PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

'म थिएँ र पो भूकम्पबाट आमालाई जोगाएँ, क्यान्सरबाट मलाई कसले बचाउला?'



फणीन्द्र संगम

'म थिएँ र पो भूकम्पबाट आमालाई जोगाएँ, क्यान्सरबाट मलाई कसले बचाउला?'

  • फणीन्द्र संगम/पहिलोपोस्ट-
धादिङ : कल्लेरी-७ धादिङका कृष्णमान शाक्य बाँडा आफूलाई 'डबल भाग्यमानी' ठान्छन्, किनकि उनीसँग दुइटी आमा छन्।

भूकम्पपछि उनको भाग्य झन् थपिएको छ, जब उनले ठूलो दुर्घटनाबाट आफू बचेर पनि आमाहरुलाई सकुशल बचाउन सके।

त्यो दिन अर्थात् वैशाख १२। आफ्नै कामका व्यस्त थिए उनी। अचानक चटटटट... गडडडड गर्दै जमिन थर्किन थाल्यो। हेर्दाहर्दै घर त धुलोको ठूलो मुस्लोमा पुरियो। केही बेरमा मात्रै उनलाई याद भयो- घरमा त आमाहरु छन्।

कराउन खोजे, स्याउस्याउ मात्रै निस्कियो किनकि उनीसँग पहिलेको आवाज हराइसकेको थियो। हत्तपत्त धुलो छिचोल्दै भग्नावशेष बनिसकेको घरमा पसे। त्यहीँ थिचिएका आमालाई तान्दै बाहिरसम्म ल्याए। यतिन्जेलमा उनले टाउकोबाट रगत बग्न थालिसकेको थियो।

कृष्णमानको परिवारमा तीन जनामात्र छन्। ९७ र ८३ वर्षका आमा अनि अविवाहित उनी। तर दुवै आमा शारीरिक अपांग हुन्। एक जना आँखा देखिन्छन्, अर्की कान सुन्दिनन्। आफ्ना बाले पहिले जेठीलाई बिहे गरे, पछि साइँली सालीलाई पनि भित्र्याए। यिनै दिदीबहिनी आपसमा इसाराले कुरा गर्छन्; यो देख्दा कृष्णमान निकै खुसी हुँदा रहेछन्।

दुई आमाको साथ पाएका उनको एउटै गुनासो छ, मुटु चहर्‍याउने खालको। भन्छन्, 'म थिएँ र पो भूकम्पबाट आमालाई जोगाएँ, यो क्यान्सरबाट मलाई कसले बचाउला?'
 

स्वर अलप भएको त्यो क्षण

सुरुमा स्वर ख्याप्प बसेजस्तो भयो। यो झन्डै चार-पाँच वर्षअघिको कुरा।

आफन्त र छिमेकीको सहयोगमा उपचारका लागि मलेखु पुर्‍याइयो कृष्णमानलाई। केही समय त्यहीँको सामुदायिक अस्पतालले सामान्य उपचार गरेपछि काठमाडौं लगेर थप उपचार गराउन सिफारिस गर्‍यो।

त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेर थप उपचार गरेपछि डाक्टरले जब घाँटीमा क्यान्सर भएको जानकारी गराए, कृष्णमानलाई करेन्ट लागेझैं भयो। उनको आत्तिएको मन उही कल्लेरीमा पुग्यो- आखिर त्यहीँ त थिए अस्ताउँदो घामझैं वृद्ध आमाहरु।

शल्यक्रियाअघिको प्रशासनिक प्रक्रियाका लागि निकै झमेला बेहोर्नुपरेको उनले दुखेसो पोखे। परिवारभित्रकै नातेदार चाहिने भएपछि गाउँबाटै भाइ पर्ने आफन्त झिकाए उनले। गाविसबाट थप सहयोगका लागि सिफारिस गरियो। अन्तत: घाँटीको शल्यक्रिया पनि सफल भयो।

त्यस क्रममा झन्डै दुई लाख रुपैयाँ खर्च भएको कृष्णमान सुनाउँछन्। उनीसँगै अस्पतालमा कुरुवा बसेका नाताका भाइ हर्कमान शाक्यका अनुसार खसीबाख्रा र कुखुरा बेचेर अनि गाउँलेबाट केही सहयोग जुटाएर उपचार गरिएको थियो।

अस्पतालले डिस्चार्ज गरेपछि उनी घर फर्किए पनि हरेक दुई महिनामा फलोअपका लागि काठमाडौं पुग्नैपर्ने भयो। घाउ बिसेक हुँदै गएको भन्दै अलिपछि चार-चार महिनामा जान थाले। अहिले उनी थप चेकजाँचका लागि अस्पताल नगएको पाँच महिनाभन्दा बढी भइसकेको छ।

हिँड्न नसकेर उनी अस्पताल नगएका होइनन्। हिँड्न त डेढ घन्टा ‍ओरालो झरेपछि पृथ्वी राजमार्गको आदमघाट वा मासटार झर्न सकिन्छ। त्यहाँबाट गाडी चढे करिब दुई घन्टामा काठमाडौं।

मैले सोधेँ, 'डाक्टरले बोलाएको समयमा पनि किन नजानुभएको?'

'यत्रो उपचार गराउँदा पनि निको भएन, धेरै खर्च भयो। पैसै नभएपछि केले उपचार गर्नु?'

पहिले त कल्लेरी गाविस कार्यालयले जिविसलाई पत्र लेखी सहयोग गर्न भनेको थियो। जिविसले वीर अस्पतालमा उपचार गराउने र लागेको खर्च आफैं तिरिदिने भन्दै ५० हजार बराबरको औषधोपचार गराइदिने बतायो। यसबाटै कृष्णमानले वीरमा थप उपचार गराए। किमोथेरापी गराउँदा र औषधि किन्दाको खर्चले धेरै दिन धानेन।

ओत लाग्ने घर थियो, कल्लेरीको पोखरी भन्ने गाउँमा। भूकम्पले नामेट बनाइदियो। गरिखाने सिपका अगाडि क्यान्सरले तगारो थापिदिएपछि उनको कमाइखाने बाटो अहिले बन्द भएको छ। पहिले गाउँमा सिकर्मी, डकर्मीको काम गर्थे, चित्रा, डोको बुन्थे। अहिले सक्दैनन्। आर्थिक अभावकै कारण उनी यतिबेला दु:ख बेसाउँदै गाउँटोलमा यताउता भौंतारिइरहेका छन्।

'कतैबाट सहयोग पाएँ र रोग निको पार्न सकेँ भने मेरो लागि होइन आमाको लागि ठूलो धर्म हुनेछ,' एकछिन टोलाएपछि उनले भने, 'म तगडा भएँ भनेमात्र आमाहरुले खान पाउँछ, खुसी हुन्छ। म नै रोगाएँ भने उनीहरुलाई कसले खुवाउँछ?'   
 

आमालाई तार्न पाए...

शल्यक्रियापछि घाँटीको अगाडितिर प्वाल पारिएको छ। त्यसलाई सुरक्षित राख्न वरिपरिबाट फलामको रिङ जोडिएको छ। यसैले पनि सहजै टाउको घुमाउन निकै गाह्रो हुन्छ उनलाई। 'बोझको काम नगर्नु भनेका छन् डाक्टरले,' कृष्णमानले सुनाए, 'तर के गर्नु पानी बोकेर ल्याउँछु, आमालाई भात पकाउँछु खुवाउँछु।'

उनी ठूलो स्वरमा बोल्न सक्दैनन्, लामो समय बोलिरह्यो भने ख्याकख्याक खोकी लाग्न थाल्छ।

दुवै आमा बाहिरफेर हिँड्न सक्दैनन्। जीवनको उत्तरार्द्धमा पुगिसकेका वृद्धा आमालाई अहिले त आफू अशक्त नै भए पनि मिठोमसिनो खुवाएकै छन्। आफूभन्दा आमाकै चिन्ताले सताउँदो रहेछ उनलाई। कुरा गरिरहँदा अधिकांश समय आमाको नाम लिन छुटाएनन् उनले। सायद कृष्णमानमा आमा र सानिमाको ममताले नै अहिलेसम्म बचाइराखेको।

करिब ५५ वर्षका कृष्णमानले किन बिहे गरेनन् होला? यो जिज्ञासाले मलाई पोलिरहेको थियो।

के उनैले बिहे गर्न चाहेनन्? या आफैंले दुई आमालाई सुखदु:ख पाल्न सक्छु भन्ने लाग्यो?

तर बिहे नहुनुको कारण अर्कै रहेछ, प्राय: उनी त्यसलाई रहस्यमै लुकाउन चाहन्छन्।

झन्डै चार दशकअघि गाउँलेले कृष्णमानकी जेठी आमालाई 'बोक्सी'को आरोप लगाए। आरोप मात्रै लगाएनन्, दिसापिसाब समेत खुवाएको आफूले सुनेको कल्लेरी माविका शिक्षक पुनेश खतिवडा बताउँछन्। 'त्यो बेला बोक्सीको आरोप लागेको परिवारमा छोरी कसले दिने?' उनी अनुमान गर्छन्, 'यसै कारण पनि उनको बिहे हुन सकेन। उमेर छिप्पिएपछि आफैं पनि गर्न चाहेनन्।'

आफ्नो उपचार गर्नुभन्दा पनि अर्को इच्छा सुनाए उनले। 'आमालाई कुनै दु:ख-विपत नआओस्, सहजै तार्न सकूँ।' मसिनो साउतीको स्वरमा उनले यत्ति भने र चुप लागे। सायद भूकम्पको विपत उनको स्मृतिमा आइरहेको हुँदो हो। रसाएका आँखाले नै बताइरहेको थियो- आखिर संसारमा आमाभन्दा ठूलो भगवान् कोही छैन।

'त्यसपछि कसरी बस्नुहुन्छ?' मेरो यो प्रश्नले उनी झसंग भए।

'दाजुभाइहरुले हेर्लान् नि,' उनको याचनापूर्ण भनाइ योभन्दा अघि बढ्न सकेन। अचानक ख्याकख्याक खोक्न थाले उनी।

उनीसँग भएको ९ रोपनी जग्गामा आफू खनजोत गर्न नसक्ने भएपछि भाइहरुले खेती गर्दै आएको उनले बताए। त्यहीँबाट उब्जनी भएको केही भाग उनले पाउँछन्।

'पहिले खासै रोग लागेको थाहा थिएन, अचानक क्यान्सर भएपछि उनी थलिएका छन्,' कल्लेरी माविका शिक्षक सागर लामिछानेले भने, 'परिवारमा भरथेग गर्ने अरु कोही नभएकाले पनि उनको अवस्था दयनीय छ।' उपचारमा थप केही गर्न सकिन्छ कि भनेर आर्थिक सहयोग गर्ने दाताहरुको खोजीमा पनि चासो राखिरहेको उनी बताउँछन्।

हो, 'डबल भाग्यमानी' छन्, कृष्णमान। आमाहरु भइन्जेल त उनमा पोखिने मातृत्वको शक्तिले क्यान्सरलाई जितिरहला, तर क्यान्सरले नै जित्न थाल्यो भने? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell