- रमेश वाग्ले/पहिलोपोस्ट-
ओलीले दिने हौसला मात्र नभएर मनोरन्जन लिनकै लागि भर्खरै पढाइबाट उत्तीर्ण भएका इन्जिनियर तयारीका साथ आएको देखियो। किनभने जब प्रधानमन्त्रीको बोल्ने पालो आयो, उनीहरुले विद्यार्थी नेतालाई जस्तै हुटिङ गरे, सिटीसमेत मार्न भ्याए। युवाको उत्साहलाई प्रधानमन्त्रीले पहिलो सम्बोधन गरिहाले 'गुड मर्निङ इभ्रिबडी' भनेर।
गुड मर्निङ इभ्रिबडी भनेपछि इन्जिनियरहरुले घडी हेरे। बिहानको ११ बजेर ४७ मिनेट गएको थियो। 'एक हँसाको मात्र त हैन रैछ,' एक इन्जिनियर भन्दै थिए।
प्रधानमन्त्रीले केही औपचारिक सम्बोधन गरे र फेरि सुरु गरिहाले, 'आजकाल हाम्रो जिल्ला जिल्लामा महोत्सव हुन्छन् नि !' सबै इन्जिनियरको ध्यान प्रधानमन्त्री ओलीतिर खिचियो। 'चर्पी बनायौं, अब हामी बाहिर जाँदैनौं, खुल्ला दिसामुक्त भयौं भनेर ठूला महोत्सव मनाइन्छन्।' ओलीले यति भनेपछि इन्जिनियरहरुबीच हाँसोको फोहोरा छुट्यो। प्रधामन्त्री गम्भीर बने, 'यो सुहाउँदो कुरा हैन, अब यस्तो हुँदैन।'
फेरि हल सुनसान बन्यो।
प्रधानमन्त्रीले तत्कालै केटाकेटीलाई जस्तै फुर्काउँदै भने, '१३ सय ७६ जना इन्जिनियरलाई एकैपटक कसैले रोजगारी दिएका छन्?' युवा इन्जिनियरहरु फेरि जोडसँग हाँसे। हाँस्नुपर्ने खास कारण त थिएन, तर हाँस्नुको कारण रहेछ- १३ सय ४४ इन्जिनियरलाई जागिर दिएर ओलीले १३ सय ७६ भनेका रहेछन्।
भाषणलाई आफ्नै शैलीमा ढाल्दै उनी उत्साहित बने, 'अब नेपाल जुरुक्कै उठ्ने छ।' प्रधानमन्त्रीले भनिनसक्दै हलमा फेरि गाइँगुइँ सुरु भयो। प्रधानमन्त्री रोकिएनन्, 'तपाईंहरु सिपको हिसाबले इन्जिनियर हो तर कामको हिसावले 'नेशन' बन्दिनुस, तपाईंलाई हेरेर सबैले गर्व गरुन्।'
प्रधानमन्त्रीले स्वाभाविक कुरा गर्न थालेको देखेर चुप भएका इन्जिनियरको त्यति बेला अर्को फोहोरा छुट्यो, जब भर्खरै बिई सकाएर स्वयंसेवकको रुपमा गाउँ जान लागेका महिला इन्जिनियरलाई प्रधानमन्त्रीले उत्साहित पार्ने प्रयत्न गरे। भने, 'लेडी इन्जिनियरहरु पनि यसरी काम गरेर फर्कनुस् कि देखेर तपाईंका श्रीमानहरु दंग परुन्।'
इन्जिनियर जति हाँस्दै गए, एउटा उत्साहित हास्यकलाकार जस्तै प्रधानमन्त्री ओली पनि अझ उत्साहित बन्न थाले। 'कोरियामा एउटा भनाइ चर्चित रहेछ, त्यहाँ सबैभन्दा बढी प्रयोग हुने,' प्रधानमन्त्रीले भने, 'अब नेपालमा पनि पाली पाली हुनेछ।' इन्जिनियर हाँसिरहेकै थिए, प्रधानमन्त्री अघि बढिहाले।
'तपाईंहरु युवा इन्जिनियर हुनुहुन्छ, अलिअलि युवाका स्वभाव पनि देखिन सक्छन्,' प्रधानमन्त्रीले भने, 'सावधान हुनुस् तपाईं फर्कंदा देवदूत आएका थिए फर्किए भन्ने हुनुपर्छ।' यसो भन्दा इन्जिनियरहरुको मन अलि छोएछ क्यारे- हाँसो अलि फरक प्रकारको थियो। प्रधानमन्त्री देशको कार्यकारी र उमेरले पनि परिपक्व भएरै होला इन्जिनियरहरुलाई 'अर्तीउपदेश' पनि दिन भ्याए।
'वद्धहरुलाई आदर गर्नुहोला, युवासित मित्रता गाँस्नुहोला, सानालाई माया,' अर्तीका बुँदा थप्दै गए उनले, 'तर मित्रताका पक्षमा अलि ध्यान दिनुहोला, इन्जिनियरका अवगुणहरु नदेखियून्।'
उनले चाँडै जागिर सकिन्छ भनेर चिन्ता नलिन आग्रह गर्दै इन्जिनियरको काम कहिलै नसकिने बाताए। 'चाँडोचाँडो काम सकेपछि जागिर पनि सकिन्छ भनेर चिन्ता नलिनुस्, तपाईंहरु कहिल्यै खाली बस्न पाउनुहुन्न,' उनले थपे, 'पुनर्निर्माणपछि हामी नवनिर्माण थाल्दैछौं। योभन्दा धेरै इन्जिनियर हामीलाई आवश्यक पर्छ।'
उनले इन्जिनियरहरुलाई इमानर बन्न आग्रह गर्दै अंग्रेजी भनाइ उद्धृत गरे- 'अनेस्टी इज द सेक्रेट अफ लाइफ।'
सुरुदेखि नै उत्साहित भइरहेका इन्जिनियरहरुले प्रधानमन्त्रीले भाषण सक्नैलाग्दा भने नकारात्मकझैं लाग्ने गरी होहल्ला गर्न थाले। एकछिन रोकिएर उनी जब दर्शकदीर्घातिर नियाल्न थाले, केही इन्जिनियरहरु एकस्वरमा कराउन थालिसकेका थिए, 'भत्ता-भत्ता-भत्ता।'
यतिन्जेलमा प्रधानमन्त्रीले भाषण सकिइसकेको थियो।
सायद स्वयंसेवामा जान लागेका इन्जिनियरलाई मन परेनछ क्यारे।