PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मधेसका बुद्धिजीवी भन्छन् - 'मधेस आन्दोलन सफल पार्न खस आर्य नेतृत्व आवश्यक'



रमेश वाग्ले

मधेसका बुद्धिजीवी भन्छन् - 'मधेस आन्दोलन सफल पार्न खस आर्य नेतृत्व आवश्यक'

  • रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौँ : २०६३ सालको मधेस विद्रोहका क्रममा पहाडीलाई घरबास छोडेर भाग्नसम्म बाध्य पार्यो। त्यहाँबाट चर्किएको मधेसी र पहाडी समुदायबीचको मनोवैज्ञानिक द्वन्द्व अहिलेसम्म समाधान र सम्बोधन हुन सकेको छैन। 

गएको २०७२ साल असोज ३ गते संविधान जारी गर्नु अघिदेखि सुरु भएको मधेस आन्दोलन संविधान जारी भएको चौथो दिनदेखि नाकाबन्दीमा परिणत भयो। करिब साढे चार महिना नाकाबन्दीसहितको आन्दोलन जारी रह्यो। मधेसमा एक प्रकारको निषेधपूर्ण र सशक्त आन्दोलन करिब छ महिनासम्म जारी रह्यो। तर ५० भन्दा बढीको ज्यान गएको आन्दोलन बिना कुनै ठोस निस्कर्ष रोकियो। 

पछिल्लो आन्दोलनले मधेसबाट पहाडिया समुदायका व्यक्तिहरुलाई नै लखेट्ने पुरानो स्वरुप त धारण गरेन तर पनि यसले पहाड र मधेसको मन विभाजनमा भने थप मलजल गर्योग। पहाडिया समुदायले मधेसले नाकाबन्दी गरेर 'पहाडलाई अभाव र महंगीमा रुमल्लाएर अमानवीय काम गर्न पछि परेन' भनेर सोच्यो भने मधेसी समुदायले 'मधेसलाई पहाडिया शासक वर्गले संविधानमा अधिकार दिएन र दिँदैन' भनेर विद्रोह गरिरह्यो। 

यो जटिल अवस्थाको समाधान के हुन सक्छ त?

मधेसका बुद्धिजीवीहरु भन्छन् 'मधेसी जनता अहिले पनि आन्दोलनमा छन् तर त्यो आन्दोलन खस आर्य समुदायले नै नेतृत्व नलिँदासम्म सफल हुँदैन।' 

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो भन्छन्- मधेसको आन्दोलन सफल हुनका लागि खस आर्यको तर्फबाट इमान्दार नेतृत्व आवश्यक छ। 'मधेसको आन्दोलनलाई यहाँसम्म पुर्या्उने काम माओवादीले नै गरेको हो त्यहाँपनि खस आर्य नेतृत्व भएकैले यहाँसम्म आउन सफल भएको हो' वरिष्ठ अधिवक्ता महतोले भने, 'अब त्यसरी धोका नदिने खस आर्यको इमान्दार नेतृत्व पाए मात्र मधेसको आन्दोलन सफल हुन्छ।'

महतोले खस आर्यको नेतृत्व पाउन त्यति सहज भने नभएको बताए। 

उनले महेन्द्रयुगीन राष्ट्रवाद अहिले अझ उचाइमा पुगेको भन्दै शासक देखि शासितसम्मको 'खतरनाक मानसिकता' देखिएको बताए। 'अहिले प्रधानमन्त्री केपी ओली मात्र हैन, एउटा खस आर्य समूहको माग्नेसम्मको एउटै मानसिकता देखिएको छ' उनले भने, 'जसले मधेसीलाई भारतबाट परिचालित र विखण्डनकारी शक्तिका रुपमा बुझेको छ।' 

उनले यो मानसिकता खस आर्य राष्ट्रवादका पक्षधरहरुका लागि सुखद् नै भए पनि देशको एकता र सद्भावका लागि 'खतरनाक' भएको बताए। 

'यो अवस्था खस आर्य राष्ट्रवादका पक्षधरहरुका लागि उत्साहप्रद अवस्था नै हो र पेलेर जान सक्ने अवस्था हुने हो भने यो मानसिकता राष्ट्रवादको एउटा आधारशीला बन्न सक्थ्यो' उनले भने, 'तर यो लामो समयसम्म जान सक्दैन, डेमोग्राफीले त्यही भन्छ।' 

उनले मधेसको ६ महिना चलेको आन्दोलन यतिकै टुंगिदा मधेसी जनता 'हारको मानसिकतामा रहेको' तर पनि 'लडाकु मानसिकता' भने नत्यागेको बताए।

मधेस विश्लेषक तुलानारायण शाहले 'खस आर्य नेतृत्व भएन भने मधेस आन्दोलन सफल हुँदैन भनेर आफूलाई पनि लागिरहेको' बताए। 
छ महिनासम्म भएको आन्दोलन सफल नभएपछि मधेसी दलहरु चुनावी तयारीतिर लागेको भन्दै त्यसले मधेसी दलहरुलाई केही सिट फाइदा पुर्यााए पनि स्थायी समाधान नदिने उनले बताए। 

'मलाई पनि मधेसको आन्दोलन खस आर्यसँग नजोडिकन सफल हुँदैन भन्ने नै लागेको छ' साहले भने, 'तर आन्दोलनमा रहेका मधेसी दलले बिना शर्त संसद् आएर सुशील कोइरालालाई भोट हाले पनि कांग्रेसले मधेसका विषयमा बटमलाइन बनाएन। त्यसैले कांग्रेसलाई दबाब दिन आवश्यक छ।'

उनले मधेस आन्दोलन सफल नुहँदा धेरै मानिसमा निराशा बढेको बताए। 'मधेस आन्दोलन सफल नहुँदा मोडरेट फोर्स कमजोर भएको छ' उनले भने, 'मधेसका नेताहरुले हार्यौँ  भन्न त सकेका छैनन् तर उनीहरु भोटको राजनीतिमा लागिसकेका छन्।' 

उनले भोटको राजनीतिले मधेसी दललाई केही फाइदा दिएपनि स्थायी समाधान हुन नसक्ने बताए। मधेसी, थारु, खस-आर्य र आदिवासी जनजातिलाई मिलाउने गरी मधेसमा दुई प्रदेश विवादको एउटा समाधान हुनसक्ने उनले बताए।

अर्का अधिवक्ता दीपेन्द्र झा केपी ओलीले लगाएको राष्ट्रियताको नाराले समाज लठ्ठ बनिरहेको बताए। 

'मधेसमा पहाडिया शासकले हामीलाई संविधानमा अधिकार दिएन र दिँदैन भन्ने मानसिकता जकडिएको छ' झाले भने, 'पहाडमा केपी ओलीको जस्तो मधेसीहरु विखण्डनकारी शक्ति हुन् र उनीहरु भारतको सहयोगमा आन्दोलन चर्काइरहेका छन् भन्ने बुझाइ छ।'

उनले समाधानका लागि पहाडलाई पनि मधेसमा मिसाएर संघीयताको नयाँ ढाँचा तयार पार्न सकिने सुझाए। उनले पाँच वटा प्रदेशलाई एउटा मापदण्ड बनाएर मधेस र काठमाडौँ जोडिएको प्रदेशमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेर मधेस र पहाडलाई जोड्न सकिने बताए।

झाले अदालतमा पनि पहाडिया राष्ट्रवादको प्रभाव रहेको भन्दै त्यो अझ खतरनाक हुने बताए। '२१ राजदुत सिफारिस हुँदा अहिलेकै संविधानको ठाडो उल्लंघन भयो' झाले भने, 'मैले संविधान उल्लंघन गरियो भनेर सर्वोच्चमा रिट हालेँ, प्रधानन्यायाधीशले नै हेरेर पनि अन्तरिम आदेश समेत दिएनन्।' 

जब भएको संविधान उल्लंघन हुँदा सर्वोच्चले बेवास्ता गरिदिन्छ भने संविधानको कार्यान्वयन कसरी हुन्छ भन्दै उनले प्रश्न उठाए। 

मधेसकै अर्का विश्लेषक गणेशकुमार मण्डलले आज पनि कांग्रेसी मधेसी सबंभन्दा बलिया रहेको भन्दै मधेस आन्दोलन सजिलै सफल हुने अवस्था नरहेको बताए। 

'अहिले मधेसी मात्र भएको भनेर तोकिएको २ नं प्रदेशमा ४४ लाख पहाडिया खस-आर्य छन्' मण्डलले भने, 'त्यसबाहेक १८ लाख थारु, १२ लाख मुस्लिम र १४ लाख दलित छन्।' 

खास मधेसी खस आर्यकै हाराहारीको संख्यामा मात्र रहेको भन्दै त्यसमा पनि ठूलो विभाजन रहेको उनले बताए। 

'आज पनि मधेसमा सबैभन्दा बलिया कांग्रेसी मधेसी नै छन्, त्यसपछि एमाले मधेसी र माओवादी मधेसी छन्' उनले भने, 'खास मधेसीमा पनि १४ प्रतिशतको हाराहारीमा रहेका ब्राह्मण राजपुतहरुले ८५ प्रतिशत अवसरमा कब्जा जमाइरहेका छन्।' 

उनले अहिले पनि पहाडिया झरेको केही दिनमै मधेसीले स्वीकारे पनि मधेसीलाई पहाडियाले कहिल्यै स्वीकार नगरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell