PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अब नोटको प्याकेटमा स्टिच निकाल्दै हैरान हुनुपर्ने छैन, राष्ट्र बैँकले दियो निर्देशन



पहिलोपोस्ट

अब नोटको प्याकेटमा स्टिच निकाल्दै हैरान हुनुपर्ने छैन, राष्ट्र बैँकले दियो निर्देशन

काठमाडौँ : बैँक तथा वित्तीय संस्थाहरुबाट चेकमार्फत् रकम निकाल्दा नोटको बन्डलमा च्यापिएका लामा लामा स्टिच निकाल्दै हैरान हुनुभएको अनुभव छ?

अब तपाईँले त्यस्तो दुःख सहनुपर्ने छैन। बैँक तथा वित्तीय संस्थाहरुलाई अनुगमन गर्ने केन्द्रीय बैँक नेपाल राष्ट्र बैँकले नोटको प्याकेटमा स्टिच नगर्न परिपत्र जारी गरेको छ।

वैशाख १२ गते जारी गरिएको परिपत्रमा नोटको प्याकेटमा स्टिचको साटो आवश्यकता अनुसार रबर/प्लास्टिक/पेपर ब्यान्ड प्रयोग गर्न सकिने उल्लेख छ।

त्यसैगरी नोटमा केरमेट नगर्ने र जथाभावी च्यात्ने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउन पनि परिपत्रमा उल्लेख छ।

सफा नोट प्रयोग गर्न पाउनुपर्ने माग गर्दै गएको महिना मुद्दा दायरपछि सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा बैंक नोटमा अबदेखि स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो।

नोटमा स्टिच लगाउने र केरमेट तथा झुत्रा बनाउन बन्द गर्ने मागसहित अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोज खड्का, प्रविन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।

राष्ट्र बैँकले आफ्नो परिपत्रमा यसअघि २०७१ जेठ २३ गते जारी परिपत्र खारेज भएकोसमेत बताएको छ। त्यतिबेला राष्ट्र बैँकले एउटामात्रै स्टिच गर्न निर्देशन दिएको थियो।

त्यसैगरी बैँक तथा वित्तीय संस्थाहरुले आफूकहाँ आएका नोटलाई चलनचल्तीमा पठाउन योग्य र अयोग्य छुट्याई योग्य नोटको प्याकेटमा अनिवार्य बैँकको नाम, नोट गन्ने कर्मचारीको नाम, सही र छापसहित सेतो रङको स्लिपमात्र उपयोग गर्न पनि निर्देशन दिइएको छ।

(फोटो स्रोत : सफर पोखरेल/फेसबुक)

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell