PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लेखकका सबै कुरा एकनासले प्रिय नहुन सक्छन् : नयनराज पाण्डे



फणीन्द्र संगम

लेखकका सबै कुरा एकनासले प्रिय नहुन सक्छन् : नयनराज पाण्डे

आख्यानकार नयनराज पाण्डेको उपन्यास 'सल्लीपिर' शनिबार सार्वजनिक भयो। मूलत: तराई-मधेसको भावभूमिमा आख्यान सिर्जना गर्दै आएका पाण्डेको यो उपन्यासले भने हिमाल र त्यहाँका शेर्पा समुदायको कथा बोलेको छ। 'उलार', 'लू' जस्ता चर्चित उपन्यासका लेखक पाण्डेसँग नयाँ उपन्यास लेखन सन्दर्भमा पहिलोपोस्टका स्वेच्छा राउतले गरेको छोटो कुराकानी:

मधेसमै हुर्किनुभयो र लामो समयदेखि तराई-मधेसकै भूगोलमा रहेर कथा लेख्दै आइरहनुभएको छ। हिमाल र शेर्पा समुदायको कथा बोकेको उपन्यास 'सल्लीपिर' आजै सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ। एक्कासि फरक परिवेशमा लेख्नुको चुनौतीले कतिको पिरोल्यो तपाईंलाई?

म चुनौतिको सामना गर्न रुचाउँछु। मेरा आख्यानमा विषयवस्तु र चरित्रहरुको विविधता होस् भन्ने चाहन्छु म। मेरो लेखनको सुरुवात नै प्रयोगहरुबाट भएको थियो। त्यसैले सल्लीपिरको लेखन मेरा लागि चुनौती अवश्य हो। तर, मैले यसलाई अवसरको रुपमा उपयोग गरेको छु। हिमाली भेगको केही महिनाको बसाइ, शेर्पा जनजीवनसितको सहकार्य र केही मित्रहरुको सहयोगमा सल्लीपिरको लेखन सम्भव भएको हो।

पाठकलाई सन्तुष्ट बनाउने गरी लेखकले पछिल्लो कृति दिन नसकेको बजारमा चर्चा सुनिन्छ। कहिले नलेखेको विषयमा हात हालेकाले सल्लीपिर बजारमा चल्न सक्दैन भन्नेहरु पनि देखिन थालिसके नि?

मैले त्यस्तो हल्ला सुनेको छैन। सल्लीपिरभित्रको मानवीय संवेदनाले मलाई त पाठकको मनसित यो कृतिलाई अझै बलियो गरी जोड्छ भन्ने लागेको छ। 

पाठकले जुन अपेक्षा गरेका थिए, त्यसखालका पुस्तक आउन नसकेको भन्ने खालका समीक्षा र पाठकीय प्रतिक्रियाबारे पक्कै जानकार हुनुहोला। यो कतिसम्म सत्य हो ? के लेखकले आफ्ना पछिल्ला कृतिमा परिश्रम गर्न छाडेका हुन् त?

असल लेखकले पछिल्ला कृतिहरुमा अझै मेहनत गर्छ। अरुको त भन्न सक्दिनँ। मेरो त चौथो किताब हो, उलार। तीन वटाको सामान्य चर्चापछि उलारको असामान्य चर्चा भएको थियो। त्यसैले लेखकले पछिल्ला किताबहरुमा मेहनत गर्दैन भन्नुचाहिँ बेकारको कुरा हो। तर, लेखकले लेखेका सबै कुरा सबैका लागि एकनासले प्रिय नहुन सक्छन्।

दमन र उत्पीडनमा परेको भन्दै मधेसचाहिँ आन्दोलनको रापमा तातिरहँदा तपाईं हिमाल चढ्नुभयो। मधेसप्रतिको सामाजिक दायित्वबाट अब भाग्न खोज्नुभएको हो?

मधेस आन्दोलनका बेला मैले लेखेका कथाहरु, संस्मरणहरु पढ्नुभएको भए यो प्रश्न तपाईँले गर्नु हुनुहुन्न थियो। फेरि घटना घट्नेबित्तिकै लेखिने त समाचार हो। साहित्यको लागि त घटनाक्रमहरु परिपक्व हुनुपर्छ, त्यसले एउटा आकार निर्माण गर्नुपर्छ। लेखकले समकालीन सन्दर्भहरुमा कलम चलाउनुपर्छ। तर बढ्ता सामयिक भएर साहित्यलाई अखबारी लेखनबाट  जोगाउनु पनि पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell