PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बाबुराम भन्छन्- मधेशमा दुई प्रदेश नै समस्याको समाधान



रमेश वाग्ले

बाबुराम भन्छन्- मधेशमा दुई प्रदेश नै समस्याको समाधान

  • रमेश वाग्ले/पहिलोपोस्ट
काठमाडौँ : नयाँ शक्ति अभियान नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसमा दुई प्रदेश नै समस्याको समाधान भएको तर्क गरेका छन्।राज्यको अहंलाई झुकाउन अहिले चलिरहको मधेसी आन्दोलनको केही जोर नचल्ने दाबी पनि उनले गरे। 

मधेसको भ्रमण सकेर फर्किएपछि मधेसका बुद्धिजीवीहरुसँगको अन्तरक्रियामा बोल्दै उनले क्षेत्रीय आन्दोलनले मात्र केही निष्कर्ष दिन नसक्ने बताए। 'मधेसमा जुन प्रकारको शक्ति छ, त्यसमा आदिवासी जनजाति र खसआर्यलाई पनि समेट्नुपर्छ,' नयाँ शक्ति कार्यालय बबरमहलमा उनले भने, 'तबमात्रै अहिलेको समस्या समाधान गर्न राज्यलाई झुकाउन सकिन्छ।'

मधेस आन्दोलनको पाँच महिना यसै तुहिएको भन्दै उनले मधेसी जनतामा हारको मनस्थिति देखिएकाले विस्फोटनको खतरा ‍औंल्याए।
'खसआर्य, आदिवासी, जनजाति र थारु-मधेसीकै समग्रतामा नेपाल राज्यको निर्माण भएको हो,' भट्टराईले भने, 'नेपालको राष्ट्रियता मजुबत बनाउनका लागि यी समुदाय पुन: एकै ठाउँ उभिनु आवश्यक छ।'

आफूले मधेसको अवस्था बुझ्नका लागि सप्तरीको भारदहदेखि नवलपरासीसम्म घुमेर आएको बताउँदै उनले मधेस र पहाड छुट्टिने विषयमा भइरहेको बहस व्यर्थ भएको टिप्पणी गरे। 'मधेस पुग्दा म प्रस्ट भएँ, यो अत्यन्त गलत बहस हो,' उनले थपे, 'सुगौली सन्धिले दुईतिर पारिएकाहरु पनि कष्ट सहेरै यता बस्न चाहेका छन्।'

पहाडे राष्ट्रवादमा प्रचण्ड पनि 


केपी ओली र कमल थापाको पहाडे राष्ट्रवादसँग अहिले प्रचण्ड पनि जोडिन पुगेको उनको आरोप छ।

'त्यस बेलै संविधानको विषयवस्तुमा सुधार हुन सक्थ्यो तर केपी र प्रचण्डको सत्तास्वार्थले हुन सकेन,' उनले प्रस्ट पारे, 'मलाई धेरैले संविधानमा किन हस्ताक्षर गरेको भनेर पटकपटक प्रश्न गरे, तर मैले सार्वभौम जनता र राष्ट्रका लागि गरेको थिएँ।
 

आदिवासी जनजातिबारे

आदिवासी र जनजातिका बारे पनि भट्टराईले खुलेर कुरा गरे।

गुरुङ र मगर गोर्खा राज्य विस्तारमा संलग्न भएको हिन्दुकरणकै प्रभावमा रहेको भन्दै उनले थपे, 'उनीहरुबाट आन्दोलन सम्भव देखिँदैन। दमनमा परेको तामाङ समुदायबाट आवाज उठेको छैन, तत्काल उठ्न सक्ने अवस्था पनि देखिँदैन।'

लिम्बुको केही शक्ति बाँकी रहेको भन्दै उनले लिम्बु, तामाङ, मधेसी र खसआर्य सहितको संयुक्त आन्दोलनमा जोड दिए।

अहिलेको संघीयतालाई उनले कमिङ टुगेदर नभई होल्डिङ टुगेदरको संज्ञा दिए। 'कांग्रेस-एमाले संघीयतावादी होइनन्, त्यसैले अब संघीयता कार्यान्वयन गर्न सक्ने नयाँ शक्तिको आवश्यकता छ,' उनको भनाइ थियो, 'तर क्षेत्रीय शक्ति हाबी हुँदा चीन र भारतको स्वार्थ बढ्न सक्छ, अरु विदेशीहरु पनि हाबी हुँदा नेपाल कन्फ्लिक्ट जोनमा परिणत हुन सक्छ।'

नेपालीपन र नेपालीबारे बहस आवश्यक भए पनि  ओली नेतृत्वले महेन्द्रकालीन अन्धराष्ट्रवाद फैलाइरहेको उनले दोहोर्‍याए। 'त्यसले जनता र राज्यबीच लडाइँको खतरा बढाउँदै छ,' भट्टराईले भने, 'नेपाललाई अन्तर्राष्ट्रिय द्वन्द्वभूमि बनाउनुअघि नै बचाउन आवश्यक छ।'

अन्तरक्रियामा विश्लेषक तुलानारायण शाह, गणेश मण्डल, अधिवक्ता दीपेन्द्र झा, सुरेन्द्र महतो, प्राज्ञ रमेशरञ्जन झा र नेताहरु पासाङ शेर्पा, खिमलाल देवकोटा लगायत सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell