- शिशिर वैद्य -
तीन वर्षअघि मन्थली पुग्दा तामाकोसीमा पुल थिएन। मन्थली बजारमा सामान्य चहलपहल मात्र थियो। तर, यस पटक मन्थली बजारमा निकै भिड देखियो। नगरपालिकाको ५ नं वडाको खुला स्थान जहाँ हाट लाग्दा मात्रै मानिसहरु आवत जावत गर्ने गर्थे - त्यहाँ निकै ठूलो परिवर्तन भएको थियो। हाट लाग्ने खुला चौरमा सयौंको संख्यामा छाप्राहरु थिए। भूकम्प पीडितका लागि सरकारले बनाइदिएको छाप्रामा मन्थलीका भन्दा आशपासका गाउँबाट आएका माझीहरुले अस्थाई बसोबास गर्दै आएका रहेछन्। थुप्रै गाउँ फर्किसके पनि केही अझै यतै भेटिए। छाप्रामा बसिरहनु उनीहरुको रहर होइन, बाध्यता हो। गाउँ फर्किउँ गोठ सम्म पनि बाँकी छैन, घरको कुरै नगरौ। नफर्किउँ छाप्रामा कति दिन जीवन गुजार्ने?
मन्थलीमा मन माारेर बसेकाहरु
तामाकोसी पारिको मुगीटार, मन्थली नगरपालिका भित्रै पर्छ। तर, तामाकोसीमा पुल बनेपछि भर्खरै मात्र यहाँ गाडी गुड्न थालेको हो। यहाँका जनतामा सडक सञ्जालले जोडिएको खुसी कम र भूकम्पको दु:ख धेरै छ। मन्थली–खुर्कोट सडकबाट तामाकोसी पारी झुरुप्प परेर बसेको यो सानो गाउँ प्राकृतिक रुपमा निकै सुन्दर देखिन्छ। तर यहाँका जनताले भोगिरहेको दुःख प्राकृतिक सुन्दरताको ठीक विपरित छ। गाउँ प्रवेश गर्ने बित्तिकै देखिने टिनका छाप्राहरु, सँगै बाँधिएका बस्तुभाउ, नजिकैको भग्नावशेष रुपी गाउँ र छाप्रे बस्तीसँगै तर्साउने खहरे। भूकम्पले ध्वस्त यो बस्तीले एक वर्ष बितिसक्दा पनि रुप फेर्न सकेको छैन। एक दुई परिवार घर फर्के पनि अधिकांश छाप्रामै जीवन धानिरहेछन्। यहाँका जनतामा सरकारले बस्तीको पूनर्निमार्णमा सघाउला भन्ने आश मरिसकेको छ। गाउँका केही अगुवा बस्ती नै सार्नुको विकल्प नरहेको बताउँछन्। तर बाउबाजे देखि बसिआएको थातथलो छाडेर अन्त कता जानु? यो असह्य पीडा र डरले गाउँलेहरुमा मानसिक तनाव बढेको छ।तामाकोसीमा माछा मारेर गुजारा चलाउँदै आएका माझीहरुको अलिअलि भएको खेत पनि खहरेले बगाएको छ। हावाहुरी आउँदा टिनको छानो उडाएर खहरे पारिको पहरोको भित्तामा पुर्याएको सुनाउनेहरु यहाँ प्रसस्त छन्। नगरपालिकाको वडा भएर पनि यहाँ नगर जस्तो छनक दिने कुनै संकेत भेटिँदैन। भेटिन्छन् त केवल नगरबासीहरु- जो गरीब छन्, पीडित छन्, दु:खी छन्।
आशामरु जीवन
काठमाडौंका नेवार समुदायमा आशामरु नाम राख्ने चलन छ। जसको अर्थहुन्छ आश नभएको। मुगीटारका जनता आशामरु भएका छन्। उनीहरुमा आफ्नो जीवन फेरि पहिले जस्तै हुने आशा मर्दै गएको छ।मुगीटारमा मात्र होइन आशामरुहरुको संख्या भूकम्प पीडित सबै जिल्लामा बढ्दै गएको छ। नगरको वडा भएर पनि सरकारको आँखा नपरेको मुगीटारको अवस्था हेर्दा विकट क्षेत्रका जनतालाई राज्यले हेर्ने कुरा अकाल्पनिक जस्तै बनेको छ। मुगीटार पुग्नु दुईदिन अघि हेलम्बु क्षेत्रको प्रवेश द्वार टिम्बु पुग्दा यहाँका जनतामा पनि निराशा थियो। तर साहसी जातिका नामले चिनिएका शेर्पाहरु मनमा सरकार प्रति आक्रोश राखेर पीडामा पनि हाँसिरहेका थिए। नौ महिना अघि भूकम्पको क्षति अध्ययन गर्न आउँदा जस्तो थियो, टिम्बु अझै उस्तै छ। उतिखेर टिम्बु खोलामाथिको पुलमा गाडी रोकेर हिँड्दै जानु पर्दथ्यो। अहिले गाउँलेहरुले आफ्नै पहलमा पहिरो पन्छाएर गाडी गुड्ने बाटो खोलेका छन्। बाँकी उस्तै छ।
हिँड्दा हिँड्दै भेटिए दिलबहादुर लामा। उनले जवानी पूरै मुग्लान झरेर बिताए। बुढेसकाल लागे पछि आफ्नो गाउँ फर्के। उनलाई आफु जस्ता भूकम्प पीडितलाई सरकारले केही हेर्छ भन्ने कुरामा रत्तिभर पनि विश्वास छैन। गाउँकै पाका लामा भन्दै थिए– ‘खोइ सर एक वर्ष हुन लाग्यो राहत भनेर दिएको त्यै पन्ध्र हजार एक चोटी र दश हजार बाहेक केही आएको छैन। सरकार कहिले कर्मचारी पठाउँछ, कहिले इन्जिनियर पठाउँछ, हाम्रो भत्किएको घर हेर्छ, नाम टिप्छ, फोटो खिच्छन् यत्तिमै वर्ष दिन बितिसक्यो। कहिले राहत पाउने हो हामीलाई केही थाहा छैन। यो छाप्रोमा कति दिन बिताउनु पर्ने हो ? यस्तै रै’छ।‘
यति भनिसक्दा उनी मुस्काउन भने भुल्दैनन्।
२ लाखले जग पनि उठ्दैन
टिम्बुमा पहिले निकै पर्यटक आउँथे। अहिले त्यो क्रम घटेको छ। पदयात्राको लागि प्रसिद्ध यो क्षेत्रमा भुईंचालो पछि पदयात्रा मार्गका थुप्रै बाटो पहिरोले भत्काएको छ। टिम्बु गाउँ वरपर गइरहने पहिरोको आवाजले यहाँका मानिसहरु सँधै त्रासमा बाँचिरहेका छन्। टिम्बुमा होटल चलाएर बसेकी माया लामा भन्छिन्– ‘कुन दिन पहिरोले गाउँ नै सखाप पार्ने हो। हामी संधै त्रसित भएर बाँचेका छौं।‘ मायाको होटलका भित्ता चर्किएका छन्। तर उनी सरकारको आश गरेर बसेकी छैनन्। बिस्तारै आफ्नो गच्छे अनुसार बनाउँदै जाने उनको योजना छ। अहिलेलाई उनी चारै तिर जस्ताले बेरिएको कटेज होटल चलाइरहेकी छिन्।माया भन्छिन् – ‘हाम्रो गाउँसम्म सामान ल्याइपुर्याउन ढुवानी खर्च धेरै लाग्छ, सरकारले दिने दुई लाखले जग पनि आउँदैन घर बन्ने त कल्पना पनि गर्न सकिंदैन।‘
भुईंचालोले ध्वस्त टिम्बु गाउँको एक मात्र आवासीय विद्यालय हेल्प नामक संस्थाको सहयोगमा बन्ने भएको छ। झण्डै एक करोडको लागतमा विद्यालयको आवास तयार हुने भए पछि भुइँचालो पछि बिस्थापित विद्यार्थीहरु विस्तारै गाउँ फर्कन थालेका छन्। हेलम्बु गाउँको धेरै स्कुल विदेशी मित्रहरु र दातृ संस्थाहरुको सहयोगमा बन्ने भएको छ। यसमा गाउँलेहरु खुसी छन् तर साथै सरकारको व्यवहारबाट दु:खी पनि छन्।
भुईंचालोको पीडा अतिप्रभावित र सामान्य प्रभावित सबै जिल्लामा उस्तै छ। गोरखाको बारपाक केन्द्र बिन्दु भएर गएको वैशाख १२ को भूकम्प पछि गएका सयौं साना ठूला परकम्पले चौध जिल्लालाई नराम्रोसँग प्रभावित गरेको वर्ष दिन भयो। वर्षा कट्यो, हिउँद टर्यो। फेरि वर्षा सुरु हुने बेला आइसक्यो। तर जनताका समस्या जहाँको त्यहीं छ। सक्नेले घर बनाउने जोहो गरेका छन्। नसक्ने सरकारले केही गर्ला भनी पर्खिबसेका छन्। यस्तै पर्खिबसेका भूकम्प पीडित जनतालाई ढिलै भए पनि महिनौं अघि सरकारले घोषणा गरेको राहत रकम दिने कार्यको शुभारम्भ दोलखाको भूकम्प अतिप्रभावित क्षेत्र सिंगटीबाट सुरु गरेको छ। संयोगले त्यो क्षणको साक्षि बस्न हामी पनि त्यहीं थियौं।
रनभुल्लमा सिंगटीका जनता
तामाकोशी र सिंगटी खोलाको बगरमा रहेको सिंगटी बजार भूकम्पले पूरै ध्वस्त भएको क्षेत्र हो। सिंगटी बजारलाई लामिडाँडा–६ स्थित सामुदायिक अस्पताल रहेको डाँडाबाट नियाल्दा घर कम र टिनका छाप्रा धेरै देखिन्छन्। सिंगटी सामुदायिक अस्पताल दातृनिकायको सहयोगमा पक्की र सुविधायुक्त छ। तर अस्पताल अहेवको भरमा चलेको छ। यहाँ बेला बेला मेडिकल क्याम्प लिएर डाक्टरहरुको टोली आएको बाहेक विगत छ सात महिना देखि सरकारले खटाएको डाक्टर पुगेको छैन। भूकम्प अति प्रभावित क्षेत्रका जनताले स्वास्थ प्राविधिक नहुनुको पीडा पनि भोग्नु परेको छ।भूकम्प पीडितलाई घर बनाउन दिने राहतको पहिलो किस्ता बुझ्न आएका लादुक र लामीडाँडाका पीडितहरुलाई सरकारले रकम दिनेसम्म थाहा छ। पचास हजार रुपैयाँ। तर बैंकका कर्मचारीले विद्युतीय ल्याप्चे थिच्न लगाएर दिएको रकम सही छ की छैन गन्न आउने त्यहाँ भिडमा भेटिने कमै थिए। पैसा लिएर बाहिरिँदै गरेकाहरुको हातमा स्टिच लगाइएको पचास हजारको बिटो, बैंकले दिएको एटिएम कार्ड र आफ्नै नागरिकता थियो। तर उनीहरु रनभुल्ल थिए। त्यत्ति पैसोले के गरी घरको जग ठड्याउने हो ? राहत लिन लाइनमा उभिइरहेका मध्ये केही गुनासो गर्दै थिए– बरु सरकारले यो पचास हजार पनि नदिए हुने। हामी आफ्नै हिसाबले गाउँले पाराले बनाउन पाउँथ्यौं। ‘सरकारले दिएको नक्सा अनुसारै बनाउनु पर्ने अनि पैसो चाही जाबो पचास हजारले केही पनि नहुने,’ लाइनमा बसेका अधिकांशको एउटै स्वर थियो। धेरै मानिस अर्को किस्ता पाउने आशमा थिएनन्। सरकारले दिएको पहिलो किस्ताले सरकारी डिजाइन अनुसार घरको डिपिसी उठ्न संभव नै छैन। काठ किन्न पनि नपुग्ने पैसा दिएको छ सरकारले
यता त कहिले हो कहिले?
भूकम्प पछि सरकारले घर बनाउन राहतको पैसा सिंगटीबाट बाँड्न सुरु गरेको खबर लमजुङ जिल्लाका भूकम्प अति प्रभावित विकट गाविसहरु विचौर, दुधपोखरी, गौंडा इलिम पोखरी, कोल्की र पाचोकका जनताले थाहा पाए पनि आफ्नो क्षेत्रमा राहत कहिले आउने कसैलाई थाहा छैन। गोरखाका खरिबोट, लप्सीबोट, भच्छेक, मुलचोक, धारापानीका जनताको पनि उस्तै प्रतिक्रिया छ। महा–भूकम्पको केन्द्र बिन्दु गोरखासँग जोडिएको जिल्ला भएर पनि लमजुङमा मानवीय क्षति नभएको कारण सरकारको प्राथमिकतामा नपरेको यहाँका बासिन्दाको बुझाई छ। भूकम्प अति प्रभावित चौध जिल्ला मध्येमा लमजुङ पर्दैन। तर यहाँका विकट क्षेत्रका थुप्रै गाउँहरु भग्नावशेषमा परिणत भएका छन्।लमजुङ भोटेओडारबाट दुधपोखरीको बाटोमा पर्ने थुप्रै गाउँ टिनका छाप्रामा जीवन आश्रित गरिरहेको भेटिन्छ। केही गैसस तथा सहयोगी दाताहरुबाट प्राप्त टिनका जस्ता र त्रिपालको सहारामा एक वर्ष काटेका यहाँका स्थानीय गुरुङहरु छाप्रो भत्काएर घर बनाउने कि नबनाउने भन्ने अन्योलमा छन्। बनाउँ सरकारले दिने सहयोग नदिने पो हो कि। नबनाउँ एउटा वर्षा कटेर अर्को लाग्न थालिसक्यो। गौंडा गाविस साल्मेकी धनमाया गुरुङको घर सग्लो देखिए पनि भित्रबाट बस्नै नहुने गरि चर्किको छ। यही चर्किएको घरमा गुरुङ परिवार डराई डराई बसिरहेका छन्।
दुधपोखरी गाविसका १,२,३ र ६ वार्डका जनताले राहत पनि राम्रोसँग नपाएको केही स्थानीयले बताए। त्यस्तै बिचौरका राजु परियार आफुहरु दोहोरो मारमा परेको बताइरहेका थिए। बुबासँग छुट्टिएर बसेको सात आठ वर्ष भइसकेको र कानूनी रुपमा आफुहरु नछुट्टिएकोले न राहत पाएको न सरकारको तर्फबाट पाउने रकम पाएको उनीहरुको गुनासो थियो। विचौर गाविसका ४ सय ७२ घरधुरीमा कुनै पनि सग्लो बचेको छैन।
त्यस्तै दुधपोखरी गाविसका ४ सय ९४ घरधुरी पनि सबै बस्नै नहुने गरि ध्वस्त भएका छन्। घरका छानो ढलेको छैन तर भित्र कामै नलाग्ने गरि चर्किएको छ। मानवीय क्षति नभएकै कारण मात्रैले सरकारले हामीलाई हेरेन भन्ने स्थानीयको गुनासो थियो। विचौर–६ का युवराज दवाडी भन्दै थिए– ‘के गर्नु सर आफ्नो त आँगन पनि लड्यो, घर पनि लड्यो यसो भैंसीको गोठमा बसेका छौं त्यो पनि टेको लाएर। सरकारले घर बनाउन पैसा दिन्छ रे भन्छन्। यो सुनेको पनि वर्ष दिन हुन लाग्यो। हुनेलाई धन माथि धनै छ, गरिबलाई रिन माथि रिनै छ।‘
२५ हजार त केटाकेटीलाई चकलेट झै
भूकम्पले पीडितलाई राहत दिने नाउँमा चकलेट पनि बाँड्न आएको भोगेका लमजुङका जनता ‘लौ न हजुर बस्ने खाने ठाउँ भएन’ भनेर अनुनय विनय गर्दा पनि कसैले नसुनेकोमा निकै दु:खी छन्। उनीहरुका अनुसार सरकारले दिएको पच्चिस हजार यसो बच्चोलाई मुख मिठो पार्न बाँडेको गुलियो जस्तो भयो। सरकार आफू पनि गर्न नसक्ने अरुले लौ भनेर गरेको सहयोग पनि बाँड्न नसक्ने निकम्माहरुको भिडले भरिएको उनीहरुको तितो बुझाई छ।भूकम्पले वर्ष दिनदेखि पीडित जनतालाई हेर्न वास्तवमै कुनै पनि सरकार सक्षम नरहेको आम जनताको बुझाइ छ। जनता भत्किएको घर गोठमा यस्तै रहेछ भनेर पुपुर्रोमा हात राखेर जीवन निर्वाह गर्न बाध्य पारिएका छन्। जनतालाई व्यवस्थित तरिकाले राख्नु पर्ने सरकारको दायित्व पूरा गर्नुको साटो सरकार भाषण गर्न मै व्यस्त भएकोमा जनता आक्रोशित छन्। दोलखामा भेटिएका माओवादी नेता विशाल खड्का सरकारको व्यवहारलाई यसरी विश्लेषण गर्छन्– ‘वैशाख १२ गतेको भूकम्प हाम्रा नेताहरुले धान्न सक्ने ल्याकत भन्दा ठूलो पावरको आएको रहेछ भनेर हामीले बुझ्नु पर्छ। हाम्रा नेताहरु, प्रशासकहरुको चेतना स्तरले धान्न सक्ने भन्दा ठूलो कम्पन आएकै कारणले भूकम्प गएको एक वर्ष वितिसक्दा पनि जनताले दु:ख पाइरहेका छन्।‘
भूकम्प पीडित जनताले भोगिरहको दु:ख र सरकारी रवैयाको विशालले सहि विश्लेषण गरेका छन्। आफ्नै मातहतका कर्मचारीहरुले संकलन गरेको लगतमा अविश्वास गरेर सरकार घर बनाइसक्नु पर्ने समयमा फेरि लगत संकलन गर्दैछ। सरकारको यो भन्दा ठूलो असक्षमता अरु के होला?