PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउनमा



पहिलोपोस्ट

नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउनमा

काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिता अन्तर्गत चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते हुने भएको छ।
 
विश्व क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा आगामी साउन २९ र ३१ गते खेल्न लागेको हो। 
 
त्यसपछि नेपालले हङकङ, केन्या र यूएईसँग बाँकी चरणका खेल खेल्नुपर्नेछ। प्रत्येक चरणमा दुई/दुई खेल खेल्नुपर्ने प्रावधान छ।
 
यही वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको थियो। नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ।
 
घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई वैशाख ४ गते शनिबार पाँच विकेट र वैशाख ६ गते सोमबार तीन विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारभित्र रहने सम्भावना जीवितै राखेको थियो।
 
नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो।
 
विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ। उसले अहिलेसम्म खेलेका छ मध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ। त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ। नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २/२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् ।
 
सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन्। त्यसमध्येका शीर्ष चार टोलीले एकदिवसीय विश्वकपको छनौट चरणमा खेल्न पाउनेछन्। छनौट चरण पार गर्नेले सन् २०१९ मा इङल्यान्डमा हुने विश्वकप खेल्न पाउनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell