PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

चार शव घरभित्र, बाहिर बसेका पत्रकार नै अन्योलमा : हत्या हो कि होइन ?



पहिलोपोस्ट

चार शव घरभित्र, बाहिर बसेका पत्रकार नै अन्योलमा : हत्या हो कि होइन ?

  • रमेश गौतम -
सल्यान : एकै घरभित्र चार जनाको शव छ भन्ने खबरलगत्तै हामी घटनास्थल पुग्यौं। प्रहरीले पत्रकारलाई घरभित्र जान दिएको छैन। नेपालगञ्जबाट प्रहरीको विशेष टोली यहाँ आउँदैछ। हामी त्यही प्रतीक्षामा छौं।

दुई बालिका र दुई महिलाको मृत्यु भएको छ। शव देखेका मानिसहरुले हामीलाई बताए अनुसार उनीहरुलाई लाठी/मुग्राले हानिएको छ। तर प्रहरीले यसबारे मुख खोलेको छैन। शव कस्तो अवस्थामा छ भन्ने हामीले पनि देख्न पाएका छैनौं।

सदरमुकामबाट १६ किलोमिटरजति दुरीमा यो घटना भएको हो। यहाँबाट नजिकैको बजार शितलपाटी हो। त्यहाँ पुग्न आधा घन्टाजति लाग्छ। त्यसैले अहिले चार जनाको हत्या भएको भन्दै मानिसहरु यहाँ आइरहेका छन्। यो घरभन्दा डेढ सय मिटर नजिक कुनै घर छैन। त्यसैले राति उनीहरुको मृत्यु हुँदा केके भएको हो कोही बोलिरहेका छैनन्।

यहाँ पुगेका पत्रकारहरु नै अलमलमा परेका छौं। हत्या हो या मृत्यु यकिन भएको छैन। प्रहरीले पनि हामीलाई यही भएको हो भनेर सुचना दिएको छैन। क्षेत्रबाट आउँदै गरेको टोली कुरौं भनेको छ। त्यसपछिमात्र हामीलाई उनीहरुको मृत्यु भएको ठाउँमा जान दिने बताएका छन्।

मानिस मरेको हल्ला फैलिएसँगै मानिसहरु यहाँ आएका छन्। तर, कसैले पनि घटनाबारे मुख खोलेका छैनन्। उनीहरु ‘हत्या नै भएको हुनुपर्छ’ भन्ने तर्क गरिरहेका छन्।

जुन घरमा घटना भएको छ त्यसको अवस्था हेर्दा उनीहरु निम्न आर्थिक अवस्था भएका हुन भन्न मिहेनत गर्नै पर्दैन। जुन महिलाको मृत्यु भएको छ उनका पति भारतमा काम गर्छन्। उनी उतै छन्। तिनै महिलाका दुई छोरीका शव पनि घरभित्रै छन्। उनकी बहिनीको पनि शव भित्रै छ।

घटनास्थलमा रहँदा पनि हामी आफै कन्फ्युज्ड भएका छौं – यो हत्या हो या होइन? यहाँ मृत्यु भएका मानिसका परिवारका नजिकका मानिसहरु छैनन्। उनका जेठाजु पनि भारतमा काम गर्न गएका छन् भने भिन्न भइसकेकाले जेठानीहरु पनि सँगै छैनन्। घटनास्थलमै रहेर पनि हामी घटनाको यकिन गर्न सकिरहेका छैनौं। (पत्रकार महासंघ सल्यानका पूर्व सभापति गौतमले पहिलोपोस्टसँग गरेको कुराकानीमा आधारित)।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell