PahiloPost

Nov 19, 2019 | ३ मंसिर २०७६

कान्तिपुर गाथा : मायाको ग्यारेन्टी



किशोर नेपाल

कान्तिपुर गाथा : मायाको ग्यारेन्टी

  • किशोर नेपाल -
 
पोहोर साल वैशाख १२ को भुईंचालोपछि शहर रोमान्टिक रहन सकेन। वर्षैभरि भुईंचालोको भयले शहर आवाद गर्ने सबैको मन र मुटु काँपेको थियो। यो वैशाख १२ गते भुईंचालोको सम्झनामा सरकारले कान्तिपुर शहरमा धूपबत्ती बालेपछि बल्ल पहिलो डेटिंगमा निस्केका थिए कनिका र चार्ली। जंगलका पंक्षीहरु जस्तो, भुरुरुर्र उडेका थिए। भुईंचालोको एक वर्ष पूरा भएकोले होला, सोचे भन्दा र चाहिने भन्दा बढी नै अस्तव्यस्त थियो शहर। शहर जतिसुकै अस्तव्यस्त भएपनि बल्ल बल्ल स्वतन्त्र रुपमा घरबाट निस्किएकी कनिका रोमान्टिक मूडको उत्तालमा थिई। उसलाई कफी पसल जाने मन थियो। भुईंचालोपछि एकदिन पनि त्यहाँ पाइलो टेक्न पाएकी थिइन उसले। केटी निकै चलाख थिइ। उसले चार्लीसँग अलिकति सोधे जस्तो र अलिकति सुझाएजस्तो पारामा भनी, “हामी कफी पसल जाने होइन ?”
 
चार्ली कनिकासँग जहाँ जान पनि तयार थियो। कनिकासँगको यो डेटिङलाई ऊ जीवनको बिर्सनै नसकिने घटना बनाउन चाहन्थ्यो। ममी–पापाले गाउँका कुनै काजीको छोरीसँग बिहे गरिदिनुभन्दा पहिले नै उ कनिकासँग बिहे गर्न चाहन्थ्यो। यसका लागि निकै हतारिएको थियो चार्ली। 
 
कूल थियो कफी पसल। रमझम थियो। कफीको कडा र सुमधुर बासना थियो। सिटमा बस्दाबस्दै चार्लीले कनिकासँग सेल्फिन 'सिक्स–प्लस' निकाल्यो। कनिकाले भनी, “अहिले नखिच न। फेसबुकमा चढ्यो भने के गर्नु ? अहिलेसम्म त तिम्रो मायाको ग्यारेन्टी नै पाएकी छैन मैले।”
 
मायाको ग्यारेन्टी ! चार्ली झस्कियो। माया मानौं माया नभएर फोसिल ब्राण्डको घडी हो, जसको हरेक पीसमा एउटा वारेन्टी कार्ड झुण्डिएको हुन्छ। मानौं यो त्यस्तो कम्पनीको जुत्ता हो, जुन कम्पनीले पाँच वर्षसम्म तलुवा नखिइने ग्यारेन्टी दिन्छ।
 
चार्लीले भन्यो, “तिमीलाई मेरो मायाको ग्यारेन्टी त दिन सक्दिन म। भुईंचालोको यो युगमा मेरो आफ्नै जिन्दगीको त कुनै ग्यारेन्टी छैन। मायाको के ग्यारेन्टी दिउँ तिमीलाई?”
 
चार्लीको यो डाइलग निकै मन पराइ कनिकाले।
 
चार्लीले बोल्दाबोल्दै नियमित रुपले आउने स–सानो भुईंचालोले स–सानो धक्का दियो। कफी पसलमा बसेका मानिसहरु आत्तिदै जर्‌याकजुरुक उठे। केही छिनअघिको रमाइलो सकियो। सबै भाग्न थाले। कनिका आत्तिइ र सिटबाट उठन खोजी। चार्लीले भन्यो, “सकिइ सक्यो, भुईंचालो। यत्ति हो। अब अहिले नै दोहोर्याएर आउँदैन। आत्तिनु पर्दैन।”
 
कनिका चार्लीसँग लिपिक्क टाँसिइ। चार्लीले मौका छोप्यो। सिक्स प्लसको फ्रेमभित्र आफूलाई कनिकासँग कैद गर्यो र भन्यो, “अघिको भन्दा अलि ठूलो भुईंचालो आयो भने तस्वीर खिच्ने मौका नपाइन पनि सक्छ। तिमी र म नजिकिएको सम्झना नै भयो यो।”
 
कनिका केही बोलिन। मुसुक्क हाँसी। चार्लीको कुरा उसलाई घत परेको थियो। उसले भनी, “मायाले ग्यारेन्टी त खोज्छ। तर जिन्दगीकै कुनै ग्यारेन्टी नभएको भुईंचालोको सिजनमा ग्यारेन्टीको के कुरा भो र।”
 
ऊ निकै सेन्टी भएकी थिइ। त्यति नै बेला उनीहरुको अर्डरको कफी टेवलमा आइपुग्यो। ऊ आइस्ड क्यारामेल लात्तेको स्वादमा रमाउन थाली।
 
चार्लीले भन्यो, “ग्यारेन्टी त होइन, म तिमीलाई मेरो मायाको लाइफलंग वारेन्टी दिन सक्छु। हाम्रो माया भत्कियो, बिग्रियो, टुट्यो, फुट्यो भने त्यसलाई सुपर ग्लूले जोडने वारेन्टी।”
 
कनिकाले कफीको लामो गिलासबाट लामो चम्चाले आइसक्रिमको एक टुक्रा निकालेर मुखमा हाली। आइसक्रिम नपग्लियुन्जेल ऊ मन्द मन्द हाँसी रही। त्यसपछि हाँस्दै बोली, “माया स्कूटी हो र मर्मत गर्न सकिने ? एनी वे, इट इज अ भेरी इन्टरेस्टिङ जोक। लाइक्ड द्याट।”
 
चार्लीले मनमनै सोच्यो, “मायाको बलियो वारेन्टी त बैँक व्यालेन्स हो नि” र विस्तारै कनिकाले मात्र सुन्ने गरी बोल्यो, “माया पनि स्कूटी जस्तै त हो। मनलाई बोकेर टाढा टाढासम्म दौडिन्छ...” कनिका फेरि हाँसी। अलि चर्को हाँसो र भनी “हाउ फन्नी।”
 
कनिकाले अचानक सोधी, “म्याथम्याटिक्समा वीक भएँ म। तिमीलाई आउँछ ?”

चार्ली बोर भयो। उसले भन्यो, “बिर्सिइ सकें मैले।”
 
कनिकाले चार्ली उक्ताएको थाहा पाइ र भनी, “हिंड, कतै जाउँ। कति बस्नु कफी पसलमा।”

उनीहरु निस्किएर बाहिर आए। कता लाग्ने ? उनीहरुले निश्चय गर्न सकेनन्। कनिकाले भनी, “अलि रोमान्टिक ठाउँमा जाउँ न।”
 
यो शहरमा कहाँ छ रोमान्टिक ठाउँ ? चार्लीले सोच्यो, यो त गुगलले पनि पत्ता लगाउन सक्दैन। एकमन त चार्लीलाई लाग्यो कनिकालाई हनुमानढोका लगेर टुँडालमा कुँदिएका रोमान्चक दृश्यहरु देखाइ दिउँ। तर, उ यो नयाँ जोडिन आएको रिलेसनशीपमा कुनै रिस्क लिन चाहँदैनथ्यो।
 
उनीहरु बाइकमा दरबारमार्गबाट पाटनतिर हानिए। ल्याम्प पोष्टहरु छुटदै गए। बाटो कतै लम्विदै र कतै छोटिदै गयो। कतै सांघुरिदै गयो।
 
ड्राइभ निकै निकै र निकै रोमान्टिक रह्यो। यात्रामा कति पटक साना भुईंचालोका स–साना धक्काहरु आए, केही थाहा पाएनन दुवैले।
 
साँझ उनीहरु फर्किँदा मण्डलामा मैनवत्तीहरु बलिरहेका थिए। त्यो उज्यालोमा लजाउँदै कनिकाले भनी, “भुईंचालोको यो युगमा तिमीभन्दा रोमान्टिक अर्को कुनै साथी भेटिन्न।”

चार्लीले बिस्तारै उसलाई चुम्दै भन्यो, “थ्यांक यू, कनि...”
 
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। गाथा अब हरेक हप्ता पहिलोपोस्टमा ) 



कान्तिपुर गाथा : मायाको ग्यारेन्टी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

ncell