PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

१२ करोडको बजेट विनियोजनपछि रानीपोखरीको पानी निकालिँदै, माछा टौदह लगिने



रासस

१२ करोडको बजेट विनियोजनपछि रानीपोखरीको पानी निकालिँदै, माछा टौदह लगिने
फाइल फोटो

काठमाडौँ : रानीपोखरीमा पुनःनिर्माणको लागि १२ करोड रुपैयाँ विनियोजन भएपछि त्यहाँको पानी निकाल्ने क्रम सुरु भएको छ। 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार पानी निकालेपछि पोखरीका सबै माछा टौदहमा लगेर व्यवस्थापन गर्ने योजना छ।  पोखरीका राजहाँस कहाँ लगेर व्यवस्थापन गर्ने भन्नेबारे अझै यकिन नभएको महानगरले जनाएको छ। 

“सफा नगरेको लामो समय भएकाले उक्त पोखरीमा कति हिलो रहेको र त्यसका लागि कति जनशक्तिको आवश्यक पर्ने भने यकिन भएको छैन”– उनले भने। 

गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको समेत पूर्णरुपमा क्षति भएको थियो। सो मन्दिरको पनि पुनःनिर्माणको काम गरिनेछ । झन्डै ३५० वर्षपछि काठमाडौँ महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरी सुन्दर बनाउन लागेको हो। 

पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन गरिएको छ। गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गरिसकेका छन्। रानीपोखरीको ६० रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ । 

रानीपोखरीका केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै सङ्गीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका लागि परिक्रमा पथ पनि बनाउने महानगरले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell