PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौं भित्र कुन कुन सडकमा हुँदैछ कालोपत्रे ? हतारमा किन भइरहेछ काम?



पहिलोपोस्ट

  • पवन तिमिल्सिना -
काठमाडौं : काठमाडौंका सडकमा धुलो र धुँवाले सास्ती भोग्नुपरेको छ। बिहान कामका लागि निस्किएको व्यक्ति घर फर्किँदा धुलाम्ये हुन्छ। तर काठमाडौंका धुलाम्मे सडक निर्माण जारी छ।
 
अबको केही दिनमा धेरै सडक कालोपत्रे हुनेछन्। धुँवा होइन धुलोको सास्ती भने कम हुनेछ। सडक विभागले काठमाडौका सडक पुर्ननिर्माणको काम गरिरहेको छ त्यो पनि तीब्र रफ्तारमा। भूकम्प र नाकाबन्दीले रोकिएको कामलार्इ यही आर्थिक वर्षभित्रै सकाउने गरी काम भइरहेको हो। चालु आर्थिक वर्षमा अधिराज्यभर सडक निर्माण तथा पुल निर्माणका लागि ४८ अर्बको बजेट छुट्टाएको थियो। जस अनुसार काठमाडौं उपत्यकामा दुई अर्ब ५५ करोड ५८ लाख दस हजार रुपैयाँ विनियोजित थियो।
   
डिभिजन कार्यालय काठमाडौंका अनुसार रोहिणी मार्ग, पुजा प्रतिष्ठान मार्ग, टंक प्रसाद मार्ग, महादेवस्थान मार्ग, हात्तीगौंडा मार्ग, पिपलबोट मार्ग, लाल बहादुर मार्ग, जेपी मार्ग, पन्डोल मार्ग महाराजगञ्जदेखि सुकेधारा खण्ड लगायतका सडकहरु निर्माण भइसकेका छन्। आरुबारी-माहांकाल, बालकुमारी-जडिबुटी, गुह्येश्वरी-जोरपाटी, हाडिगाँउ मार्ग, रत्नपार्क स्कुलदेखि संगम चोक तथा लाखे चोक मार्ग, ज्ञानज्योती मार्ग, गणेश स्कुलदेखि बंगाली लगायतका करिब १४ सडकहरु कालोपत्रे गर्न बाँकी रहेको डिभिजन कार्यालय काठमाडौं १ का प्रमुख धर्मेन्द्र झाले बताए। जेष्ठको अन्तिम सातासम्ममा काम सक्ने गरी निर्माणलार्इ तीब्रता दिइएको उनले बताए।
 
काठमाडौंका मुख्य सडक निर्माण गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विभिन्न स्थानमा सडकहरु चौडा पार्ने काम गरिरहेको छ। आयोजना प्रमुख मनोज श्रेष्ठका अनुसार एयरपोर्टदेखि सिनामंगलसम्म सडक खण्ड, बागदरबारदेखि पुतलीसडक, सेन्ट जेभियर्स हुदै सिनामंगलसम्मको साढे तीन किलोमिटर सडकमा तीव्ररुपमा काम भरहेको छ। बालाजु पुलदेखि शोभा भगवती, बुढानिलकण्ठदेखि टोखा र जडिबुटीदेखि पेप्सिकोला लगायतका मुख्‍य सडकमा अझै काम बाकी रहेको उनले जानकारी दिए।
 
डिभिजन सडक कार्यालय काठमाडौं २ का सुचना अधिकारी केशव ओझाका अनुसार काठमाडौंका विभिन्न ठाँउका २ सय २० साना सडकहरु, १५ वटा पर्यटकीय तथा क्षेत्रीय सडक तथा ३१ वटा मुख्‍य सडकहरुमा काम भइरहेको छ। सामान्यतया आठ मिटर भन्दा कम चौडाई भएका सडक निर्माणको जिम्मा नगरपालिकाको हुन्छ भने आठ देखि १४ मिटरसम्म डिभिजन सडक कार्यालयले काम गर्छ। सो भन्दा बढी चौडाई भएका सडकका लागि सडक विस्तार आयोजनाले काम गर्ने सडक विभागका प्रवक्ता दयाकान्त झाले बताए।
 
काठमाडौं उपत्यकाका १४ मिटर भन्दा बढी चौडाई भएका सडकहरु निर्माण गर्ने जिम्मा पाएको काठमाडौं सडक विस्तार आयोजनाको भागमा ४५ करोड ३५ लाख रुपैयाँ परेको छ भने बाँकी चार डिभिजन सडक कार्यालयका लागि छुट्टाछुट्टै बजेट परेको विभागले जनाएको छ। काठमाडौं जिल्ला अन्तर्गतका दुई डिभिजन सडक कार्यालय काठमाडौं १ का लागि ५७ करोड १४ लाख ३० हजार तथा  डिभिजन सडक कार्यालय काठमाडौं २ को भागमा ६६ करोड ४६ लाख ८८ हजार रुपैयाँ परेको छ। त्यस्तै ललितपुर जिल्लाको डिभिजन सडक कार्यालयका लागि ४१ करोड ४६ लाख ३५ हजार रुपैयाँ छुट्ट्याइएको छ भने भक्तपुरको डिभिजन सडक कार्यालयको भागमा ४५ करोड १५ लाख ६७ हजार रुपैयाँ परेको विभागले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell