- कृष्ण ओली -
आगलागी निकुञ्जको नियन्त्रण बाहिर गएको छ। निकुञ्जको मुगुवा खोलाको माथिल्लो चुरे क्षेत्र, खड्गवारको माथिल्लो क्षेत्र र शिवखोलाको पश्चिम माथिल्लो पश्चिमी भागमा फैलिएको डढेलो नियन्त्रणमा आउन अझै सकेको छैन। त्यही क्षेत्रको तल्लो भागमा पूर्वपश्चिम राजमार्गतर्फको डढेलो समेत नियन्त्रणमा आउन सकेको छैन्।
सीमित प्रविधि र स्रोत साधनको अभावमा डढेलो नियन्त्रणमा समस्या भएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जको ७० प्रतिशत भन्दा बढी क्षेत्रमा आगलागी भइसकेको छ। जिल्लाका सरकारी तथा सामुदायिक वनहरुमा पनि आगलागी भइरहेको छ। निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गोरखदल गणका सह–सेनानी रविन राइले निकुञ्जको क्षेत्रमा आगलागी भएको खबर आउने बित्तिकै आफुहरु आगो निभाउन जाने गरेको बताए।
‘तीब्र गतिमा हावा चलेको बेला आगलागी नियन्त्रण लिन गाह्रो हुन्छ,’ उनले भने, ‘स्रोत साधनले भ्याएसम्म आगलागी नियन्त्रणमा लिने प्रयास गरेका छौ। निकुञ्जको चुरे क्षेत्रमा समेत भिषण आगलागी भइरहेको छ।‘ लामो समयदेखि पानी नपरेकाले पनि आगलागी बढी भएको हो। आगो नियन्त्रणमा लिन नसक्दा वन्यजन्तुको बासस्थान समेत नष्ट भएको छ भने बोटबिरुवा पनि जलेका छन्।
कोहलपुर देखि कुसुमको सडकखण्डमा पर्ने निकुञ्ज तथा सामुदायिक वनको अधिकांश क्षेत्रमा डढेलोले सखाप पारिसकेको छ। वन क्षेत्रमा हुने डढेलोले पुर्याएको क्षतिको यकिन तथ्यांक जिल्ला वन कार्यालय र राष्ट्रिय निकुञ्जसँग समेत छैन। बाँकेमा १ लाख १९ हजार हेक्टर वन क्षेत्रफल छ। ती मध्ये ६ हजार हेक्टरमा झाडी र बुट्यान छन् ।