हुन्। 

विद्यालयको वार्षिक परीक्षा सकेर शिक्षक र कर्मचारीसहित २३ जना चैत २३ गते यहाँबाट भारतको आग्रा, मथुरा, वृन्दावनलगायतका क्षेत्रको भ्रमणमा निस्किएका थिए। 

नेपाल फर्कने दिन उनीहरु नौतनवा बजार छिरेको प्रधानाध्यापक घिमिरेले बताए। सामान किन्ने बेलामा तीनवटा पसलमा दिएको भारतीय नोट नक्कली भएको भन्दै व्यापारीले प्रहरी बोलाएपछि उनीहरुलाई १२ हजार भारुसहित पक्राउ गरियो बताए। बिरामी रहेकाले प्रधानाध्यापक घिमिरे भने भारत गएनन्।  

भारत जान उनीहरुले स्थानीय चित्रवन नगरपालिका वडा नं १४, सिसहीकी आरती चौधरीसँग सो रकम साटेर लगेको बताएका छन्। ती महिलासहित भरत श्रेष्ठ र रामप्रसाद श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए। उनीहरु तारेखमा छन्। 

उता पक्राउ परेकाहरुको पेशी अप्रिल २६ तारेखमा रहेको र सोका लागि वकिल राख्ने काम भएको शिक्षक महासङ्घ चितवनका अध्यक्ष ध्रुव पोखरेलले बताए। मुद्दालाई सहयोग पुग्ने गरी स्थानीय प्रशासन, प्रहरी र जिल्ला शिक्षा कार्यालयबाट पत्रसमेत बनाएर पठाएको उनले बताए। अन्य जो कोही पनि ठगिन सक्ने हुँदा सजग हुन विद्यालयमा शिक्षकमार्फत सूचित गरिएको अध्यक्ष पोखरेलले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell