काठमाडौं : युवावस्थामा घट्ने विभिन्न घटनालाई पर्दामा उतार्दै सायद, होस्टल, होस्टल रिटर्न्स जस्ता हिट फिल्म दिएको दुर्गिस फिल्मले २०७३ मा मात्र तीनवटा चलचित्र प्रस्तुत गर्ने भएको छ। मङ्गलबार एक कार्यक्रम आयोजना गरी दुर्गिस फिल्म्स ब्यानारले सायद २, लाउरे र लभ नम्बरको घोषणा गर्यो।
प्राय फिल्ममा नयाँ अनुहार लिँदै आएको दुर्गेस फिल्म ब्यानरले नेपाली फिल्म इन्डस्ट्रीका लागि संयम पुरी, अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, नजिर हुसेन, सुशील श्रेष्ठ, सुशील सिटौला, स्वस्तिमा खड्का, बिल्सन बिक्रम राई जस्ता कलाकार दिएको छ। यस पटक पनि दुर्गेस फिल्मले केहि नयाँ कलाकारहरुको इन्ट्री गराएको छ।
नेपाली फिल्म इन्डस्ट्रीको लागि एकसेएक नयाँ कलाकारसँगै युवा दर्शकको ठुलो भिड जम्मा गरेको दुर्गिस फिल्म ब्यानरले यो पटक सफल हिन्दी फिल्मका निर्देशकलाई पनि नेपाली फिल्म तर्फ तानेको छ।
हिट फिल्म 'सायद'को सिक्वेल चलचित्र 'सायद २'लाई पुष्पराज न्यौपानेले निर्देशन गर्न लागेका हुन्। न्यौपानेले सहायक निर्देशकका रुपमा ‘डेन्जरस इस्क, राज ३, हेट स्टोरी २ र ३, म्याक्सिमम’ जस्ता सफल बलिउड चलचित्रमा काम गरी सकेका छन्।
'मैले अरुको देशमा त यति राम्रा फिल्महरु निर्देशन गर्न सक्छु भने, नेपालमा पनि पक्कै सक्छु भन्ने सोच बनाएरै सायद २ लाई निर्देशन गर्न आएको हुँ,' कार्यक्रममा पुष्पराज न्यौपानेले बताए।
‘सायद २’ को सुटिङ यही वैशाख अन्तिमबाट हुने भएको छ। फिल्ममा अमृत ढुङगाना,सुशील श्रेष्ठ,कुशल पाण्डे, रुवीन श्रेष्ठ, नीशा कार्की, स्यारोन श्रेष्ठ, सुशील सिटौला लगायत कलाकारहरु देखिनेछन्।
फिल्म ‘लाउरे’लाई भने यसअघि छड्के निर्देशन गरेका नीगम श्रेष्ठले निर्देशन गर्ने छन्। फिल्ममा सालिन मान र बिक्रम सिंहको मुख्य भूमिका रहनेछ।
असार २३ गतेबाट सुटिङ सुरु हुने ‘लाउरे’ फिल्मको निर्माता बुद्धिलाल मगर हुन्। ‘लाउरे’ फिल्मबाट डेब्यु गर्न लाएका नायक बानियाले अभिनय क्षेत्रमा अब आफूले सक्दो राम्रो गर्ने बताए।
त्यस्तै ‘लभ नम्बर’लाई भने केशब पाण्डेले निर्देशन गर्ने छन्। माघ ५ गतेबाट सुरु हुने ‘लभ नम्बर’को सुटिङ अष्ट्रेलियामा गरिने भनिए पनि फिल्मका लागि कलाकारहरु भने अझै छानिएका छैनन्।
दुर्गिस फिल्मको दुईवटा प्रोजेक्ट 'सायद २' र 'लाउरे' सुनिल रावल, सुवास लामिछाने र ईश्वर श्रेष्ठको सहकार्यमा निर्माण हुन लागेको हो। त्यस्तै 'लभ नम्बर' को निर्माणमा भने यि तीन निर्मातासँगै मनोज अधिकारी पनि जोडिएका छन्।