PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

फेरि ध्यान खिच्दै बारपाक, के-के हुँदैछ वैशाख १२ गते बारपाकमा?



पहिलोपोस्ट

फेरि ध्यान खिच्दै बारपाक, के-के हुँदैछ वैशाख १२ गते बारपाकमा?

काठमाडौं : गत वर्ष गएको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बारपाकले एक वर्षपछि फेरि आफुतिर ध्यान खिच्दैछ। आउँदो वैशाख १२ गते भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा बारपाकमा भूकम्प स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ।

जिल्ला दैवीप्रकोप उद्दार समितिको सोमबार बसेको बैठकले बारपाकमा भूकम्प स्मृति दिवस मनाउने निर्णय गरेको छ। 'वैशाख १२ गते भूकम्प स्मृति दिवस मनाउने निर्णय भएको छ' जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने 'तर के के कार्यक्रम गर्ने भन्ने टुंगो लागिसकेको छैन।'

समितिले भूकम्पको वर्षदिनको कार्यक्रम तय गर्न स्थानीय विकास अधिकारी नारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। भूकम्प स्मृति दिवसको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीलाई पनि आमन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए। राष्ट्रपतिले बारपाकमा निर्माण हुन लागेको भूकम्प स्मृति पार्क पनि शिलान्यास गर्ने कार्यक्रम पनि तय गरिएको छ।

वैशाख १२ र २९ गतेको भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा भूकम्प स्मृति पार्क बनाउने सरकारी योजना नै हो। गएको पुसमा बारपाक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बारपाकमा भूकम्प स्मृति पार्क बनाउने बताएका थिए। पार्क बारपाक वडा नम्बर ४ मा २ सय १६ रोपनीमा निर्माण गर्ने योजना रहेको बारपाकका गाविस सचिव चेतनाथ अंगाईले जानकारी दिए।

पुनर्निर्माणका लागि साइकल यात्रा

सरकारी कार्यक्रम बाहेक विभिन्न संघसंस्थाले पनि कार्यक्रमहरु गर्दैछन्। स्थानीय संघसंस्थाको पहलमा साइकल यात्रा लगायतका कार्यक्रम पनि राखिएको छ। बारपाकप्रति स्वदेश तथा विदेशको ध्यान खिच्च भूकम्पकै वर्षदिन पारेर 'टुर दि बारपाक' नामको साइकलयात्रा आयोजना गरिएको छ। स्थानीय रुपिनाला युवा समाजले आयोजना गरेको साइकल यात्रा काठमाडौं र गोरखा सदरमुकामबाट हुनेछ।

काठमाडौंको कान्तिपथबाट वैशाख १० गते साइकलयात्रा सुरु हुनेछ भने गोरखा सदरमुकामबाट वैशाख ११ गते हुनेछ। साइकल यात्रामा स्वदेशीसँगै विदेशी नागरिक पनि सहभागी हुनेछन्। '१ वर्षपछि बारपाक कस्तो भएछ भनेर हेर्ने चाहना देखिएको छ र पुनर्निर्माणमा सहयोग गर्न इच्छुकहरु पनि आएका छन्' रुपिनाला युवा समाजका अध्यक्ष तुलाराम घलेले भने।

साइकल यात्रा मार्फत बारपाकको पर्यटनलाई पुरानै अवस्थामा ल्याउन प्रयास गरिने घलेले बताए। 'भूकम्पपछि पनि हामी उठ्न सक्छौं र हाम्रा गन्तब्यहरु सुरक्षित छन् भन्ने सन्देश हामी संसारभरी पुर्‍याउनेछौं' उनले भने। साइकलयात्रापछि संकलन भएको सहयोग बारपाकको पुनर्निर्माणमा लगाउने घलेले बताए।

क्षतिग्रस्त गाउँ खुला संग्रहालय

रुपिनाला युवा समाजले भूकम्प र पहिरोका कारण क्षतिग्रस्त बारपाकको गैरीगाउँलाई खुला संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारेको छ।

भूकम्पले घर भत्किएको र पहिरोले वस्ती नै जोखिममा पारेपछि बारपाक ५ गैरीगाउँका करिब ३५ घर वासिन्दा बारपाककै अर्को गाउँमा सरेका छन्। उनीहरुको पुरानो गाउँलाई संग्रहालय बनाउने र त्यसबाट हुने आम्दानी पुनर्स्थापनामा लगाउन सकिने घलेले बताए। 'पुरानो गाउँलाई जस्ताको तस्तै राखेर ओपन म्युजियम बनाउने  हामीले प्रस्ताव राखेका छौं, सरकारी निकायसँग छलफल गरेर अघि बढ्नेछौं' घलेले भने।

गएको वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले देशभरी करिब ९ हजार जनाको ज्यान लिएको थियो भने २० हजार भन्दा धेरै घाइते छन्। त्यस्तै ६ लाख भन्दा बढी ब्यक्तिगत घर भत्किएका छन्। १२ सय घरको एउटै गाउँ बारपाकमा भूकम्पका कारण ९० प्रतिशत घर क्षतिग्रस्त भएका छन् भने ७३ जनाले ज्यान गुमाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell