PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

जेलको कथा सुनाउँदै प्रधानमन्त्रीले भने- 'कुरा काट्नेहरु पुनर्निर्माण स्वयंसेवामा जानुस्'



रमेश वाग्ले

जेलको कथा सुनाउँदै प्रधानमन्त्रीले भने- 'कुरा काट्नेहरु पुनर्निर्माण स्वयंसेवामा जानुस्'

  • पहिलोपोस्ट
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणमा सरकारले काम गरेन भनेर कुरा काट्नेहरुलाई एक महिना स्वयंसेवामा जान आग्रह गरेका छन्। पुनर्निर्माणमा जाने इन्जिनियरहरुको अभिमुखीकरण तालिम समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले कुरा काट्नजस्तो सजिलो काम गर्न नहुने भन्दै पार्टीहरुलाई पनि एक महिना स्वयंसेवक परिचालन गर्न आह्वान गरे।

'सरकारले पुनर्निर्माण गरेन भनेर कुरा काट्नेहरु धेरै छन्, म चाहन्छु- कुरा काट्ने सबै एक महिना पुनर्निर्माणको काममा स्वयंसेवा गर्न जाऊन्,' प्रधानमन्त्री ओलीले भने, 'अनि थाहा हुन्छ, काम गर्न र कुरा काट्न फरक रहेछ भनेर।' उनले त्यसो भनेर आफ्नै कथा समेत सुनाउन भ्याए।

'एकपटक गाउँमा खोला पस्यो, हामी सबै रोक्नका लागि काम गर्दै थियौं, एक जना सुटबुटमा आएर सिकाउन थाले- यो भएन, त्यो भएन,' उनले जोडे, 'अनि मैले भनेँ- जुत्ता खोल्नुस् या लाउनुस् तर तपाईं नै यहाँ अाउनुस्।'

प्रधामन्त्रीले कुरा काट्नेहरुप्रति कटाक्ष गरे पनि पुनर्निर्माणको काममा ढिलाइ भएकोमा स्वीकार गरे। उनले त्यसमा पनि आफ्नै जीवनको अर्को कथा सुनाउन भ्याए। 

'म जेलमा रहँदा अब त छुट्छु जस्तो लाग्थ्यो, म्याद थपेर अर्को पुर्जी आइहाल्ने, अब त छुट्छुहोला भन्यो फेरि नयाँ पुर्जी; एक दिन साँच्चिकै छुट्दा त पत्यारै लागेको थिएन,' उनले भने, 'भूकम्प पीडितहरुलाई पनि यस्तै भएको छ। सरकारले राहत दिन्छ, घर बनाउँछ भनेर पत्याउन छोडिसके तर अब सरकारले अब पुनर्निर्माण सुरु हुन्छ, नपत्याई धर छैन।'

प्रधानमन्त्री ओलीले सरकारले के गरिदिन्छ भन्ने भन्दा पनि आफू के गर्छु भन्ने योजना बनाएर अघि बढ्न भूकम्प पीडितलाई सुझाव दिए। 'सरकारले प्राविधिक सपोर्ट मात्र गर्ने हो त्यसका लागि हामीले इन्जिनियर पठाएका छौ,' उनले भने, 'कस्तो बनाउने भन्ने निर्णय तपाईंहरुले नै गर्ने हो।'

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयले राखेको पुनर्निर्माणका लागि जाने इन्जिनियरको अभिमुखीकरण समापन कार्यक्रममा प्रधानमन्त्रीले विदेशमा गएका युवा फर्किएपछि पुन: विदेश जाने अवस्था नरहने समेत भन्न भ्याए। 'हामी यसरी परिस्थिति निर्माण गर्दैछौं कि विदेशबाट फर्किएकाहरु फेरि विदेश जाने छैनन्,' उनले थपे, 'पुनर्निर्माणपछि नवनिर्माण सुरु हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell