PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१ अर्ब ४० करोडमा बनेको ललितपुरको लबिम मल कस्तो छ त?



पहिलोपोस्ट

१ अर्ब ४० करोडमा बनेको ललितपुरको लबिम मल कस्तो छ त?

  • उमेश पौडैल -
काठमाडौं : ललितपुरको पुल्चोकमा व्यवसायिक प्रयोजनका लागि 'टिम क्वेस्ट होल्डिङ्स'ले  चारतल्ले लबिम मल सञ्चालनमा ल्याएको छ। कुल एक अर्ब ४० करोड रुपैयाँको लगानीमा काठमाडौं, ललितपुर र भक्तपुरको व्यापारिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले यो मल सञ्चालनमा आउन लागेको हो।
 
'ओपन मल' कन्सेप्टमा लबिम मल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक नकिम उद्दीनले बताए। टिम क्वेस्टले निकै महत्वकांक्षी लक्ष्यका साथ यो मललाई सञ्चालनमा ल्याउन लागेको हो। काठमाडौको ठमेल र दरबारमार्ग क्षेत्रमा पाउने लगभग सबै सुविधा यहा एउटै मलमा पाइनेछ,' उनले भने।
 
देशमा गएको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण देशमा अधिकांश उद्योग कलकारखाना प्रायजसो ठप्प नै रहे। 'भूकम्पले नेपालको संवृद्धिका हरेक क्षेत्रमा प्रहारमात्र गरेन आर्थिक बृद्धिदरमा निकै ठूलो तगारो ल्यायो। तर त्यसका बाबजुद टिम क्वोस्टले निर्माण कार्यलाई जारी राख्यो र अहिले यो सञ्चालनको तयारीमा छ,' उनले भने।
 
ललितपुर पुल्चोकको आकासे पुलको बाँयातिर लाग्यो भने पुगिन्छ लबिम मल। जुन मलमा अहिले फिनिसिङको काम ९९ प्रतिशत सकिएको छ। लबिम मल चार तल्ला रहेको छ भने मलमा अहिले धमाधम बाँकी फिनिसिङको काम भैरहेको छ।
 
वैशाख १५ गतेदेखि सञ्चालनमा आउन लागेको यो मलका लागि भारतबाट विल्डिङ डिजाइनर र स्पेसलिस्टको टोली ल्याइएको थियो। उनले आर्किटेक्ट पनि दिल्लीबाटै हायर गरिएको जानकारी दिए।
 
मल डिजाइनका लागि थाइल्याण्ड, सिङ्गापुर, हङ्कङ लगाएतका विभिन्न देशहरु घुमेर त्यहाँका मलको जस्तो फिचर नेपालमा भित्र्याउन लागिएको सञ्चालक उद्दिनले बताए।
 
सुरुमा केही पसलबाट मात्र मल सञ्चालनमा ल्याउने र तीन महिनामा सम्पूर्ण मल नै सञ्चालनमा आउने उद्दीनले जानकारी दिए।
 
टिपिकल काठमाडौं, भक्तपुर र ललितपुरको कलालाई यो भवनले प्रतिनिधित्व गर्नेछ। मलमा नेपाली कला र संकृतिमा डिजाइन गरिएको उनले बताए। सुरुमा न्युरोडको विशालबजार कम्पनीले यो हलको निर्माण गरेको थियो भने त्यसलाई रिफर्म र रिडिजाइन गरी यो मलको निर्माण गरिएको उनले जानकारी दिए।
 

तीनवटा अत्याधुनिक क्यूएफएक्स सिनेमा हल

लबिम मलमा तीनवटा अध्याधुनिक क्यूएफएक्स हल सञ्चालनमा छन्। सिनेमा पारखीका लागि यी हल उपयोगी हुन सक्छन्। नेपालमा क्यूएफएक्स हलका आयातकर्ता नकिम उद्दीनले नै यी हल सञ्चालनमा ल्याएका हुन्। १५ करोड रुपैयाँको लगानीमा यी तीन हल सञ्चालनमा ल्याइएको उद्दीनले जानकारी दिए।
 
नेपालमा क्यूएफ्एक्सका कुल ११ वटा हलहरु सञ्चालनमा छन्। विदेशबाट पनि क्यूएफएक्स हल निर्माणका लागि माग आएको उनले बताए। उद्दीनले भने ʽभुटान र सिक्कीमबाट पनि हल निर्माणका लागि अफर आएको छ। समय मिलाएर त्यता पनि व्यावसाय विस्तार गर्ने तयारी गरिरहेको छु।ʼ
 
अत्याधुनिक सुविधासम्पन्न हलमा अत्याधुनिक फोर के भिडियो र फोर ए साउण्ड सिस्टम छ। यी प्रत्येक हलहरु एकसय ८० सिट छन्।
 

विकेन्ड मनाउने फरक शैली र प्रयोग

वैशाख १५ गतेदेखि सञ्चालनमा आउन लागेको यो मलमा प्रत्येक हप्ता फरक र नयाँ कार्यक्रमहरु गर्ने व्यवस्था मिलाइएको छ। नेपालमा कम्तिमा पनि एक हप्तामा केही न केही नयाँ चाडपर्व वा अरु कार्यक्रमहरु पर्ने गरेका हुन्छन, ती लगाएत केही अन्तर्राष्ट्रिय पर्वलाई पनि त्यसमा संलग्न गरेर वर्षको ५२ हप्तामा नै फरक कार्यक्रम गर्ने योजना रहेको सञ्चालक उद्दिनले बताए।
  

