PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

किन माग्दैछ राजश्व अनुसन्धानले तीन पुस्ते ? व्यापारी भयभित, भन्छन्, 'चन्दा आतंकभन्दा चर्को'



पहिलोपोस्ट

काठमाडौं : राजस्व अनुसन्धान विभागले व्यवसायिक फर्ममा अनुसन्धान गर्न जाँदा तीनपुस्ते माग्न थालेको छ। विभागले नागरिकतासँगै तीनपुस्ते माग्न थालेपछि उद्योगी/व्यवसायी आंतकित बनेका छन्।
 
एक व्यवसायीका अनुसार कुनै पनि फर्ममा छापा मार्नेवित्तिकै विभागका कर्मचारीले कम्पनीका संचालक, बाबु र हजुरबुबाको समेत नागरिकता माग्न थालेका छन्। ‘पछिल्लो समयमा ह्वाइट कलर(सरकारी कर्मचारी)बाट व्यवसायी आंतकित भएका छन्। विभागका कर्मचारीले अनावश्यक रुपमा व्यवसायीलाई चाहिँदो/नचाहिँदो कागजपत्र मागेर धम्क्याउने गरेका छन्,’ एक पीडित व्यवसायीले भने, ‘अनावश्यक कागजपत्र मागेर व्यवसायीलाई त्रसित बनाउन काम भएको छ।’ ती व्यापारीका अनुसार विभागले राजस्व छलीका मुद्धामा अनुसन्धान गर्ने भए पनि सम्पत्तिको स्रोत समेत खोज्न थालेको हो।
 
‘तपाईँको सम्पत्ति कसरी यति धेरै भयो? तपाईँको बुबाले के काम गर्नुहुन्थ्यो?,’ ती व्यापारीले भने, ‘सम्पत्तिको स्रोत खोज्ने काम विभागको हो की सम्पत्ति सुद्धिकरणको हो?’ ती व्यापारीका अनुसार कतिपय व्यवसायीसँग लालपुर्जा समेत मागिएको छ। ती व्यापारीका अनुसार नागरिकता माग्नेमा अधिकांश माडवारी समुदायका व्यवसायी परेका छन्। ती समुदाय नै सबैभन्दा बढी आंतकित पनि छन्। ती व्यापारीका अनुसार कुनै पनि फर्ममा छापा मारेकै दिन ‘मिलाउन’का लागि समेत दबाब आउँछ।
 
‘कुनै फर्ममा छापा हान्नेबित्तिकै बेलुकातिर मिलाउन कुनै ठाउँमा भेट्न कर्मचारीकै फोन आउँछ,’ ती व्यापारीले भने, ‘राजनीतिक दलको चन्दा भन्दा पनि भयानक रुपमा अहिले विभागका कर्मचारी परिचालित छन्।’ विभागले पछिल्लो समयमा हुन्डी, मनी एक्सचेन्ज, कन्सल्टेन्सी लगायतमा राजस्व छलीको अनुसन्धान गरिरहेको छ। विभागका महानिर्देशक निर्मलहरी अधिकारीले सबै अनुसन्धानमा नागरिकता र तीनपुस्ते नमागिएको बताए।
 
‘सबै केसमा नागरिकता मागिएको छैन। कुनै/कुनै केसमा बैंक खाता र स्टेटमेन्ट हेर्नुपर्ने अवस्था पनि हुन्छ। खास गरेर हुन्डी कारोबारीको हेर्नुपर्ने अवस्थामा नागरिकता मागिएको हो,’ उनले भने, ‘राष्ट्र बैंकमार्फत् उसको बैंक खाता हेर्नका लागि ‘नो योर कस्टुमर’ लागु भएकाले तीनपुस्ते नभई स्टेटमेन्ट नै पाइँदैन। यो कार्यान्वयन भएकोले हामीले तीन पुस्ते मागेका हौं।’ उनका अनुसार बैंक स्टेटमेन्ट माग्नुपर्ने र बैंक खाता रोक्नुपर्ने हकमा मात्रै तीनपुस्ते खोजिएको हो।
 
उनका अनुसार अत्यन्तै ‘डेप्थ इन्भेस्टिगेसन’मा मात्रै लालपुर्जा खोजिएको छ। ‘सबैमा लालपुर्जा खोजिँदैन। अहिले एउटा मुद्धामा जग्गा र सेयरमा लगानी भएर मागिएको छ,’ अधिकारीले भने, ‘सबै मुद्धामा लालपुर्जा मागिँदैन।’ उनले नागरिकता मागेको बारेमा गुनासो आएपछि मुद्धाको फाइलमै नागरिकता माग्नुको प्रयोजन खुलाउन कर्मचारीलाई आग्रह गरेको बताए।
 
‘नागरिकता माग्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्रै हुन्छ भन्ने पनि गुनासो आउनसक्छ भनेर मैले अनुसन्धान अधिकृतहरुलाई बोलाएर फाइलमै प्रयोजन खुलाउन भनेको छु,’ महानिर्देशक अधिकारीले भने, ‘ अधिकृतले फाइलमा उल्लेख गरेको आधारमा नागरिकता माग्न निर्देशन दिएको छु। हामीले नागरिकताको वैद्यता खोजेको होइन।’ विभागले राजस्व चुहावट, आर्थिक अपराध अनुसन्धान र नियन्त्रण, विदेशी विनिमयको अवैध ओसार पसार तथा अपलनको अनुसन्धान गरी मुद्धा दायर गर्ने कार्य क्षेत्र रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell