PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पुनर्निर्माणमा १३ सय ४४ इन्जिनियर खटिँदै : भवन निर्माण विभागबाट आजै नियुक्ति



रमेश वाग्ले

पुनर्निर्माणमा १३ सय ४४ इन्जिनियर खटिँदै : भवन निर्माण विभागबाट आजै नियुक्ति

  • पहिलोपोस्ट
 
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका घरहरुको पुनर्निर्माणका लागि १३ सय ४४ जना इन्जिनियर खटाउन लागेको छ। भूकम्पको एक वर्ष तीन दिनपछि पुनर्निर्माणका लागि फिल्डमा जाने इन्जिनियरको टुंगो लागेको हो।

भूकम्पले बढी क्षति पुर्‍याएका जिल्लाका प्रत्येक गाविसमा अब एक जना सिभिल इन्जिनियर र एक जना आर्किटेक्चर जानेछन्।
 
प्राधिकरणले सिभिल र आर्किटेकमा बिई गरेका इन्जिनियरहरुलाई पुनर्निर्माणको नेतृत्व गर्दै क्षतिग्रस्त क्षेत्रमा पठाउन लागेको हो। त्यका लागि प्राधिकरण, सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा इन्जिनियरहरुलाई अभिमुखीकरण तालिम दिइएको छ। काठमाडौंको प्रज्ञा भवनमा दुई दिनसम्म दिइएको तालिमलाई युसएआइडीले प्रायोजन गरेको हो।

तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले इन्जिनियरले ठेक्कापट्टा मात्र गर्छन् भन्ने धारणामा परिवर्तन ल्याउने भूमिका निर्वाह गर्न सहभागीहरुलाई सुझाव दिए।

'ठेक्कापट्टा इन्जिनियर नहुने निर्णयकै कारण आज म यहाँ छु,' ज्ञवालीले भने, 'तपाईंहरुले पनि इन्जिनियरले ठेक्कापट्टा मात्र गर्छन् भन्ने त्यो धारणा परिवर्तन गर्नमा भूमिका निर्वाह गर्नुहोस्।' उनले अब कसले राम्रो गाउँ बनाउने भनेर प्रतिस्पर्धा गर्न पनि सुझाव दिए।

'घरको निर्माण प्रकृति र संस्कृति सुहाउँदो हुनुपर्छ,' ज्ञवालीले भने, 'प्रकृतिअनुरुप घर बलियो हुनुपर्छ र संस्कृति अनुरुप घरको डिजाइन हुनुपर्छ।' कस्तो टोल बनाउने वा कस्तो घर बनाउने भन्ने अधिकार स्थानीयलाई नै दिन पनि उनले आग्रह गरे।

पुनर्निर्माणमा सहयोग गरेर बसेको अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनर्निर्माणबारे चासो राखिरहेको भन्दै इन्जिनियरहरुको कामले नै देशको इज्जत जोगिने उनको भनाइ थियो। उनले राज्यको उपस्थितिको पर्खाइमा रहेका पीडितको निराशा हटाएर साहस भर्नका लागि पनि सुझाए।

'राज्य कहिले आउँछ भनेर आँसु बगाउँदै बसेका आमाबुवाका आँसु पुछ्न सफल हुनुहोस्,' उनले भने, 'गाउँ गाउँमा गएर प्राधिकरणको भूमिका निर्वाह गरिदिनुहोस्।' अहिलेसम्म संकलित क्षतिको तथ्यांक सही नहुन सक्ने भन्दै वास्तवमै क्षति भएका पीडितलाई क्षतिपूर्ति दिन उनको जोड थियो।

उनले जानकारी पुस्तिका र पुनर्निर्माण नीति सधैं साथमा राख्न आग्रह गर्दै सम्बन्धित जिल्लाका जिविसको समन्वयमा काम गर्न आग्रह गरे। 'जिविसको संयोजनमा गाविस सचिव, समाजिक परिचालक र तपाईं दुई जना इन्जिनियरले पुनर्निर्माणको काम गर्ने हो,' उनले भने।
पुनर्निर्माणमा जाने इन्जिनियरहरुले आजै सहरी विकास मन्त्रालयको भवन निर्माण विभागबाट नियुक्ति लिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell