PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेस महामन्त्री शशांक कोइरालाले भने : नेपालमा संघीयता जबर्जस्ती थोपारियो



पहिलोपोस्ट

कांग्रेस महामन्त्री शशांक कोइरालाले भने : नेपालमा संघीयता जबर्जस्ती थोपारियो

  • बिष्णुहरि घिमिरे -
न्युयोर्क : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपालमा संघीयता जबर्जस्ती थोपारिएको बताएका छन्। पार्टीको भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले यो विषय इतिहासमा पुर्नविचार हुनैपर्ने बताए। उनले बुझ्दै नबुझी नेपालमा संघीयता ल्याइएको दावी गरे।

‘संघीयता साच्चिकै बुझेका छौं हामीहरुले? जुन व्यक्तिले प्रजातन्त्र नै बुझेको छैन उनीहरुलाई हामीले संघीयतातिर लिएर जाँदै छौं। प्रजातन्त्र बुझ्ने कति जना छन्, नेपालभरि?,’ उनले भने, ‘धेरै कम छन्।‘ उनले कांग्रेस बलियो पार्टी भएर सबै भन्दा ठूलो पार्टी नभएको बताउँदै अरु पार्टीले राम्रो काम नगरिदिँदा ठूलो बन्न पुगेको बताए।

‘अहिले केन्द्रमा धेरै अधिकार छ। विकेन्द्रीकरण नीति हुनु पर्छ भन्ने मेरो मान्यता हो। अधिकार क्षेत्रलाई दिनु पर्छ तर कहिले दिनु पर्छ भने त्यहा बस्ने जतनाले बुझेपछिमात्रै दिनुपर्छ,’ संघीयताको विषयमा उनले थप भने, ‘अधिकार दिनुभन्दा अगाडि क्षेत्रलाई सक्षम बनाउनु पर्छ,  हामीले जबरजस्ती संघीयता थोपरिदिएका छौं।‘

उनले पार्टीको क्रियाशील सदस्यता सम्बन्धी व्यवस्थामा पनि विधान संशोधन गर्नुपर्नेमा जोड दिए। 

‘म यो पार्टीमा धेरै परिवर्तन चाहन्छु। बीपीले आफ्नो हातले लेखेको विधान अहिले पनि सापेक्ष छ, त्यति नै सान्दर्भिक पनि छ,’ उनले भने, ‘अहिलेको अवस्थामा नेपाली कांग्रेसमा चार लाख ७१ हजार क्रियाशील सदस्य छन्। कस्तो देखिन्छ भने हरेक नेपाली पञ्च, हरेक पञ्च नेपाली भने जस्तै भयो।त्यसको संख्या कम हुनु पर्ने हो।‘

उनले हरेक पार्टीले संगठित सदस्यता बढाउने नाममा हरेक क्षेत्रमा चरम राजनीतिकरण गरेको आरोप समेत लगाए।

‘एमालेको संगठित सदस्य सात लाख  हो कि नौ लाख छ भनेका छन् अब ३४ वटा राष्ट्रिय स्तरका पार्टीहरुले पाँच पाँच लाख सदस्य बनाए भने ढेड करोड जनता पार्टीका सक्रिय  सदस्य हुन्छ, अनि हामीमा आरोप के छ, हरेक क्षेत्रमा राजनीति घुसायो आरोप छ, स्कूलमा, कलेजमा हस्पिटलमा राजनीति भएको छ, अब हामीले विधानमा परिवर्तन गर्नु पर्छ,’ उनले भने।

कोइरालाले राजतीतिमा ग्रुपिजम हुनु सामान्य भएको तर त्यो ग्रुपिजम व्यक्तिका बीचमा नभई विचारका आधारमा हुनु पर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell