
- कृष्ण ओली -
अक्सिजनको अभावमा २ जनाको मृत्यु भएको इमरजेन्सी वार्डका सहायक इन्चार्ज मदन श्रेष्ठले स्वीकार गरे। उनले भने,'अझै पनि अस्पतालमा चाहिएजति अक्सिजनका सिलिण्डर छैनन्।' मृत्यु हुनेमा सुर्खेत रामघाटकी ६० वर्षिया शसिला कसेरा र नाम नखुलेका सल्यानका एक पुरुष रहेका छन्। उनीहरु दुवैको १० मिनेटको अन्तरमा ज्यान गएको थियो।
मेडिकल सुपरिटेन्डेन्ट श्यामसुन्दर यादव विदामा रहेकाले अस्पताल निमित्त मेसु दुर्गा लक्ष्मी श्रेष्ठको भरमा चल्दै आएको छ। मेसु यादवले आफु १५ दिनको बिदामा रहेकाले केही थाहा नभएको प्रतिक्रिया दिए। उनले भने, ‘मधेस आन्दोलन र नाकाबन्दीका वेला पनि अक्सिजन पुर्याएको तर यतिवेला के भएको भन्ने बारे थाहा भएन।‘
अस्पतालकी निमित्त मेसु दुर्गा लक्ष्मी श्रेष्ठले भने अस्पतालमा अक्सिजनको अभाव नरहेको दाबी गरिन्।
अहिले पनि अस्पतालको इमरजेन्सी वार्डमा ६ वटा सिलिण्डर रहेको भन्दै उनले विद्युत आपूर्तिमा आएको समस्याले आवश्यक मात्रामा अक्सिजन सिलिण्डर नआएको बताइन्। अस्पतालले ठेक्का मार्फत अक्सिजन सिलिण्डर ल्याउने गरेको छ। भेरी अञ्चल अस्पतालको इमरजेन्सी वार्डमा मध्य तथा सुदुर पश्चिमका विभिन्न जिल्लाबाट दैनिक करिब सय जना विरामी उपचारका लागि आउने गरेका छन्।