PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

मुस्ताङमा यसरी चलिरहेछ चौरीको रगत पिउने मेला

मुस्ताङमा यसरी चलिरहेछ चौरीको रगत पिउने मेला

पहिलोपोस्ट /पहिलोपोस्ट


  • शब्द/तस्बिर : हरिहर योगी -​
मुस्ताङ : वारीपारी सेताम्मे धौलागिरी र टुकुचे हिमाल, त्यहाँबाट बगेका कलकल गर्ने हिमछाँगो। हिमाली मरुभूमि भनिए पनि धुपी र सल्लाका प्रशस्त हरियाली। नजिकै प्रख्यात र सुन्दर थाक्साङ भिलेजको काखमा रहेको बोक्सीखोलाको किनार। मुस्ताङको कोवाङ गाविसको यही शान्त सुन्दर बोक्सीखोलाको किनारमा चौँरी गाईको आलो रगत पिउने मेला सुरु भएको छ।

मेलामा मुस्ताङी भन्दा म्याग्दी, तनहुँ, पर्वत, बुटवल, काठमाडौंबाट रगत पिउन आउनेको घुइँचो छ। आफ्नै गाडी, मोटरसाइकलमा जोडीमा, परिवारसहित रगत खान भनेरै आउने प्रशस्त भेटिन्छन। रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वृद्दहरुसमेत लिएर आएको देखियो।
 
रगत पिउने मेलाबाट किसानलाई आकर्षक आम्दानी हुन्छ। एउटा वयस्क चौंरीबाट २५ गिलाससम्म रगत निकाल्न सकिने स्वंयसेवक बताउँछन्। तर वैशाखको मेलामा भने दुब्ला चौंरीमात्र देखिन्थे। प्रति गिलास रु २०० मा बिक्री गर्दा पनि हरेक दिन एक लाख रुपैयाँ भन्दा बढीको रगत बिक्री हुन्छ।
 
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत पिएमा ग्याष्टिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोगसमेत निको हुने बढ्ने विश्वास गरिन्छ। त्यही विश्वासमा रगत पिउनेहरु बढी आउने गरेका छन्। उच्च रक्तचाप भएकालाई रगत पिउन दिइन्न।
 
पालो परेको गोठको चौंरी ल्याएर राखिन्छ मेलामा। २०० रुपैयाँ दिएर नाम लेखाएर कम्तिमा दश जना भएमा चौंरी ल्याएर रगत निकालिन्छ। एउटा चौंरीको रगत निकाल्न चार जना व्यक्ति चाहिन्छ। चौंरीलाई अगाडिको दुई खुट्टा र जीउ बाँधेर घाँटीको रौं निकालेर सानो खालको चक्कुले नशा काटेर रगत निकालिन्छ। अनि तरर् झर्ने रगत गिलासमा थापेर बेचिन्छ। यसरी थापेको रगत कोही नाक थुनेर, आँखा बन्द गरेर रगत खाइरहेका हुन्छन्।
 
मेलामा रगत मात्र हैन, रक्सीको पनि राम्रो व्यापार हुन्छ। रगत निकालिएको चौंरी काटेर मासु, सकुटी, पुच्छर, टाउको, खुट्टा सबैको राम्रो बिक्री हुन्छ। सुकुटी प्रतिप्लेट ६०० रुपैँयामा बिक्री हुन्छ भने वयस्क चौंरी काट्दा १ लाख सम्म आम्दानी हुने किसान बताउँछन्। मेलामा परम्परागत तारो हान्ने खेल, दोहोरी पनि हुने गर्छ।
 
मेलाकै लागि भनेर जापानबाट समेत स्वंयसेवी डाक्टर आएका छन्। तर उनीहरुलाई रगत निकालिने चौंरीको स्वास्थ्य परीक्षण गर्न दिँदैनन स्थानीयले। रोग नलागेको चौंरीबाट रगत निकालेर बेचिनु पर्ने भए पनि त्यो हुँदैन। स्थानीय समेत त्यसबारे सचेत छन् तर परम्परा र आम्दानीको बाटो बिगार्ने आरोप लाग्ने डरले बोल्दैनन्।  ‘रगत पिएर कुनै रोग सञ्चो हुन्छ भने पनि अहिलेसम्म परीक्षण भएको छैन,’ स्थानीय नरबहादुर हिराचन भन्छन, ‘चौंरीको परिक्षण गराएर रगत निकाले मेलाको विश्वसनीयता बढ्थ्यो।‘
 
चौंरी मोटायो भने धेरै अल्छी हुन्छ भनेर रगत निकालेको तर्क पनि नसुनिने हैन। तर देख्दै दुब्ला पातला चौंरीकै रगत निकालेको देख्दा त्यो तर्क कसले पो मान्न सक्ला र? रगत निकाल्नु चौंरी र रगत पिउनु मानिसकै स्वास्थ्यका लागि कति वैज्ञानिक छ? यसरी सुन्दर गाँउमा हिंसा झल्किने अमानवीय कामलाई परम्पराको नाममा निरन्तरता दिन एक पटक सबैले सोच्नै पर्छ।


ट्रेन्डिङ पोस्ट

Ncell