PahiloPost

Nov 21, 2019 | ५ मंसिर २०७६

कान्तिपुर गाथा : भुईँचालो महोत्सव



पहिलोपोस्ट

कान्तिपुर गाथा : भुईँचालो महोत्सव

  • किशोर नेपाल -  
भोलि भुईंचालोको पहिलो जन्मोत्सव। सरकारी तवरमा नै ठूलो महोत्सवका रुपमा मनाईंदैछ यो दिन। शहरमा दिनभर हजारौं हजार बेलुन उड्ने छन। ती बेलुनहरुसँगै भत्किएका घर बनाउने पीडितका सपनाहरु पनि आकाशमा तरंगित हुनेछन्।

साँझ परेपछि माइतीघर मण्डला, वसन्तपुर र शहरका गल्ली गल्लीमा हजारौ हजार मैनवत्ती बालिनेछन्। मैनवत्तीका ती दीपशिखाहरुसँगै भुईंचालोका सम्झनाहरु विस्मृतिको गर्भ गृहमा थन्किनेछन् अर्को वर्षका लागि।
 
असी–बयासी वर्षअघि, अर्थात् १९९० सालको भुईचालोपछि, श्री ३ महाराज जुध्दशमशेरले भुईंचालोको सम्झनामा भूगोल पार्क बनाएका थिए। उनले यो पार्क भुईचालोबाट पीडितहरुको उद्धारपछि बनाएका थिए कि त्यो भन्दा पहिले ? त्यहाँ राखिएको शिलालेखमा लेखिएकै होला। सरकारका संचालकहरुले त्यो पढ्दा राम्रै होला।

पार्कमा पृथ्वीको गोलाकार नक्सामाथि ध्यानमुद्रामा महादेवको मूर्ति राखिएको थियो। यो मूर्तिले अहिले धर्मनिरपेक्ष भए पनि नेपाल सँधै एउटा हिन्दू देश हो भन्ने सम्झाइरहेको छ।

भूगोल पार्क अहिले खुला रक्तदान केन्द्र बनेको छ। एउटा हातमा चियाको केतली र अर्को हातमा प्लाष्टिकका कप बोकेर मनतातो चिया बेच्ने, पीरो चना–चटपटे बेच्ने र ठूलो बेलुन बेच्ने भुईंचालो पीडित सुकुम्वासीहरुको भीडमा भूगोल पार्क हराएको छ। कुनैवेला पार्कको एउटा कुनामा बनेको सार्वजनिक शौचालय लोकप्रिय बनेको थियो। सू सू गर्नेहरुका लागि सुविधाजनक लक्ष। त्यो शौचालयबाट आउने दुर्गन्ध भूगोल पार्कको पहिचान बनेको थियो। अहिले त्यो शौचालय त्यहाँ छ कि छैन सम्झना भएन। सम्झनाहरु त्यस्तै हुन्छन। आउँछन् र मेटिन्छन्।

नेपालको इतिहासमा लेखिए अनुसार जंगबहादुर राणाले प्राइम्मिनिष्टर बन्नु अघि धरहराबाट हाम फालेर आफ्नो प्रजाका सामु वीरताको प्रदर्शन गरेका थिए। प्रधानमन्त्री बन्नुभन्दा केही समयअघि केपी शर्मा ओलीले पनि धरहराको घुमाउरो सिँढी चढेर जनताका सामु आफनो शक्तिको परीक्षण र प्रदर्शन गरेका थिए। पोहोर साल वैशाख १२ गतेको भुईंचालोले त्यो धरहरा भाँचिदियो। अव त्यहाँ नौ तले सम्झनाको धरहरामात्र बाँकी छ। सम्झनाको त्यो धरहरालाई यथार्थमा बदल्ने हो भने सरकारले भुईंचालोबाट अति–प्रभावित जिल्लाका सदरमुकाममा एक एकवटा धरहरा बनाइदिनु पर्दछ।

नेपाली मिडियाका मानिसहरु सँधै नकारात्मक सोच्दछन। नकारात्मक सोचलाई नै मिडियाले आफनो व्यवसाय बनाएको छ। भुईंचालोका बारेमा पनि मिडियाले नकारात्मक सोचलाई नै अघि बढाएका छन्। विनास त भुईंचालोको काम नै हो। सकारात्मक पक्ष पनि त छन् यसका। भुईंचालो नआएको भए देशको नाममा संसारभरी यति धेरै खलवली हुने थिएन। विभिन्न देशका दाता र पत्रकारहरुको घुइँचोले काठमाडौ जगमगाउने थिएन। गुगलले समेत समात्न नसकेका सिंगटी, वारपाक र लाप्राक जस्ता नेपाली गाउँहरु विश्व मानचित्रमा टड्कारो देखिने थिएनन्। युरोप र अमेरिकामा रहेका नेपालीहरुको सेवाको भावना मुखरित हुन पाउने थिएन। भुईंचालोले भत्काएको देशका विभिन्न ठाउँमा पुग्ने धूले सडकहरुमा सवारी साधनको आवागमन बढ्ने थिएन। गाउँघरमा यति व्यापक राहतको मेला लाग्ने थिएन। भुईंचालोका गीत लेखिने थिएनन्। डक्युमेन्ट्री बन्ने थिएनन्। किताव लेखिने थिएनन्। भुईंचालो पीडितका लागि सहयोग जुटाउन हास्य र नृत्यका सांस्कृतिक कार्यक्रमहरु हुने थिएनन्।

भुईंचालोले नयाँ सरकारलाई नयाँ नेपाल निर्माण गर्ने सुवर्ण अवसर प्रदान गरेको छ। भुईंचालोले नभत्काएको भए ढुंगा–माटाले बनेका वर्षौंवर्ष पुराना र थोत्रिएका घरहरु भत्किने थिएनन्। ती घरहरु नभत्किएसम्म गाउँमा नयाँ घर बनाउनैपर्ने वाध्यात्मक वातावरण बन्ने थिएन। नयाँ घर नबनेसम्म नयाँ नेपाल बन्नु सम्भव थिएन। जसरी भुईंचालोपछि त्यतिवेला अघोषित र अहिले घोषित भारतीय नाकाबन्दीले नेपाली राष्ट्रवादको पुनरुत्थान गरेको छ त्यसरी नै भुईंचालो नेपालका लागि नव निर्माणको महाअवसर बनेको छ। सरकारले प्रत्येक भुईंचालो पीडित परिवारलाई नयाँ घर बनाउन उदारतापूर्वक तीन चरणमा दुई लाख रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ। त्यो दुईलाखले राम्रो, पक्की र चिटिक्क परेको घर बन्छ भन्ने दृढ विश्वास छ सरकारको। जनताको सरकार स्वयं विश्वस्त भएको अवस्थामा जनताले दुई लाखमा घर बन्दैन भनेर हुन्छ ? दुई लाखले राम्रो क्यानभासमा घरको नक्सा बन्न सक्छन्। सरकारले दिएको नक्सा अनुसार घरको प्रतिकृतिहरु बन्न सक्छन्। त्यति पैसाले जनताले घरछेउमा सुविधाजनक चर्पी बनाएर देशलाई खुला दिशामुक्त क्षेत्र घोषित गर्न सरकारलाई सघाउन सक्छन्। अहिलेको समयमा दुई लाख रुपैयाँ भनेको सानो रकम होइन। अमेरिकी डलरसँग तुलनागर्दा दुई लाख भनेको दुई हजार डलर हो। भुईंचालोपछिको पुननिर्माणमा दाताहरुले सात अर्ब डलरसम्म लगानी गर्ने बचन दिएर के भो त? जनताको घर बनाउन सबै रकम खर्च गर्ने हो भने नेताहरुको घर बनाउन के खर्च गर्ने नि?

भोलि बेलुन उडाऔं। मैनवत्ती बालौं। “हामी फेरि उठ्ने छौं, वी वील राइज अगेन” गीत गाऔं। बाजा बजाऔं। अर्को साताका लागि तयार होउँ। के थाह भुईंचालो फेरि कहिले जाने हो।



कान्तिपुर गाथा : भुईँचालो महोत्सव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell