PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​चिन्ता बासको भन्दा पानीको प्यासको



पहिलोपोस्ट

  • सिबी अधिकारी -  
चण्डनीमण्डन (काभ्रे) : सुनमाया तामाङ उमेरले ६७ कटिन्। उमेरका हिसाबले आराम गर्ने समय हो उनको। तर दैनिक तीन घन्टा हिँड्दै परिवारका लागि पानीको जोहो गर्नु उनको दैनिक बनेको छ। उनी त्यति लामो बाटोमा २० लिटर पानी बोक्छिन्।
 
फुलेको घुङ्ग्री कपाल, मुजा परेको अनुहार, पुर्पुरोमा हात लगाएर आफ्ना दुःखका कथा सुनाउँदै थिइन् काभ्रेको चन्डनी–८ की सुनमाया। “बुढेसकाल भनेर के गर्नु, जीवन बचाउनै पर्‍यो, वस्तुभाउलाई पनि खुवाउनु नै पर्‍यो,”–सुनमायाले भनिन्।
 
यति कष्टकासाथ पानी बोकेर भए पनि सात जनाको तामाङ परिवारले एक हल गोरु, एक भैँसी र १० वटा बाख्रा पालेका छन्। टहराको कष्टकर जीवन बिताइरहे पनि उनीहरुलाई बासभन्दा पानीको नै अपरिहार्यता छ।
 
गत वर्ष वैशाख १२ को भूकम्पले गाउँका पानीका मुहान सुकेपछि चन्डेनी र आसपासका गाविसमा खानेपानीको हाहाकार भएको छ। यी गाउँका मानिसले एक जर्किन पानीका लागि पूरै दिन बिताउनुपर्ने बाध्यता छ। गाउँका प्रत्येक घरबाट तीनदेखि पाँच जनासम्म पानी बोक्न जान्छन्। पानीकै कारण अन्य काम भने गर्न पाउँदैनन्। “खानेपानी नजिक भए अरू काम भ्याइन्थ्यो, पानी ल्याउँदैमा दिन बित्छ। पहिला यस्तो समस्या थिएन, भूकम्पपछि पानीको हाहाकारै भएको छ,” सुनमायाले सुनाइन्।
 
भूकम्पले घर भत्काएपछि अहिले टहराको बास, गर्मीमा पोल्ने, हावाहुरीले सताउने बालबच्चालाई जोगाउन मुस्किल। यो समस्या गाउँको नियति नै बनिरहेको छ। चन्डेनी–९ का ६७ वर्षीय भक्तबहादुर श्रेष्ठको पीडा पनि सुनमायाको भन्दा कम छैन। एकातिर खानेपानीको समस्या छँदैछ, अर्कोतर्फ बासको समस्या उत्तिकै। हिउँदको जाडो त जसोतसो कट्यो। बर्खायाम सुरु हुनैलाग्दा भक्तबहादुरलाई कसरी परिवारलाई सुरक्षित गर्ने भन्ने चिन्ताले सताएको छ। “हावाहुरी चल्छ, टहरामा पानी चुहिन्छ, अब बर्खा लाग्न लाग्यो, कता भाग्नुपर्ने हो,” पाँच जनाका अभिभावक श्रेष्ठले भने।
 
पानीकै समस्याका कारण दुहुना गाई बेचेका श्रेष्ठले अहिले आफूसहित बालबालिकालाई पनि पानीको समस्या भएको बताए। चन्डेनीको माथिल्लो भेगका जनताले छिमेकी जैसीथोक–५ भाटपोल भन्ने स्थानबाट पानी बोक्ने गरेका छन्। गाउँमा एउटै मात्र पानीको धारो छ, सानो पानी आउँछ, घन्टौँ हिँडेर पानी भर्न गएकाहरु धारोमा पनि पानी भर्न उत्तिकै लामो समय कुर्नुपर्छ। स्थानीयवासी सुन्तली तामाङले तीनघन्टा हिँडेर धारोसम्म पुगे पनि पानी भर्न डेढदेखि दुई घन्टा लाइन बस्नुपरेको सुनाइन्।
 
सात जनाको परिवार र वस्तुभाउ धान्दै आएकी उनी दिनमा मुस्किलले दुईपटक पानी ल्याउँछिन्। अरू सबै काम छोडेर पानी बोक्दैमा दिन बिताउनुपरेको उनले दुखेसो पोखिन्। गाउँमा पानी बोक्न छोरा मान्छे जाँदैनन्, महिला नै जानुपर्ने बाध्यता छ। अधिकांश गाउँलेले गाडीमा बोकेर ल्याएको पानी प्रतिलिटर रु दुईका दरले किनेर बस्तुभाउलाई खुवाउने गरेका छन्। चन्डेनी–९ की सङ्गीता श्रेष्ठले एक गाग्री पानीका लागि राति १ बजे पनि जानुपर्ने र चारदेखि पाँच घन्टामा घरआइपुग्ने गरेको बताइन्।
 
गाउँमा पानीको हाहाकार भएपछि अधिकांशले दुहुना वस्तुभाउ, हलगोरु बेचिसकेका छन्। पानीकै कारण गोरु पाल्न समस्या भएपछि चन्डेनी–५ का लोकनाथ नेपालले हल गोरु बेचे अहिले बारी जोत्न समस्या छ। भूकम्पले चन्डेनी मण्डनमा ३७ जनाको मृत्यु भएको थियो भने कुल ८७१ घरधुरीमा शतप्रतिशत घर भत्किएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell