
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 'वैशाख पूर्णिमा' नेपालमै मनाउन चाहेको कोलकातामा मुख्य कार्यालय भएको पत्रिका टेलिग्राफले जनाएको छ। मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको भारतीय जनता पार्टी स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको छ।
नेपाल सरकारले प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मे २१ मा आयोजना हुने बुद्धजयन्तीमा सहभागी हुन निम्ता दिएको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री मोदीको नजिकको स्रोतले जनाएअनुसार प्रधानमन्त्री कार्यालयले नितिश कुमारलाई यसबारे पत्र लेख्नेछन्। प्रोटोकलको इस्यु हुँदाहुँदै पनि मोदीले यसमा आफूलाई नरम रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन्। मोदीले फोन या पत्रमार्फत नितिश कुमारसँगै नेपाल जाने कुरा गर्नेछन्।
विहार मुख्यमन्त्रीको कार्यालयले भने पछिल्लो घटनाक्रमको विकासबारे जानकारी नभएको जनाएको छ। ‘हामीलाई कुनै सूचना छैन,’ नितिशका सचिव चञ्चल कुमारले भने।
नाकाबन्दीपछि पछिल्लो समय नेपालसँगको आपसी सम्बन्ध चिसिएको छ। यही बुझेको भारतले सम्बन्ध सुधारका रुपमा यो भ्रमणलाई लिएको बुझिन्छ। भ्रमणलाई चिसो घटाउनेसँगै मोदीले नितिश कुमारसँगको सम्बन्ध सुधारको प्रयासका रुपमा भारतीय मिडियाले लिएका छन्।