युनिलिभरको लेक्मी सैलुन र केभिन्टर्स लस्सी नेपाल भित्रिदै

लबिम मलले नेपालमा नै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सैलुन भित्र्याउन लागेको छ। मलले भारतको युनिलिभर कम्पनीको ल्याक्मी सैलुन नेपालमा ल्याउन लागेको हो। यो सैलुनले महिला तथा पुरुषका लागि सैलुन सम्न्धिब सम्पूर्ण सुविधा दिनेछ। लेक्मी सैलुनको नेपालमा फ्रेन्चाइज भित्रिन लागेको हो। यो सैलुनको भारतबाहेक अरु विभिन्न देशमा फ्रेन्चाइज छन्।
 
केभिन्टर्स ब्राण्डको लस्सी भारतमा निकै चर्चित छ। लस्सी पारखीका लागि काठमाडौंमा राम्रो ब्राण्ड नरहेकाले यसले यहाँ निकै प्रभाव बनाउने उनले बताए।
 

कुन कुन तल्लामा केके रहनेछन् र कति स्पेस

लबिम मल कुल दुई लाख ९० हजार क्षेत्रफलमा फैलिएको छ। ग्राउण्ड फ्लोरमा ब्राण्डेड कपडा तथा जुत्ताका आइटम रहनेछन्। त्यसका लागि भारत, सिंगापुर, थाइल्याण्ड र अन्य विभिन्न देशका ब्राण्डेड पसल राख्न स्पेस बुक भैसकेको छ। ग्राउण्ड फ्लोरमा कुल ४२ हजार स्क्वायर फिट क्षेत्रफल छ। यो तल्लालाई सवै किसिमका ग्राहकको आकर्षणको केन्द्र बनाउने योजना रहेको उनले बताए।
 
त्यस्तै कफी पारखीका लागि हिमालयन जाभाले कफी सप सञ्चालन गरिसकेको छ। मल छिर्ने गेट नजिकै उसले कफी सप सञ्चालनमा ल्याइसकेको छ।
 
पहिलो तल्लामा लेडिज आइटमहरु रहनेछन्। नेपालमा लेडिज आइटमको माग र भेराइटी धेरै हुने भएकाले एउटा पुरै तल्ला लेडिजका लागि छुट्याइएको उनले बताए। यो तल्लाको कुल क्षेत्रफल २५ हजार स्क्वायर फिट छ।
 
दोस्रो तल्लामा विभिन्न मोबाइल कम्पनीका सो रुम, अन्तर्राष्ट्रिय स्तरको सैलुन, मेकअप स्टुडियो, फास्टफुड आइटम र बच्चाका लागि आवश्यक कपडा तथा खेलौनाका पसल रहेनेछन्। यो तल्लाको कुल क्षेत्रफल २५ हजार स्क्वायरफिट छ। फास्टफुडमा थाइल्याण्डको म्याङ्गो चिल्ली, भारतको पञ्जाव ग्रिल जस्ता ब्राण्ड पनि रहनेछन्।
 
लबिम मलको तेस्रो तल्लामा सेमिनार हल रहनेछ भने चौथो तल्लामा लाउन्जको व्यावस्था गरिएको छ।
 

फ्रेन्चाइज मलका रुपमा विकास गर्ने योजना

लबिम मलले आफ्नो पहिलो योजना सफल भयो भने देशका विभिन्न सहरहरुमा यो जस्तै अरु मलहरु निर्माण गर्ने योजना बनाएको सञ्चालक उद्दीनले बताए। ʽएउटै मलमा धेरैथरी टेस्ट दिएपछि पक्कै पनि मानिसहरुको सोच बदलिन्छʼ, उनले भने ʽयस्तै हलको रेप्लिकेवल गर्न सक्ने अवस्था आउन सक्छ र त्यसका लागि हामी तयार छौं।ʼ
 
रेप्लिकेवल मलका रुपमा विकास गर्न लबिम (ललितपुर बिशालबजार मल्टिप्लेक्स कम्पनी लिमिटेड) नामको ट्रेडमार्क नै दर्ता गरिसकेको उनले बताए। यसमा उद्दीनसहित भाष्कर ढुङ्गाना र राजेश सिद्दी  गरी तीनजना सञ्चालक छन्।
 
नेपालका हलहरुमा सबैभन्दा समस्या भनेको पर्याप्त पानी, पार्किङ र वाथरुमको रहेको भन्दै उनले मलमा यी सबैको पर्याप्त व्यवस्था गरिएको बताए। उनले भने ʽपैसाको कुरामात्र हैन व्यवस्थापन गरेर राख्नु र त्यसलाई व्यवस्थित ढङ्गले चलाउन सक्नु नै ठूलो उपलब्धि हो।'
 

पार्किङ सुविधा

लबिम मलमा अन्डरग्राउण्डमा दुइतल्लाको पार्किङ सुविधा छ। पार्किङको पहिलो तल्लामा सय भन्दा धेरै कारहरु अटाउन सक्ने व्यवस्था मिलाइएको छ भने अर्को तल्लामा मोटरसाइकलका लागि स्पेस छुट्याइएको छ।
 
बेसमेन्टमा सवारीसाधनको आवतजावत सजिलो होस् भनेर एकतर्फबाट भित्रिने र अर्कोतर्फबाट बाहिरिने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell