
- नरेश ज्ञवाली-
...तर उनी हामीलाई देखे पनि नदेखे जस्तो पो गर्छन! कथित सभ्य मानिसको परिचय दिँदै हामी उनको काममा बाधा पार्न चाहन्नौं भन्ने सन्देश नजानिँदो ढंगले दिइरहेका छौं। आखिर हामी पनि त काठमाडौंबाट न आएको हो। केहीछिन पछि उनी आउँछन्।
उनको आगमन कुनै फिल्मको सौम्य, सुशील, जादुगरी भद्र नायकको जस्तो नभइ सामान्य मध्यमवर्गीय नेपाली गाउँलेको जस्तै छ। तर, उनको बोली फिल्मको भन्दा फरक शैली, जोश र आत्मविश्वासका साथ प्रकट हुन्छ। आखिर यो फिल्म नै कहाँ हो र ? उनले पहेँलो टिसर्टमाथि रातो बाहुला भएको ज्याकेट लगाएका छन्। देब्रे हातमा बाध्ने घडी दाहिने हातमा बाँधेका छन्।
.jpg)
निकै बेरपछि भान्साबाट हामी भएतिर उनले पाइला चाले। पाइला के चाले उनले आउना साथ शब्दका ‘फायर’ नै खोले– ‘तपाईँलाई भनेर के हुन्छ? हाम्रो दुःखमा डलरको खेती गर्ने हो तपाईँहरुले। मेरो आजसम्म झण्डै ३ सय जतिले अन्तर्रवार्ता र फोटो खिचिसके होलान्। कतिले त यसो गर्नुस् उसो गर्नुस् भनेर अभिनय गर्नै लगाएर भिडोयो र फोटो समेत खिचे। तर हामीले पाउने केही पनि होइन... खोई मैले केही पाइन।’
बारपाक बसपार्कले बजारको बीचमा केही जमिन ओगटेको छ। वरिपरि अन्य बसपार्कहरुमा जस्तै पसल तथा होटलहरु छन्। बसपार्क – जहाँ फाट्टफुट्ट मात्र सार्वजनिक गाडीहरु बिसाइ रहेका हुन्छन्। अधिकांश समय निजी तथा एनजीओ/आईएनजीओका ल्यान्डक्रुजर, पजेरो र स्कारपिओहरु यात्रुहरुलाई जिस्काउँदै बसपार्कमै उभिरहेका हुन्छन्।
बसपार्कको उत्तरतर्फको एउटा घरमा सानो बोर्डमा ओविना होटल लेखिएको छ। हामीमाथि शब्दको फायर खोल्ने ओविना होटलका सञ्चालक नै हुन्। उनले भूकम्पमा परेर आफ्नो देब्रे हात गुमाए। हात त गुमाए तर हरेस गुमाएनन्। उनको नाम हो– सुकराम गुरुङ।

सुकरामले झण्डै ३५ मिनट धाराप्रवाह बोले। उनको बोलीमा पीडा मिसिएको आक्रोश थियो। जुन आक्रोशमा पहिलै घिउ थपिसकिएको थियो। मैले एक शब्द बोलिनँ। टाउको हल्लाएर उनको कुरामा सहमति जनाएँ। भूकम्पले बारपाकीका घरहरु भत्काएपछि पत्रकार तथा एनजीओ/आईएनजीओका नाम धारण गरेका ‘जिनिस’हरुले उनीहरुको भावना भत्काएको सहजै बुझ्न सकिन्थ्यो।
उनको आक्रोशलाई हामीले ‘सोमत नभएको’ पसलेको रुपमा बुझ्ने वा हामीले गरेको व्यवहारको प्रतिउत्तर? खुट्याउन सकिरहेको थिइनँ। हामीले हाम्रो समाचारका लागि र एनजीओकर्मीहरुले आफ्नो प्रतिवेदनका लागि उनीहरुलाई नराम्रो गरी गिजोलेका थिए जसको परिणाम थियो – उनको आक्रोश।
सुकराम गुरुङ वैशाख १२ गतेको भूकम्पमा दिउँसो १२ देखि साँझ ६ बजेसम्म भग्नावशेषहरुमा थिचिए। भग्नावशेषहरुबाट निस्कन उनले के नै पो गरेनन् र? त्यो ६ घण्टा उनका लागि जीवनको सबै भन्दा लामो र संघर्षमयी समय थियो।
‘निस्कन भनेर हातले बल लगाएँ, दाँतले ढुँङ्गा टोकेँ, बारम्बार टाउको माथिपट्टि ठोकी रहेँ तर मेरो केही चलेन,’ उनले आफू थिचिएको पल सम्झिए।

उनले न त्यसबेला हरेस खाए न आज खाएका छन्। भन्छन्– ‘मलाई खोज्न मेरा आफन्तहरु आउँछन भन्ने मलाई पूर्ण विश्वास थियो। पछि मलाई उद्धार गरियो। म उहाँहरुलाई कहिल्यै भुल्न सक्दिन।’
त्यस्तो आक्रोशको फरक शैली हामीले उनलाई भेट्नु अघि लाप्राक गुप्सी पाखामा महसुस गरिसकेका थियौँ। बारपाकदेखि पाँच घण्टा लगाएर २७ सय मिटर उचाईमा रहेको लाप्राक पुग्दा दिनको ३ बजिसकेको थियो। लाप्राक पुगेर केही स्थानीयसँग भेट्ने कुरा चल्दै गर्दा हामीलाई गाउँका समाजसेवी मारसिंह गुरुङलाई भेट्न सुझाइयो।
पछि मारसिंह नै हामीलाई खोज्दै आइपुगे। हामी नजिक आउँदै उनले भने– ‘तपाईँहरु को हो र कहाँबाट आउनु भएको ?’ हामीले आफ्नो कथित परिचय दियौँ। उनले मुख खुम्च्याउँदै फुसफुसाए ‘पत्रकार’। उनी कुरा गर्ने मनोभावमै देखिएनन्। तर अर्को दिन छुट्टिने बेलामा पत्रकार भनेपछि हिजो किन मुख खुम्च्याउनु भएको भनेर जिज्ञासा राख्दा उनले भने– ‘कति भन्नु पत्रकारलाई, सञ्चार राज्यको चौथो अंग भएर पनि हाम्रा लागि केही गर्दैनन्।’
मारसिंह र सुकराम यो देशका ती प्रतिनिधि पात्र हुन् जसले सञ्चारमाध्यमलाई नियालिरहेका छन् र उनीसँग नियमित साक्षात्कार गरिरहेका छन्। उनको व्यवहारले के हामीले आफैसँग सात्क्षात्कार गर्न सकेका छौं भन्ने प्रश्न मनमा उठिरहेको थियो।

सुकराम बारपाकमा होटेल चलाएर आफ्नो चार जनाको परिवारको भरण पोषणमा लागेका छन् भने मारसिंह भारतीय सेनाबाट सेवानिवृत्त भए लगत्तै गाउँमा आएर समाजसेवामा जुटेका। ती दुवै ‘आफ्नो पसिनामा बाँच्नु पर्छ’ भन्छन्। मारसिंह आफ्नो पेन्सन समाजसेवामा लगाउँछन्। सुकराम आफ्नो सन्तानलाई असल मान्छे बन्ने प्रेरणा दिइरहन्छन्।
भग्नावशेषमा थिचिएर आफ्नो हात गुमाएका सुकरामले आफ्नो उपचारमा मात्र ४ लाख रुपैयाँ खर्च गरे। होटेलमै उनीसँगै बस्दै गरेका उनका जेठा दाइले पनि भाइको उपचारमा खर्च भएको रकम राज्यले दिन नसकेको गुनासो पोखे। तर सुकराम भने राज्यले आफूलाई व्यवसाय गर्न ऋण देओस् भन्ने चाहन्छन्।
‘सरकारले भूकम्पमा परेकाहरुलाई घर बनाउन २ लाख दिने भएको छ भन्ने सुनेको छु। तर, म भन्छु २ लाख दिनु भन्दा राज्यले हामी जस्तालाई व्याजमा अथवा निरव्याजे पैसा व्यवसाय गर्न देओस्। किनभने घरले खान र परिवार पाल्न दिने होइन व्यवसायले त बस्न र खान दुवै दिन्छ,’ सुकरामले सुनाए।

पाँच भाइमध्येका सुकराम साहिला हुन्। सबै जसो भाइहरु विदेशमा छन्। जेठा दाइमात्र भर्खर इराकबाट बारपाक आइपुगेका छन्। उनले भूकम्पले भत्काएको घरहरु सबै भाइले झण्डै झण्डै पूरा गर्न आँटिसके। तर साहिला सुकरामको नै कुनै टुङ्गो लाग्न सकेको छैन। त्यसमाथि हात नै गुमाएपछि उनलाई ससुरालीले पाल्ने पनि बताएका थिए। तर सुकरामले मानेनन् र आफ्नो होटेल खोले रु – ४ लाख ऋणमा।
होटेलका अधिकांश काम उनी आफैँ गर्छन्। उनलाई सघाउन उनकी पत्नी मायादेवी सक्रिय रहन्छिन्। ‘हामी ठूला मान्छे होइन हेर्नुस्। त्यसैले आफ्नो सबै काम आफैँ गर्नुपर्ने हुन्छ,’ साहिला सुकरामले थपे। केही समय अघि फायर खोलेका उनले सफ्ट लाइन लिए। फायरलाई संवादमा झारे। ‘अब तपाईँ मेरो कुरा टिप्न र छाप्न सक्नु हुन्छ,’ एकाएक उनले भने।
किन त?
प्रश्नमा उनले भने– ‘हेर्नुस् यति मान्छे आउँछन कि उनीहरुले मसँग गरेको कुरा के गर्छन भन्ने पनि थाहा हुँदैन। उनीहरुले मेरो नाम र दुःख बेचेर पैसा कमाउँछन्। हामीलाई केही पनि हुँदैन।’ भूकम्पले अतिप्रभावित ती क्षेत्रका जनताले राहत नपाएको पनि होइन। धेरै भन्दा धेरै राहतको आशा नगरेको पनि होइन। तर यतिले मात्रै राज्य सक्रिय छ भन्न नसकिने रहेछ।
भूकम्पले थिलोथिलो पारेको गाउँमा राज्य निदाएको र आइएनजीओ मौलाएको छ। राज्यका निकायहरुबीच आफैँमा विवाद छ। चाहे त्यो जस लिने होड होस् अथवा कसको निर्देशन कस्ले पालना गर्ने भन्नेमा होस्। यस्ता अनेकौ समस्या देखिन्छन्। तर डोनरहरु विभिन्न नाममा जरा गाड्न तल्लिन छन्।
सयौं–हजारौंको संख्यामा पुग्ने डोनरका एजेन्टहरुले गाउँलेलाई सहयोग नगरेको पनि होइन। तर तिनले तयार पार्ने रिपोर्ट पेपरको मारमा त्यहाँका जनता परेनन् भन्न गारो छ। सञ्चारकर्मीले तयार पार्ने रिपोर्ट र आइएनजीओजले तयार पार्ने रिपोर्टको प्रकृति र त्यसको उद्देश्य के? जनताले कसरी थाहा पाउने? प्रश्नावली कस्तो तयार पार्ने र कुन अवस्थामा कस्तो प्रश्न सोध्ने कसले कसलाई भन्ने/सिकाउने ?
शायद यो प्रयोगशाला हो। यहाँ प्रयोगहरुलाई जायज ठहर्याइन्छ। त्यसैले यसको चिता धेरैलाई छैन्। म पनि त्यसै भित्र पर्छु होला।
ज्ञवाली स्वतन्त्र पत्रकार हुन्।