PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन, शुक्रबार दाहसंस्कार



पहिलोपोस्ट

गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन, शुक्रबार दाहसंस्कार

काठमाडौँ : गीतकार तथा पत्रकार सूर्यकुमार क्षेत्रीको बिहीबार राति निधन भएको छ। ३३ वर्षीय क्षेत्रीको काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण  न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसमा उपचारका क्रममा निधन भएको हो।

२०७१ सालमा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। सोही वर्ष मंसिरको अन्तिम साता ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो। उनलाई थप उपचारका लागि नयाँ दिल्ली पनि लगिएको थियो। 

केही महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो। बिहीबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्‍याइएका क्षेत्रीलाई चिकित्सकहरुले राति सवा ९ बजे मृत घोषित गरेका हुन्। 

नेपालीकला डट कमका सम्पादक क्षेत्री यसअघि उज्यालो ९० नेटवर्कमा कार्यरत थिए। उनी नेपाल प्रेस युनियनका सचिव समेत हुन्। उनका सयौँ लोकदोहोरी तथा आधुनिक गीत रेकर्ड भएका छन्। उनी गायक पनि हुन्।

औँठी चिनो छ, बादलुले चन्द्र छेकेको, पानी पधेँरो, धानको सिरौँला, धोका दिनेलाई के भनुँ र खोइ?, डाली पलायो, उडी जाने जेट, धर्ती गोलो छ लगायत दर्जनौँ चर्चित गीतका संकलक क्षेत्रीको स्थायी घर स्याङजा हो।

क्षेत्रीकी श्रीमती र एक नाबालक छोरा छन। उहाँका बा आमा स्याङजामा रहँदै आएका छन्। 

परिवारका सदस्यहरु काठमाडौं आइसकेपछि क्षेत्रीको शुक्रबार दाहसंस्कार गरिने प्रेस युनियनले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell