PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

खुमबहादुर पथमा नेपाली कांग्रेस : संविधानविरुद्ध शीर्ष नेताको अनवरत अभिव्यक्ति



रमेश वाग्ले

खुमबहादुर पथमा नेपाली कांग्रेस : संविधानविरुद्ध शीर्ष नेताको अनवरत अभिव्यक्ति

  • रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौ : मुलुकलाई धर्म निरपेक्ष बनाउँदै जारी भएको संविधानको आयु ८ महिनाको नहुँदै सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका नेताहरु हिन्दु राष्ट्रको अभियानमा सक्रिय हुन थालेका छन्। उनीहरुले खुलेआम ‘संविधान विरुद्ध’ अभिव्यक्ति दिन थालेका छन्।
नेपाली कांग्रेस महाधिवेशनअघि हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिएर विवादमा आएका महामन्त्री डा. शशांक कोइरालाले गत हप्ता अमेरिकामा एक अन्तर्वार्तामा 'म हिन्दु हुँ त्यसैले हिन्दु राज्यका पक्षमा छु' भने। उनले जनता तयार नहुँदै संघीयता पनि जबर्जस्ती लादिएको टिप्पणी गरे।

महामन्त्री शशांक कोइरालाकै जस्तो हिन्दु राज्यकै पक्षमा नभएपनि कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि धर्म निरपेक्षताको विपक्षमा अभिव्यक्ति दिए। उनले त नेपालका शीर्षतहका नेताहरुले भारतीय नेताहरुसँग संविधाननमा धार्मिक स्वतन्त्रता राख्ने सहमति नै गरेको दावी गरे। आफ्नै पार्टीका सभापति सहित राष्ट्रपति, प्रधानमन्त्री, एमाओवादी अध्यक्ष लगायतले भारतसँग सहमति गरेर पछि पालना नगरेको भन्दै 'सहमति गर्नेको नाम' समेत सार्वजनिक गरे।

महामन्त्री र प्रभावशाली केन्द्रीय सदस्यबाट संविधान विरोधी अभिब्यक्ति सार्वजनिक हुनुले कांग्रेसभित्र अझै हिन्दु धर्मको पक्षमा र धर्म निरपेक्षताको विपक्षमा मतहरु रहेको देखाउँछ। जुन अहिले विस्तारै प्रकट हुन थालेको छ।

यसअघि हिन्दु राज्यको ग्यारेन्टी गरेर मात्र संविधान जारी गर्न माग गर्दै कांग्रेस नेता खुमबहादुर खड्काले सभाध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए। उनले हिन्दु राज्य कायम नभए सशस्त्र आन्दोलनको चेतावनी समेत दिएका थिए।

खुमबहादुर लाइनमा नेपाली कांग्रेस

हिन्दु राष्ट्रको लबिङमा लागेका नेता खुमबहादुर खड्का १३ औं महाधिवशेनमा सबैभन्दा धेरै मत ल्याउनेमध्ये एक हुन्। भ्रष्टाचारको मुद्दा जेल परेका नेता खड्काको चरित्रमाथि जतिसुकै प्रश्न उठे पनि उनले समातेको लाइन अहिले कांग्रेसभित्र सबैभन्दा बलियो बन्दै गइरहेको छ।

‘धर्मका सम्बन्धमा खुमबहादुरजीको लाइन जायज छ र नै उहाँसँग धेरै मानिसहरु रहेका हौं,’ नेता शंकर भण्डारी भन्छन्, ‘त्यसमा कांग्रेसले हिन्दु धर्मको पक्षमा नहिडी हुँदैहुँदैन।‘

अहिले पनि मुलुकलाई अफ्ठेरोमा लैजाने प्रयास रहेको उनले बताए। ‘आज हाम्रो धार्मिक आस्थामा खेल्ने प्रयास भयो। हाम्रा आस्थाका धरोरहर भत्काएर स्वार्थ लुट्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘यदि हामी यो नीतिमा अड्न सक्यौ भने जनताको आस्थामा सम्मान पुग्ने मात्र हैन, विश्वकै लागि हिन्दु पर्यटनको क्षेत्र बन्न सक्छ।‘
 

अरु पनि हिन्दु राष्ट्रकै लाइनमा?

संविधानसभामा ८५ प्रतिशत हिन्दु भएको देश धर्मनिरपेक्ष नहुने भन्दै पार्टी ह्वीप मिचेर संविधानमा संशोधन प्रस्ताव दर्ता गराएका डा. शेखर कोइराला १३ औं महाधिवेशनमा पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भए।

हिन्दु राज्य नभए आन्दोलन गर्ने चेतावनी दिँदै संविधानसभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने खुमबहादुर खड्काले पनि सम्मानजनक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भए। संविधान धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता राख्नुपर्ने भन्दै संविधानसभामा धारणा राख्ने शंकर भण्डारी, जीवनबहादुर शाही, हृदयराम थानी लगायतका नेताहरु पनि महाधिवेशनमा सम्मानजनक मत ल्याएर केन्द्रीय समितिमा पुगेका छन्। यसले कांग्रेसमा हिन्दु राज्यका पक्षधरहरु बलिया छन् भने कुरालाई संकेत गर्छ।

तर केन्द्रीय सदस्य शाही संविधानसभामा मत राख्नुलाई संविधान जारी भइसकेपछि पक्ष वा विपक्षमा रहेको भन्न नमिल्ने बताउँछन्। संविधानसभामा आफूले धार्मिक स्वतन्त्रताको कुरा गरेपनि संविधान जारी भएपछि धर्म निरपेक्षता मान्नुको विकल्प नभएको उनी बताउँछन्।
'धर्म निरपेक्षताले नकारात्मक अर्थ दिन्छ भनेर सबैलाई मान्य हुनेगरी धार्मिक स्वतन्त्रता राख्न माग गरेकै हुँ,' शाहीले भने, 'तर, कांग्रेसकै नेतृत्वमा जारी संविधान भएकाले त्यसको विपरित हुने गरी बोल्न हुँदैन।'

उनले सबै दल सहमत भएमा र कुनै दिन जनमत संग्रहमा जाने अवस्था आएमा भने धार्मिक स्वतन्त्रताको पक्षमा उभिने बताए।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल संविधान संशोधन नै हुन थालेको अवस्थामा यस्ता अभिव्यक्ति आउनु स्वभाविक भएको बताउँछन्। तर पार्टीका वरिष्ठ नेताहरुले नै धर्म निरपेक्षता विरोधी अभिव्यक्ति दिनु स्वभाविक नभएको उनको भनाइ छ।

'यो विषयमा आम नेपालीका मनमनमा प्रश्न रहिरहेका बेला बीपीका छोरा तथा कांग्रेसको महामन्त्री र नोनाको छोराले प्रश्न उठाउनुले महत्व त राख्छ,' दाहालले भने, 'तर डा शशांकले यही विषय संविधानसभामा कति उठाउनुभयो र अहिले किन उठाइरहनुभएको छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।'

संविधानसभामा हिन्दु राज्यको विषय नउठाएर पार्टीको महाधिवेशन अघिदेखि भाषणको विषय बनाउने शैली ठीक नभएको दाहाल बताउँछन्। 'उहाँ हिन्दु राज्य बनाउन चाहनुहुन्छ भने पार्टीको बैठकमा यही एजेण्डामा प्रस्ताव लगेर निर्णय गर्न सक्नुहुन्छ,' दाहालले भने, 'यो बेलामा आएर उहाँले जनमत बुझ्न खोजे त्यो बेबकुफी हो किनभने संविधानको मस्यौदामा सुझाव दिँदा नै धेरै कुरा आइसकेका छन्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell